नेपालगन्ज ।
बाँकेमा वार्षिक सात हजार मेट्रिक टन युरिया मलको माग छ । हिउँदे बाली लगाउने सिजनमा मात्रै तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, हिउँदे बाली लगाउने बेला भइसक्दा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी आइतबारसम्म नौ सय ८२ दशमलव २ मेट्रिक टन युरिया मल मात्रै आइपुगेको छ ।
हालसम्म साल्ट ट्रेडिङबाट एक सय ३१ दशमलव ८ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ बाँकी गोदाममै छ । साल्ट ट्रेडिङले बिक्रि सुरु गरेपनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारबाट मल सहकारीलाई उपलब्ध गराउन सुरु गर्ने जनाएको छ ।
यसैगरी डिएपी मलको जिल्लामा २५ सय मेट्रिक टन माग छ । हालसम्म साल्ट ट्रेडिङमा सात सय एक मेट्रिक टन मल आउँदै छ । तर उक्त मल गहुँ लगाउने बेला उपलब्ध हुने अवस्था नरहेको कम्पनी लिमिटेडका नेपालगन्ज प्रमुख रमेशकुमार पौडेल बताउँछन् । साल्ट ट्रेडिङमा हिउँदमा एक सय ७५ मेट्रिक टन डिएपी मलको कोटा रहेकोमा हालसम्म ७७.८५ मेट्रिक टन मात्र आएको छ ।
यसरी हेर्दा यसपटक पनि बाँकेमा मलको अभाव हुने देखिएको छ । माग भन्दा एकदमै कम मल आउँदा सबै किसानहरुको नपाउने अवस्था यसवर्ष पन निम्तने देखिएको छ । तर भारतीय बजारबाट व्यक्तिगत प्रयोगका लागि मल ल्याउनेहरुलाई सहजीकरण गर्न प्रशासनसँग अनुरोध गरिएकोले केही राहत हुने पौडेल बताउँछन् ।
७० प्रतिशत माग कृषि सामग्री कम्पनी र ३० प्रतिशत माग साल्ट ट्रेडिङले पूर्ति गर्ने व्यवस्था छ । कृषि सामग्रीले आजबाट राप्तीसोनारी र डुडुवाका सहकारीहरुलाई मल वितरण गरेर सुरुवात गर्दै छ ।
मंगलबार बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका, बुधबार खजुरा र नरैनापुर गाउँपालिका, बिहीबार जानकी गाउँपालिका एवं शुक्रबार नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाका सहकारीहरुलाई मल वितरण गर्नेछ । किसानलाई सहकारीहरुले मल उपलब्ध गराउनेछन् ।