तराइमा गर्मीले पसिना बग्दा पनि हिमालको सिरेटो आएर आक्रमण गर्ने भएको कारण सिरक ओढेर सुत्नु पर्ने रमणीय स्थलमा दुई दिने तालिमको आयोजना गरिएको छ । आयोजक संस्थाले तालिमका सहभागीहरुलाई तालिम सञ्चालन हुने क्रममा स्थानीय होटेल र लजमा खाना र आवासको पनि व्यवस्था गरेको छ । तालिमका सहभागीहरु घरबाट बढीमा दुई अढाइ घण्टा टाढा भएको आफ्नो घरबाट सहभागी हुन आएको हुत्छन् । सहभागीहरुको आवासका लागि आयोजकले कोठा बुक गर्नु पर्छ । त्यसका लागि सिग्नल गरेपछि तालिमका सहभागीहरु तीस जना मध्ये दुई जनाले मात्र होटेल र लजमा खाने र बस्ने सङ्केत गर्दै हात उठाउछन् । यस कर्ममा लागि अरुका हातहरु उठ्दैनन् ।
एकाध जनाले तालिम कतिबेला सकिन्छ भन्ने कुराले होटेलमा बस्ने वा नबस्ने कुराको निधो गर्छ भन्ने विचार अघि सार्छन् । भन्नुको मतलव तालिम समयमै अर्थात घर पुग्ने समयमै सकियो भने उनीहरु बस्न चाहदैनन् ।अवस्था यो पनि स्पष्ट छ कि उनीहरु होटेलमा बसे भने खाना र आवासको मूल्य तिर्नु पर्दैन । बसेनन् भने त्यो वापतको रकम पनि उनीहरुले पाउदैनन् । तैपनि उनीहरु होटलमा बस्न चाहदैनन् । आफ्नै घरमा जान पाए हुन्थ्यो भन्ने भावना अभिव्यक्त गर्छन् ।
जीतबहादुर शाह
यो पङ्क्तिकार घरबाट बाहिर हिडेको एकहप्ता भयो । घरबाट निस्केर जहाँ पुगेको छु, त्यहाँबाट नजीक पर्ने एउटा पालिकाले शिक्षासम्बन्धी काम विशेषले भनेको सुविधा समेत उपलब्ध गराउने गरी एकहप्तालाई आइदिन अनुरोध गर्छ । मैले त्यो आँट गर्न सक्दिन र भन्छु – ‘म भोली घर जान्छु । त्यो कार्यक्रम आउन सक्ने वा नसक्ने सम्बन्धमा घर गएपछि मात्र फोनमा कुरा गरौं न, हुन्छ ?’ उताबाट प्रतिक्रिया आउछ – ‘यतैबाट हाम्रो कार्यक्रम भ्याएर घर गए हुदैन ?’ मैले जवाफ दिन्छु – ‘हुदैन । किनभने त्यस्तै जरुरी छ ।’
वास्तवमै त्यस्तो जरुरी भने केही थिएन । घर छोडेर बाहिर निस्केको केही दिन भइसकेकोले मन आत्तिएको थियो घर जानलाई । त्यत्तिमात्रै हो । अन्यथा घर नगएर यतैबाट उक्त पालिकाको कार्यक्रम भ्याएर घर जाँदा दुई दिनको फरक पथ्र्यो । समय र लगानी दुबैको बचत हुने देखिन्थ्यो । तथापि मनले मानेन र सोझै सुझबुझ बिनै अस्वीकार गरें । कारण मैले आफ्नो भनेको मेरो घरले मलाई तान्यो ।
स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी दुई दिने कार्यशालामा सहभागीहरुको सक्रियता र लगनशीलता प्रशंसनीय देखियो । यसो हुनुमा पनि अपनत्व र आफ्नोपनले ठूलो असर पारेको देखियो । पाठ्यक्रमको सिकाइ उपलब्धि र विषयवस्तु निर्धारण गर्दा सहभागीहरु एकाग्रतापूर्वक छलफलमा जुटे । विषयवस्तुमा खोला, ताल, गुफा, फाँट, लेक आदिलाई समावेश गर्ने क्रममा सकेसम्म कोही नछुटून भन्ने हिसावले सम्झी–सम्झी समेट्ने काम भयो ।
धर्म, जात र समूदायका सम्बन्धमा विषयवस्तुको उठान हुँदा पनि मनसाय त्यही दोहोरियो केही नछुटोस भन्ने । भाषा, संस्कृति, रहनसहन, मूल्यमान्यता र संस्कारका बारेमा छलफल हुँदा पनि सबैको सक्रियता उत्तिकै प्रभावकारी देखियो । पेशा, व्यवसाय, सम्पदा र विकासका पूर्वाधारहरुको विषयमा कुरा हुँदा पनि सहभागीहरु बेहदसम्म चनाखा, गम्भीर र क्रियाशील देखिए । कार्यक्रमको समयावधि लम्बिएर कसैका गाडी छुट्दा पनि गाडीलाई जान दिए तर आफूले कार्यक्रम छोडेर गएनन् । आफ्नो गाउँ, टोल र समुदायको कुरा उठान हुँदा अपनत्व र आफ्नोपन साँच्चिकै जुर्मुराएर जागेको देखियो ।
तालिमका सहभागीहरुलाई पैसा नतिरेर निःशुल्क होटलमा खाऊ र बस भन्दा पनि आफ्नै घरतिर भाग्न खोज्ने । कसैले मनग्गे सुविधा दिन्छु भन्दै आइदिनका लागि अनुरोध गर्दा पनि त्यो सुविधाको पर्वाह नगरी यो पङ्क्तिकारका पाइलाहरु आफ्नै घरतिर सोझिने । आफ्नो गाउँठाउँका कुराहरु पाठ्यक्रममा समावेश गर्ने क्रममा समय बढी लागेर गाडी छुट्दा पनि त्यसको वेवास्ता गरी पाठ्यक्रम निर्माणतिरै ध्यान केन्द्रित हुने । यी सबै परिणामहरु अपनत्वबाट सिर्जना हुँदा रहेछन् ।
कतिपयमा त अपनत्वले यत्ति गहिरोसँग जरा गाड्दो रहेछ जसलाई पाउनका लागि मानिसले आफ्नो समय र सम्पत्तिको मात्र लगानी नगरी जीवनको आहुति दिन समेत पछि नपर्दोरहेछ । अपनत्व र आफन्तपनको संरक्षणका लागि नै कतिपय युद्धहरु हुँदारहेछन्, कतिपय मानिसहरुले रगतको खोला बगाउदारहेछन् र कतिपय अवस्थामा मानव सिर्जित विनासका विभत्स दृश्यहरुले समाजमा चलखेल गर्दारहेछन् । त्यसैले अपनत्व चाहिदो पनि रहेछ मानव समुन्नतिका लागि । अपनत्व हानिकारक पनि हुँदोरहेछ शान्ति र सुव्यवस्थालाई निमोठ्नका लागि ।
अपनत्वको आभास त्यत्तिबेलासम्म विस्तार र विकास हुनु आवश्यक छ जतिबेलासम्म हाम्रो अपनत्वले अरुलाई हानी गर्दैन । कहिलेकाही एउटाको अपनत्वको विस्तारले अर्कोलाई हानीनोक्सानी गर्दछ । अर्कोको अधिकार र सुखशान्तिलाई खल्बल्याउने काम गर्दछ । कतिपय मानिसहरुको स्वभाव ‘यो मेरो हो र उसको पनि मेरो हो’ भन्ने हुनेगर्दछ । अरुको जिम्मेवारी र अधिकार क्षेत्रमा पर्ने सेवा र सुविधाहरुलाई यो स्वभावले कुण्ठित गर्दछ । कुण्ठित मात्र होइन यसप्रकारका क्रियाकलापहरुले विद्रोह र विध्वंश मच्चाउने काम पनि गर्दछ । यस प्रकारका स्वभाव र क्रियाकलापहरु शक्तिशाली व्यक्तिहरुले कमजोर व्यक्तिहरुप्रति र शक्तिशाली मुलुकहरुले कमजोर मुुलुकहरुप्रति देखाउने गर्दछन् ।
शक्तिशाली व्यक्ति र मुलुकहरुले गर्ने यस किसिमका हरकतहरुले मानव समुदायको सुख र शान्तिलाई बिथोल्ने काम गर्दछ र द्वेष र कलहको विजारोपण गर्दछ । विश्वमा भएका मानवता र मानवीय सभ्यतालाई खरानी बनाउने गरी भएका युद्धहरु त्यसैका परिणति हुन् ।
कतिपय अवस्थामा सत्य र न्यायले छेउ लागेर लुक्नु पर्ने अवस्थाको सिर्जना हुने गर्दछ । आफ्नै मुलुकमा मानिसहरु शरणार्थी र अनागरिक भएर जिउनु पर्ने हुन्छ । आफैले मेहेनेत गरेको र पसिना बगाएको भूमिमा अरुले नै राइदाइ गरेको दृश्य टुलुटुल हेर्नुपर्ने अवस्थाको सिर्जना हुने गर्दछ । यत्तिसम्म कि आफूले जन्म दिएको सन्तानलाई समेत आफ्नो हो भन्ने अधिकारबाट आमाहरु बञ्चित हुनु पर्ने अवस्थाको सिर्जना हुन्छ । आफ्नो पत्नीको र आफ्नो छोरीको समेत अरु कसैले इज्जत लुटेको देख्दा पनि केही गर्न नसक्ने अवस्थाको आभास हुन्छ ।
त्यत्तिबेला न्याय मर्दछ, स्वाभीमानले कुलेलम ठोक्छ र मानिसका मन र मुटुहरु भाँजा फाट्छन् र टुक्राटुक्रा हुन्छन् । कुनै दिन यस्तो पनि आउछ जुन दिन आफ्नोपन गुमाउनु परेका मानिसहरुलाई समयले शसक्त बनाउछ, उनीहरु जुर्मुराउछन् र आफ्नोपन खोस्नेहरुका विरुद्ध धावा बोल्छन् । यसले पुनः समाजमा अशान्ति र युद्धको आरम्भ गर्छ । यो युद्ध र यो अशान्ति अन्ततः बहुजन हितायको पक्षमा हुन्छ र यसले अन्ततः दिगो शान्ति, दिगो विकास र अनन्त खुसीको अपेक्षा गरेको हुन्छ । मानव विकासको इतिहासयस्तै यस्तै घटनाक्रमहरुको मालाबाट बनेको छ भन्ने लाग्छ मलाई ।
चिनी पनि धेरै खाए तीतो हुन्छ भनेझै आफ्नोपन र अपनत्वको भावले अरुको अपनत्व र आफ्नोपनमा धक्का पु¥याउने गरी विस्तार गर्नुहुदैन भन्ने कुरामा गम्भीर हुनु जरुरी छ । यही कुरा स्थापनाका लागि मानिसले कानून र विधिविधान बनाउछ । न्यायालयको स्थापना गर्दछ । सरकारको गठन गर्दछ र आफ्ना नेताहरुलाई सरकारमा छानी पठाउछ । सरकारमा गएका जनताका नेताहरुले जनतालाई न्याय दिने र अपनत्वको स्पष्ट रेखाङ्कन गर्ने काम गर्नुपर्दछ ।
यो काम गर्न सकेनन् भने त्यस्ता नेताहरुलाई कुर्चीबाट झार्ने काम हुन्छ र अर्कोलाई पठाउने काम हुन्छ । तथापि जुन जोगी आए पनि कानै चिरेका भनेझै भरोशा गरेका नेताले जनताको विश्वास जित्न नसकेर उल्टै त्यही नेताले नै अरुको अपनत्वको क्षेत्रमा आफ्नो अपनत्वको अखाडा जमाउन थालेपछि मानिसहरुमा निराशा र उदासिनता छाउने गर्दछ । भ्रष्टाचार, अनियमितता र कुशासनका नङ्ग्रा र दाह्राहरुले समाज पुनः क्षतविक्षत हुन थाल्छ । अहिले हाम्रो मुलुकले भोगिरहेको विडम्बना यही हो भन्ने लाग्छ मलाई ।
उन्नति र प्रगतिका लागि हरेक व्यक्तिमा अपनत्वको भाव हुनु भने जरुरी छ । पेशाप्रतिको अपनत्वले पेशाको विकासगर्दछ । आफ्नो कर्मप्रतिको अपनत्वले उक्त कर्मलाई कुशलतापूर्वक सम्पादन गर्दछ । आफ्नो जिम्मेवारीप्रतिको अपनत्वले तोकिएको जिम्मेवारीलाई निष्ठा र इमान्दारीपूर्वक पूरा गर्न मद्दत गर्दछ । यसैरी नै स्थान विशेषप्रतिको अपनत्वले उक्त स्थानको समुन्नतिलाई सघाउछ । जापान र चीन लगायतका कतिपय मुलुकहरुले आफ्नो मुलुकको विकास र उन्नतिको यात्रालाई छिटोछरितो बनाएका छन् । त्यो त्यहाँका नागरिक र नेताहरुको आफ्नो मुलुकप्रतिको अपनत्वको परिणाम हो । हाम्रो मुलुकको समुन्नति र विकासको यात्रा कछुवा गतिमा हुनुको कारण हामीभित्र रहेको आफ्नो मुलुकप्रतिको अपनत्वको भाव धुमिल हुनु हो ।
यसलाई देखाउटी अपनत्व वा नितान्त स्वार्थपरक अपनत्व वा सङ्कुचित अपनत्व भन्न सकिन्छ । मानिसले आफ्नो मात्र समुन्नतिको बारेमा मात्र सोच्न थाल्यो र समाज र मुलुकको समुन्नति भयो भने आफ्नो समुन्नति त त्यसै पनि हुन्छ भने कुरालाई बिर्सियो भने यसप्रकारका असहजताहरु देखापर्दछन् । हामी र हाम्रो समाज अनि मुलुक यही अवस्थाबाट गुज्रिरहेको छ अहिले ।
अपनत्व चाहिन्छ बाँच्नका लागि र अपनत्व चाहिन्छ विकासका लागि । आत्महत्या गर्नका लागि हिडिरहेको व्यक्तिलाई सोध्ने हो भने जवाफ आउछ – ‘मेरो यहाँ आफ्नो भन्नु केही भएन र कोही भएन ।’ उसको यही सोचलाई उल्ट्याएर ‘तिम्रो यहाँ धेरै छ र तिम्रा यहाँ धेरै छन्, तिमीले नदेखेको मात्र हो’ भन्ने कुरामा विश्वास गर्न सिकायौं भने उसको आत्महत्या गर्ने निर्णय आशा, विश्वास र जीवनमा बदलिन्छ ।
त्यसैले पवित्र मनबाट विकास हुने अपनत्वको भावले मानिसलाई उर्जा दिन्छ, समर्पण दिन्छ र अन्ततः यसले अपेक्षित उपलब्धि पनि दिन्छ । अपनत्व भावकै कारण मानिसले आफ्नो घरलाई राम्रो बनाउन सक्छ, आफ्नो अफिसलाई राम्रो बनाउन सक्छ, आफ्नो सङ्गठनलाई राम्रो बनाउन सक्छ, आफ्नो गाउटोल र समाजलाई राम्रो बनाउन सक्छ र अन्ततः आफ्नो मुलुकलाई राम्रो बनाउन सक्छ । यत्ति हो कि यो अपनत्वको भाव अरुलाई हानी हुने गरी विस्तार गरिनु हुदैन, जसरी मानिसहरु अरुको सम्पत्तिमाथि आँखा लगाउछन् । यसलाई अपनत्वको भावले भन्दा पनि मिचाहा स्वभावले बुझ्दा राम्रो हुन्छ ।
मैले कतै पढेको थिएँ र लेखेको पनि थिएँ, पहिलोथरिे मानिसहरु मेरो, मेरो हो र तिम्रो पनि मेरो हो (लोभी) भन्ने हुन्छन् । दोस्रोथरि मानिसहरु मेरो, मेरो हो र तिम्रो, तिम्रो हो (सज्जन) भन्ने हुन्छन् ।तेस्रोथरि मानिसहरु तिम्रो, तिम्रो हो र मेरो, पनि तिम्रो हो (त्यागी) भन्ने हुन्छन् र चौथोथरि मानिसहरु न यो मेरो हो न यो तिम्रो हो, यो सब झमेला हो (सन्त) भन्ने हुन्छन् । अहिले समाजमा पहिलोथरि मानिसहरुको बिगबिगी छ । त्यसकारण युद्ध र कलह पनि छ ।
दोस्रोथरि मानिसहरुको विकासका लागि कानून र इमान्दारिताको खाँचो छ । अहिले यसैका लागि हामी विकास र उन्नतिका कुरा गरिरहेका छौं । तेस्रो थरि मानिसहरु समाजमा नगण्य छन् जसको बाहुल्यता भएमा समाज स्वर्गमा रुपान्तरण हुन्थ्यो भन्ने लाग्छ । चौथो थरि मानिसको विचार पनि अनुपयुक्त छैन । तालिमका सहभागीहरुले होटल र लज छोडेर जुन घरलाई आफ्नै सम्झेर आए, के साँच्ची त्यो घर उनीहरुको हो र ?मैले जुन घरलाई मैले आफ्नो सम्झेर हतारिदै आएँ, के साँच्चि त्यो मेरो घर हो र ?सोचाइको गहिराइमा जति डुब्यो, द्विविधाका पर्खालहरु झन् झन् चुलिदै जान्छन् ।
प्रतिक्रिया दिनुहोस्