24 March 2023  |   शुक्रबार, चैत्र १०, २०७९

विद्यालय सुधार योजनाको किन यो कन्तविजोग ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस २९, २०७९  

जीतबहादुर शाह ।

विद्यालय सुधार योजनाको अद्यावधि गर्ने सम्बन्धमा छलफल चलिरहेको थियो । छलफलमा सहभागी प्रधानाध्यापकहरुलाई ‘तपाईंको विद्यालयको दूरदृष्टि वा भिजन के हो ?,’ भनेर सोध्दा एकछिन त हलमा सन्नाटा छायो । केहीबेरपछि सन्नाटालाई चिर्दै एकजना प्रअबाट जवाफ आयो, ‘हाम्रो विद्यालयको दूरदृष्टि विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्ने हो ।’

मैले उनको जवाफ सुनेर फेरि सोधेँ, ‘यो त उद्देश्य होला । तपाईंको विद्यालय सुधार योजनामा भिजन भनेर यही लेखिएको छ र ?’ उनको जवाफ थियो, ‘त्यो त थाहा छैन । एकपटक हेर्नुपर्छ ।’ तालिममा सहभागी २५ जना सहभागी प्रधानाध्यापकहरुमध्ये अधिकांशलाई यस्ता प्रश्नहरु सोध्दा अधिकांश सहभागीहरुबाट जवाफ पनि यस्तै आयो, माथि उल्लेख गरिएको एकजना प्रधानाध्यापकको जस्तै ।

मैले पुनः स्पष्ट हुनका लागि जिज्ञाशा राखेँ, ‘तपाईं विद्यालयको कार्यकारी प्रमुख हो । विद्यालय सुधार योजना तपाईंको विद्यालयको हो । मैले अरु लम्बेतान विषयको बारेमा सोधेको पनि छैन । छोटो र सकेसम्म एउटै वाक्यांशको रुपमा लेखिने आफ्नै विद्यालयको दूरदृष्टी पनि थाहा छैन त ?’ यसपछि भने सहभागी प्रधानाध्यापकहरुबाट विद्यालय सुधार योजना निर्माणसम्बन्धी रहस्यका मइनगाँठाहरु खुल्दै र फुक्दै गए ।

एकजना सहभागीले छलकपट नगरी खुलस्त बताए, ‘हामी सच्चिन चाहन्छौं भने वास्तविकतालाई खुलेर बताउनु पर्छ । हामी कतिपयले अद्यावधि गर्ने बहानामा पुरानै योजनाको मिति सच्याएर पनि नयाँ बनाउने गर्छौं । कतिपय अवस्थामा अरुको विद्यालयको इकपी ल्याएर पनि आफ्नो बनाउने गर्छौं । कतिपय अवस्थामा राम्रैसँग अद्यावधिक गर्नु परे पनि एकजना शिक्षकले जिम्मा लिएर त्यो काम गर्ने गरिन्छ । कतिपय कम्प्यूटर इन्स्टिच्यूटहरुले केही रकम लिएर उनीहरुसँग भएको गत विगतको विद्यालय सुधार योजनाको इकपीलाई नै हल्काफुल्का सच्याएर कभर पेज नयाँ किसिमले डिजाइन गरी अद्यावधिक गर्ने काम गरिन्छ ।’

उनले भनेको कुरा अरु सहभागी प्रधानाध्यापकहरुले पनि ठीक हो भन्दै सहमति जनाए । सहभागीहरुको बीचमा सघनरुपमा गरिएको छलफलबाट बोध भयो कि विद्यालय सुधार योजनाले मागेअनुसारको प्रक्रिया पु¥याएर योजना बनाउने विद्यालयहरुको संख्या प्रतिशतमा हिसाब गर्दा एक अंकभन्दा माथि चढ्ने देखिँदैन । मैले पनि सम्झदै गएँ, कुनै समयमा यहाँ एसआइपी पाइन्छ भनेर खुल्लेआम बिक्री गर्ने गरिएको योजनाको उपलब्धताको तौरतरिकाबाहेक निर्माणको प्रक्रिया अहिले पनि उस्तैउस्तै रहेछ ।

शैक्षिक क्षेत्रको सबैभन्दा पिँधको भए पनि विद्यालयलाई गुणस्तरीय शिक्षाको हब बनाउने सवालमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने योजनाको यो हबिगत किन भयो भन्ने सम्बन्धमा पनि सहभागीहरुको बीचमा जीवन्त किसिमबाटै बहस र अन्तरक्रिया भयो । प्रमुख समस्या त, सम्बन्धित निकायहरुलाई योजना भए पुग्ने र भित्र के लेखिएको छ भनेर पल्टाउने त के कुरा, कसैले यो लेखिएको छ भनेर जानकारी दिन खोज्दा पनि सुन्ने फुर्सद सम्बन्धित निकायहरुलाई नहुने कारणबाट पनि विद्यालय सुधार योजना ओझेलमा परेको स्थितिको खुलासा भयो ।

योजनामा विद्यालयले जे जस्तो कुराहरु समावेश गरे पनि विद्यालयलाई अनुदान दिने सरकार वा निकायले उक्त विद्यालयको योजना अध्ययन गरेर होइन कि सरकारको आफ्नो बजेट, कार्यक्रम र निर्देशिकाका आधारमा दिने भएकोले पनि योजनाको यो कन्तविजोक भएको देखियो । अर्को समस्या भनेको विद्यालयको योजनामा शैक्षिकभन्दा भौतिक पूर्वाधार विकासका कुराहरु समेटिने र विद्यालय आफूले गर्ने कामभन्दा पनि अरुबाट गरिने कामहरु उल्लेख हुने मागपत्र जस्तो मात्र भएकोले पनि योजनाको कार्यान्वयन पक्ष फितलो भएको हो । विषयको गाम्भीर्यतालाई छिमल्दै जाँदा यो समस्या नेपालका सामुदायिक विद्यालयहरुको साझा समस्या हो भन्ने टुंगोमा पुगियो ।

योजना जसले बनाउँछ त्यसलाई योजनाको माया लाग्छ । योजना बनाउने क्रममा जसले पसिना बगाउँछ र जसका विचार र भावनाहरुको सम्बोधन हुन्छ त्यसलाई योजनाको झनै माया लाग्छ । योजना कार्यान्वयनको क्रममा जुन व्यक्तिको रुचि, योग्यता, क्षमता र आवश्यकताअनुसार जसलाई जिम्मेवार बनाइएको हुन्छ त्यसलाई झन अझ बढी माया लाग्छ । यसरी योजनाको निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुबाट विभिन्न तरिकाबाट सहभागी र संलग्न हुने व्यक्तिलाई योजनाप्रति अपनत्वको भावना हुन्छ, जसरी व्यक्तिको आफ्नो कमाइ र मेहेनतले बनाएको घर र सम्पत्तिप्रति हुन्छ ।

यही कुरालाई आत्मसात गरी विद्यालय सुधार योजनाबाट पनि अपेक्षा गरिएको थियो कि यसले अभिभावकहरुमा विद्यालयप्रति अपनत्वको भावनाको विकास गर्नेछ, विद्यालयको विकासमा अभिभावक र समुदायको संलग्नता बढ्नेछ र विद्यालयमा स्थानीय साधन र स्रोतको उपयोग अधिकतमरुपले हुनेछ । तथापि यी कुरा केही भएनन् । किनभने योजना निर्माण र कार्यान्वयनका सवालमा सरोकारवालाहरुको सहभागिता नै भएन ।

विद्यालय सुधार योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गराउने हो भने केही कुराहरुमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ । यसमध्ये पहिलो कुरा त योजना निर्माण र कार्यान्वयन प्रक्रियामा सरोकारवालाहरुको संलग्नता बढाउनु पर्दछ । योजना निर्माण प्रक्रियामा प्रअ तथा शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र आमा समूहका पदाधिकारीहरु, अभिभावकहरु, विद्यार्थी र उनीहरुले नेतृत्व गरेका क्लबहरु, स्थानीय तहमा कार्यरत सरकारी र गैरसरकारी संघसंस्थाहरु, शिक्षा विकास तथा समन्वय इकाई र पालिकाका पदाधिकारीहरु एवम् विद्यालय निरीक्षक र स्थानीय विज्ञहरुलाई समावेश गरिनुपर्दछ ।

उल्लिखित व्यक्ति, समूह र निकायलाई योजनामा सहभागी बनाउन सकियो भने उनीहरुले विद्यालयको निम्ति के कस्तो योगदान कसरी गर्ने भन्ने कुराको समेत सुनिश्चितता बढ्छ । यसका साथै योजना निर्माणमा भएका सहभागीहरुलाई कार्यान्वयनका सवालमा समेत उनीहरुकै रुचि र क्षमताका आधारमा सहभागी बनाइ योजना कार्यान्वयनको पक्षलाई प्रभावकारी बनाउन सकिन्छ ।

जसरी अण्डा बाह्य शक्तिले फुट्यो भने त्यसको जीवन समाप्त हुन्छ र आन्तरिक शक्तिले फुट्यो भने त्यसको जीवन सुरु हुन्छ । त्यसरी नै विद्यालयले निर्माण गर्ने विद्यालय सुधार योजना पनि आफ्नो बलबुतामा टिक्न सक्ने र कार्यान्वयन हुन सक्ने किसिमको हुनु आवश्यक छ । यसलाई अरु कुनै निकायमा पेस गर्ने निवेदन जस्तोभन्दा पनि आफैँभित्रको सम्भावनाहरुलाई उत्खनन गरेर उपयोग गर्ने किसिमको हुुनुपर्दछ । योजनामा समावेश भएका क्रियाकलापहरुले विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, समुदायका मानिसहरु र विद्यालयमा योगदान गर्न चाहने मनकारी सामाजिक मानिसहरुलाई संलग्न र सक्रिय बनाउन सक्नुपर्दछ ।

विद्यालयको सबैभन्दा महŒवपूर्ण पात्र भनेको विद्यार्थी हो । त्यसैले पनि घुम्दैफिर्दै रुम्जाटार भनेझै जेजस्ता क्रियाकलापहरु गरे पनि अन्ततः तिनीहरु विद्यार्थीको समुन्नति र विकाससँग प्रत्यक्षरुपमा जोडिएको हुनुपर्दछ । विद्यालयका सरोकारवाला सबैले बुझ्नु पर्दछ कि विद्यार्थी भएनन् भने विद्यालय हुँदैन र विद्यार्थी राम्रा नभएको विद्यालयलाई राम्रो विद्यालय पनि भनिँदैन ।

विद्यार्थीको समुन्नति र विकाससँग जोडिएका र आर्थिक लगानी पनि त्यत्ति धेरै आवश्यक नपर्ने क्रियाकलापहरुको रुपमा हरेक विद्यार्थीहरुका सकारात्मक पक्षहरुको पहिचान गरी सूची बनाउने र त्यसलाई विस्तार गर्नका लागि थप क्रियाकलाप सञ्चालन गर्ने, विद्यार्थीहरुलाई सिकाइमा स्वअभिप्रेरित गर्नका लागि उनीहरुको रुचि र क्षमतालाई उपयोग गर्दै अघि बढ्नका लागि हौसला दिने, हरेक बालबालिकालाई कम्तिमा पनि नामैले सम्बोधन गर्न शिक्षकहरुलाई सक्षम बनाउने, विद्यार्थीहरुसँग खुसीपूर्वक मुस्कुराउँदै व्यवहार गर्ने, विद्यार्थीहरुलाई गरेर सिक्ने वातावरणको विकास गर्ने, शिक्षक र विद्यार्थीको सहयोगमा विद्यालयलाई हराभरा बनाउने, भित्ते पत्रिका र अतिरिक्त क्रियाकलापहरु नियमितरुपमा सञ्चालन गर्ने, हरेक विषयको शिक्षण सिकाइलाई सञ्चार र प्रविधिको प्रयोग गरी सम्पादन गर्नका लागि विद्यालय र शिक्षकलाई सक्षम बनाउने, अनुकरणीय र समतापूर्ण काम गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकलाई अभिप्रेरित गर्ने, शिक्षकलाई पेसाप्रति समर्पित हुने वातावरणको सिर्जना गर्ने र अभिभावकहरुलाई कानुनले मनाही गरेका शीर्षकहरुमा बाहेक अन्य शीर्षक र विषयहरुमा तन, मन र धनले समेत सहयोग गर्न अग्रसर गराउने किसिमका क्रियाकलापहरु विद्यालय सुधार योजनामा समेट्न सक्नुपर्दछ ।

अलान लकिनले भनेका छन्, ‘योजना बनाउन असफल हुनु भनेको असफल हुनका लागि योजना बनाउनु हो ।’ हाम्रा विद्यालयहरु अहिले यस्तैयस्तै असहज अवस्थाबाट गुज्रिरहेका छन् । उनीहरुसँग योजना नै छैन भन्ने हो भने तलब निकाशा गर्नका लागि देखाउने कामका लागि योजना छ । योजना छ भन्ने हो भने त्यो योजनामा के छ भन्ने पनि थाहा छैन र कार्यान्वयन हुने कुरा त झन टाढाको कुरा भयो । न त उक्त योजना निर्माणमा सरोकारवालाहरुको नै सहभागिता छ ।

यस्तो अवस्थामा शिक्षक, विद्यार्थी र अभिभावकहरु सक्रियरुपमा विद्यालय विकासमा सरिक हुनका लागि विद्यालय सुधार योजनाको जरुरत पर्दछ । केन्द्रले पठाउने निर्देशन र बजेटले मात्र विद्यालयको सुसञ्चालन हुन्छ भन्नु आत्मबिनाको शरीरमा रमाउनुु जस्तै हो । किन भने विद्यालयहरु समुदाय र अभिभावकको योगदानबाट जन्मिएका हुन् र विद्यालयहरुको थप विकास र समुन्नतिका लागि पनि समुदाय र अभिभावकको सहयोग, सद्भाव र माया चाहिन्छ ।

अन्यथा जन्म दिने आमाबाबिनाको बालक जस्तै अनाथ हुन्छन् विद्यालयहरु । विद्यालयमा गतिलो विद्यालय सुधार योजना बनाइ त्यसको प्रभावकारी कार्यान्वयन गर्नका लागि योजनाको किताब हेरेर मात्र हुँदैन कि योजनाभित्र के छ र त्यसको कार्यान्वयन कसरी भइरहेको छ भन्ने कुरामा गम्भीर हुनु जरुरी छ ।

योजना अद्यावधिक गर्ने क्रममा आउँदो शैक्षिकसत्रमा के काम गर्ने, कसले गर्ने र कसरी गर्ने भन्ने सम्बन्धमा सुक्ष्म किसिमले खाका बनाउनु पर्दछ । विद्यालय सुधार योजनामा उल्लेख नभएका कुराहरु विद्यालयमा गरिनु हुँदैन र योजनामा भएका कुराहरु सकेसम्म विद्यालयमा सम्पादन गर्न छुट्नु हुँदैन । यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले विद्यालयलाई शसर्त बजेट मात्र नभइ विद्यालय सुधार योजनामा आधारित अनुदान पनि दिनु आवश्यक छ ।

त्यो अनुदान विद्यालयले प्रस्ताव गरेका योजना र त्यसको प्रभावकारिताका आधारमा फरक फरक पनि हुन सक्छ । २०५६/०५७ तिर विद्यालय सुधार योजना निर्माणको आरम्भ गर्दा जे सोच बनाइएको थियो त्यसले जीवन्तता पाउनुपर्छ । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको मूल्यांकनको महŒवपूर्ण कसीको रुपमा विद्यालय सुधार योजनालाई बनाइनु पर्दछ र विद्यालय सुधार योजनामा समेटिने कार्यक्रमहरुमा मेरुदण्डको रुपमा सरकार होइन कि समुदाय, अभिभावक र शिक्षक हुनुपर्दछ । यसको अर्थ सरकार पन्छिनु पर्छ भनेको कदापि होइन, बालबालिकाको शिक्षामा समुदाय र अभिभावकको चासो र जिम्मेवारी बढाउनु पर्छ मात्र भनेको हो ।

प्रकाशित मितिः शुक्रबार, पुस २९, २०७९     12:20:54 PM  |