बाँकेमा ९०२३ जनाले दिँदै एसईई



नेपालगन्ज, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बाँकेबाट नौ हजार २३ जना सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार जिल्लामा सामुदायिक विद्यालयबाट ६ हजार चार सय ५४ र संस्थागत विद्यालयबाट दुई हजार पाँच सय ६८ जना विद्यार्थीहरु सहभागी हुनेछन् ।

बाँकेमा एसईई २०७९ मा सहभागी हुने विद्यार्थी
विद्यार्थी सामुदायिक विद्यालय संस्थागत विद्यालय जम्मा
छात्रा ३,४४४ १,०५० ४,४९४
छात्र ३,०११ १,५१८ ४,५२९
जम्मा ६,४५५ २,५६८ ९,०२३
जिल्लामा रहेका ९८ वटा सामुदायिक विद्यालयबाट तीन हजार चार सय ४४ जना छात्रा र तीन हजार ११ जना छात्र गरी ६ हजार चार सय ५५ जना विद्यार्थीहरुले परीक्षा दिनेछन् । यसैगरी ९३ वटा संस्थागत विद्यालयबाट एक हजार ५० जना छात्रा र एक हजार पाँच सय १८ छात्र गरी कुल दुई हजार पाँच सय ६८ विद्यार्थीहरुले परीक्षा दिनेछन् । यसका अलावा डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहका २४ जना बालकहरुले पनि एसईई दिँदैछन् ।

उनीहरुले सुधार गृहमै तोकिएको युद्ध संस्कृत माविको उपकेन्द्रबाट परीक्षा दिनेछन् । यसैगरी ६ जना दृष्टिविहीन विद्यार्थीहरुले पनि एसईई दिँदै छन् । उनीहरुले एबीसी स्कुलको परीक्षा केन्द्रबाट लेखन सहयोगीमार्फत परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

जिल्लामा ३३ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । केन्द्राध्यक्षहरु नियुक्त गरेर अभिमुखिकरण गराइएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख भगवानप्रसाद पौडेलले जानकारी दिए । केन्द्राध्यक्षहरुले प्रश्नपत्र रुजु गर्ने काम पनि गरिसकेको जानकारी पाएको उनले बताए । परीक्षाको तरी करिब पूरा भएको उनको भनाइ छ । सुरक्षा व्यवस्थाका लागि सबै निकायसँग समन्वय भएको पनि उनले बताए ।

चैत १७ गतेदेखि सुरु हुने एसईई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । १९ गते आइतबार अनिवार्य गणित, सोमबार अनिवार्य नेपाली, बुधबार अनिवार्य विज्ञान, २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम पत्र र २६ गते ऐच्छिक दोस्रो पत्रका परीक्षा सञ्चालन हुने छ । यसैगरी प्राधिक धारतर्फ र वेद विद्याश्रमतर्फको परीक्षा तालिका पनि तोकिएको छ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १५ गते बुधबार