शिक्षिकामाथि प्रअको अभद्र व्यवहार



नेपालगन्ज (बाँके),
जानकी–५ बकसपुरस्थित नेपाला प्राथमिक विद्यालय (प्रावि) की अंग्रेजी शिक्षिका गोमाकुमारी डाँगी बहुकक्षा शिक्षण पढाइअन्तर्गत ४ र ५ कक्षाका विद्यार्थीलाई अध्यापन गराइरहेकी थिइन् । सोहीक्रममा विद्यालयका प्रधानाध्यापक (प्रअ) ओमप्रकाश विश्वकर्मा एक्कासी कक्षा कोठाभित्र प्रवेश गर्छन र पढाइ रहेकी शिक्षिका डाँगीमाथि गालीगलौज गर्छन् । प्रअ विश्वकर्मा गालीगलौजमा मात्र रोकिएनन्, शिक्षिका डाँगीमाथि हातपात नै गरे । कक्षा कोठामा रहेको पानी खाने जगले टाउँकोमा हिर्काउँछन् र कपाल समातेर भुइँमा घिसार्छन् ।

 शिक्षिका गोमाकुमारी डाँगीलाई हान्न जग समातेका प्रअ ओमप्रकाश विश्वकर्मा 
यो विषय, विद्यालय व्यवस्थापन समिति, न्यायिक समिति हुँदै जिल्ला प्रहरी कार्यालयसम्म पुगेको छ । शिक्षिका डाँगीले प्रअ विश्वकर्माविरुद्ध अभद्र व्यवहारसम्बन्धी जोहरी पनि दिएकी छिन् । विद्यालय, न्यायिक समितिमा समेत छलफल भइसक्यो तर, उनले अहिलेसम्म न्याय पाउन सकेकी छैनिन् । जोहरी दर्ता भएको करिब दुईसाता बित्दा पनि प्रहरीले अहिलेसम्म नियन्त्रण गर्न सकेको छैन । फागुन २५ गते जाहेरी दर्ता भएको थियो । शिक्षिका डाँगी राहत शिक्षक हुन् । उनले उक्त विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आएकी छिन् ।

‘म पढाउँदै गर्दा कक्षा ४ की छात्रासँगै आएका उनका २ वर्षीय भाइले विद्यालय प्रांगनभित्रै पिसाब फेरेका रहेछन्,’ उनले भनिन्, ‘त्यो मलाई थाहा थिएन । प्रअले देख्नु भएको रहेछ । उहाँ (प्रअ) ले देखेपछि सिधै मेरो कक्षा कोठामा आउनु भयो र अभद्र व्यवहार गर्नुभयो ।’ सामान्य विषयमा प्रअले आफूमाथि खनिएको उनी बताउँछिन् । हातपात हुँदा कार्यालय सहयोगीले छुटाएको भन्दै उनले भनिन्, ‘यदी कार्यालय सहयोगीले नछुटाएको भए, अझ ठूलो घटना हुन सक्थ्यो ।’ प्रअ विश्वकर्माले आफूलाई गलत नियतले हेर्ने गरेको उनको आरोप छ ।

पालिकाको न्यायिक समितिमा प्रअ विश्वकर्माले माफीसमेत मागेका थिए । क्षतिपूर्तिवापत पाँच हजार रुपैयाँसमेत शिक्षिका डाँगीलाई प्रअ विश्वकर्माले उपलब्ध गराएका थिए । त्यतिबेला प्रअ विश्वकर्मालाई प्रअको जिम्मेवारीबाट हटाउने र सामाजिक दण्ड दिने निर्णय भएको थियो । तर, उक्त विषय कार्यान्वयन नभएपछि प्रहरीसमक्ष जाहेरी दिनुपरेको शिक्षिका डाँगी बताउँछिन् । ‘मलाई न्याय चाहिएको हो,’ उनी भन्छिन्, ‘उदारो निर्णय होइन ।’ यस विषयमा मंगलबार गाउँपालिकामा छलफलसमेत भएको छ । उक्त छलफल बिना निष्कर्ष सकिएको बताइएको छ ।

प्रअविरुद्ध जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले जनाए । ‘जाहेरी दर्ता हुनासाथ पक्राउ पुर्जी जारीका लागि पक्रिया अगाडि बढाइएको छ,’ उनले भने, ‘आरोपितलाई पक्राउ गर्न निर्देशनसमेत दिइसकेको छुँ ।’ आरोपित प्रअ विश्वकर्मा फरार भएपछि पक्राउ गर्न प्रहरीलाई कठिन भएको छ । घटनासँग सम्बन्धित भिडियो मिसन टुडेसँग सुरक्षित छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १५ गते बुधबार