19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रदेश स्थापना दिवसमा निबन्ध प्रतियोगिता हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २७, २०७९  

कोहलपुर: लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता आयोजना हुने भएको छ । सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज, बाँकेले निबन्ध प्रतियोगिता सम्बन्धी सूचना जारी गर्दै दिवसको अवसरमा ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ शीर्षकमा प्रतियोगिता हुने भएको हो । कार्यालयका निमित्त कार्यालय प्रमुख गिरिराज पाण्डेद्धारा हस्ताक्षरित सूचनामा बाँके र बर्दिया जिल्लाको छुट्टाछुट्टै जिल्लास्तरीय निबन्ध प्रतियोगिता आयोजना हुन लागेको जनाइएको छ । उक्त प्रतियोगितामा बाँके र बर्दिया जिल्लाका सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउनुपर्नेछ ।

सूचनामा प्रतियोगितामा सहभागिताका केही निश्चित नियमको पालना गर्नुपर्ने जनाइएको छ । प्रतियोगितामा सहभागिताका लागि निबन्ध बढीमा १५९ शब्दको हुनुपर्ने, आफ्नो पूर्ण परिचय, निबन्ध हस्तलिखित हुनुपर्ने र विद्यालय र प्रधानाध्यापक छाप अनिवार्य हुनुपर्नेछ । प्रत्येक विद्यालयबाट एक छात्र र एक छात्रा मात्र हुनुपर्ने र फागुन १ गतेभित्र सहभागिता हुनुपर्ने पाण्डेले बताए । प्रतियोगितामा प्रथम पुरस्कार दश हजार, द्धितीय सात हजार, तृतीय पुरस्कार पाँच हजार र सान्त्वना स्थान हासिल गर्नेले दुई हजार पुरस्कार प्राप्त गर्नेछन् ।

 

प्रकाशित मितिः शुक्रबार, माघ २७, २०७९     1:27:43 PM  |