नेपालगन्ज (बाँके),
नेपालगन्जस्थित जमुनाह नाका हुँदै भारतीय बजारमा बेचबिखनमा परेका नौजना नेपाली युवतीको उद्दार भएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको समन्वयमा भारतस्थित नेपाली दूतावास, भारतीय सामाजिक संस्था केआइएल इन्डिया, नेपालस्थित शक्ति समूह र भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई उद्दार गरिएको हो ।

काठमाडौंका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने युवतीहरूलाई भारतको दिल्लीस्थित विभिन्न होटेल, रेष्टुरन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइसमेत धेरै हुने प्रलोभनमा पारि दिल्ली पु¥याइएको थियो । दिल्लीमा ति युवतीहरुलाई बन्धक बनाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता कृष्णप्रसाद पगेनीले जनाए । उद्दार गरिएका उनीहरुलाई अहिले सामाजिक संस्थाको संरक्षणमा राखिएको छ । विभिन्न प्रलोभनमा पारि दिल्लीमा बन्धक बनाइ वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न तीनजना पक्राउसमेत परेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका–९, की २० वर्षीया सम्झना तामाङ उर्फ सेन्जी तामाङ, धादिङ धुनवेशी नरपालिका–२, का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया शुष्मा मग्राती पक्राउ परेका हुन् ।
‘काठमाडौंका माछापोखरी, बसपार्कलगायतका ठाँउहरुमा मनोरञ्जनको क्षेत्रमा काम गर्ने युवतीहरुलाई विभिन्न माध्यमबाट सम्पर्क गरी प्रलोभनमा पार्ने गरेको बुझिएको छ,’ प्रवक्ता पगेनीले भने, ‘युवतीहरुलाई भारतको दिल्ली लैजान काठमाडौंबाट नेपालगन्ज हुँदै जमुनाहा नाका पार गरी दिल्लीको बसमा चढाइ दिल्ली पु¥याउने गरिएको छ ।’ बेचबिखनमा संलग्न गिरोहले २०७९ असोजदेखि फागुनसम्म नौजना युवतीलाई काठमाडौंदेखि दिल्ली पु¥याएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
‘पीडितमध्ये केही युवतीलाई निजी गाडीमा राखी प्याकिङ खाना तथा जुसमा औषधि मिसाइ बेहोस बनाएर ‘बोर्डर क्रस’ गराउने गरेको पाइएको छ,’ प्रवक्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पीडित युवतीलाई दिल्ली पुगेको केही दिनमा नयाँ मोबाइल तथा भारतीय नम्बरको सिम उपलब्ध गराई फेसबुकसमेत उनीहरु आफैँले खोली दिइ उक्त फेसबुकको पासवर्डसमेत आफैँले राखी अनलाइन निगरानी गर्ने गरेको पाइएको छ ।’
पीडित युवतीहरुलाई दिल्ली किशनगढस्थित पंजापीठापा भन्ने स्थानमा भाडामा लिएको फ्ल्याटमा सिसी क्यामेराको निग्रानीमा राखिएको बताइएको छ । सम्पर्कमा आएका व्यक्तिलाई ह्वाट्स्एपमार्फत पीडित युवतीहरुको फोटो पठाइ उनीहरुले छानेका युवतीलाई वेश्यागमनमा आउने र उनीहरुले भनेको होटेल, घरमा ट्याक्सी बुक गरी पु¥याइदिने गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विज्ञप्तिमा उल्लेख गरेको छ ।
चिनेजानेका र विश्वासिला ट्याक्सी चालकमार्फत सम्बन्धित ग्राहकले भनेको स्थानमा पठाउने र ग्राहकसँगको कारोबार अनलाइनमार्फत हुने गरेको खुलेको छ । प्रत्येक महिनामा एकजना युवतीले कम्तीमा एक सय ८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने दबाब दिने गरेको पीडित युवतीहरुले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई बताएका छन् । उक्त गिरोहले पीडित युवतीहरूलाई दिल्लीबाहेकका अन्य सहरहरुमा समेत पठाउने गरेको भेटिएको छ ।
दुईजनालाई नेपाल र एकजनालाई भारतबाट पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठले जनाए ।
‘यहाँ धेरै काम गर्दा थोरै पैसा पाउने अवस्थामा युवतीहरुलाई धेरै पैसा पाइने प्रलोभन देखाइएको रहेछ,’ उनले भने, ‘धेरै पैसा भनेपछि ति युवतीहरु भारत पुगे । भारतमा अस्वभाविक काममा लगाएपछि उनीहरुले आफन्तसम्म खबर पु¥याएका थिए ।’ भारतीय बजारमा नेपाली युवती भनेपछि फरक ढंगले हेर्ने र मूल्य पनि बढी पर्ने भन्दै उनले भने, ‘दुई÷तीन महिना दिल्लीमा राख्ने र फेरि दिल्लीभन्दा बाहिरका होटेल तथा रेस्टुरेन्टहरुमा पठाउने गरिँदो रहेछ ।’









प्रतिक्रिया दिनुहोस्