डेभ रुस
आधुनिक लोकतन्त्रमा नागरिकहरू अनेकौं विधि र प्रविधि प्रयोग गरी आफ्नो मत जाहेर गर्न सक्छन् । प्राचीन समयमा चाहिं मानिसहरू निर्वाचनमा कसरी भाग लिन्थे ? इतिहासकारहरूले संसारको पहिलो र त्यस समयको एक मात्र प्रत्यक्ष लोकतन्त्र एथेन्स र अर्ध–लोकतन्त्र रोम गणतन्त्रबारे रमाइला तथ्य संकलन गरेका छन् । जहाँ धनी वर्गको प्रभाव कामदारको भन्दा बढी थियो । एथेन्स र रोम दुवैमा लोकतान्त्रिक प्रक्रियामा सहभागिता ‘डेमोस’ भनिने स्वतन्त्र, पुरुषहरूमा सीमित थियो । महिला र दासहरूलाई मतदानको अधिकार थिएन ।
विशेष यन्त्रबाट प्रतिनिधि छनोट
एथेन्समा चुनाव अत्यन्त कम हुन्थे, किनकि एथेन्सबासीहरू अधिकारीहरूको चयन गर्न निर्वाचन नै सबैभन्दा लोकतान्त्रिक तरीका हो भन्ने सोच्दैनथे । इन्डियाना विश्वविद्यालयका इतिहासका प्राध्यापक तथा एन्सियन्ट ग्रीक डेमोक्रेसिज्ः रिडिङ्स एन्ड सोर्सेजका सम्पादक इरिक रविन्सनका अनुसार, एथेन्सको पाँच सय सदस्यीय प्रमुख कार्यकारी परिषद्मा सदस्य चुन्न विशेष प्रक्रिया अपनाइन्थ्यो । एथेन्समा १० जनजाति थिए । हरेक जनजातिले परिषद्को एक वर्षे कार्यकालका लागि ५० जनाको दरले आफ्ना प्रतिनिधि चुनेर पठाउँथे ।
मतदान गर्न योग्य हरेक व्यक्तिलाई एउटा टोकन दिइन्थ्यो । उक्त टोकन क्लेरोटेरियन भनिने विशेष यन्त्रमा छिराइन्थ्यो । उक्त यन्त्रमा ट्युब र बल हुन्थे, जसको सहायताले हरेक जनजातिले अनियमित रूपमा आफ्ना प्रतिनिधि चुन्थे ।
सभामा एक व्यक्ति एक मत
एथेन्समा हरेक कानून र मुद्दा एउटा भव्य लोकतान्त्रिक सभाबाट निर्धारित हुन्थे । सभामा हरेक पुरुषले आफ्ना भनाइ राख्न पाउँथे । त्यस वेला एथेन्सको संख्या ३० हजारदेखि ६० हजार थियो । सभामा ६ हजार जति नियमित उपस्थित हुन्थे । सभा पहाडको टुप्पोमा रहेको निक्स नामक ६ देखि १३ हजार जना अट्ने सभागृहमा बस्थ्यो ।
सान डियागो विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक डेल डिक्सनका अनुसार, अहिले हामीले विद्युतीय माध्यमबाट वा मतदानस्थल गएर मतपत्र मार्फत आफ्नो मत व्यक्त गर्न सक्ने प्रविधि र प्रचलन भए पनि उति वेला ग्रीसमा हामीले सोचे जस्तो निर्वाचन थिएन । उनी भन्छन्, “तपाईं भौतिक रूपमै उपस्थित हुनुपर्थ्यो । गणतन्त्र भन्ने शब्द हामीले त्यहींबाट पाएका हौं । ‘रेस पब्लिका’ ल्याटिन शब्द हो, जसको अर्थ ‘सार्वजनिक स्थल’ हुन्छ । त्यसैबाट रिपब्लिक अर्थात् गणतन्त्र बनेको हो ।’ सभामा अन्य नागरिकसँगै भेला भएर त्यो दिनको सभा हुनुअघि विषयहरू तय गर्नुपर्थ्यो । सभाका दैनिक अजेन्डा पाँच सय जनाको परिषद्ले बनाउँथ्यो । त्यसपछि सबै कानून तथा सरकारका नीतिलाई मतदान प्रक्रियामा लगिन्थ्यो । हात उठाएर मतदान गरिन्थ्यो । नौ जना सभापतिले विजेताको निर्णय गर्थे । एथेन्सबासीहरू निर्वाचनमा गलत काम नहोस् भन्नेमा निकै सजग थिए ।
‘उदाहरणका लागि, सभा शुरू हुनुअघि एकाबिहानै नौ जना गणक जोसुकैबाट छानिन्थ्यो, जसका कारण उनीहरूलाई प्रलोभनमा पार्न कठिन हुन्थ्यो,’ रविन्सन भन्छन् । एथेन्समा सभाबाट चुनिने पदहरू थोरै थिए, जसमा सेनाका जर्नेलहरूलाई सबैभन्दा महŒवपूर्ण मानिन्थ्यो । सभाको पूर्ण बैठकमा सहभागीहरूले औंला उठाएर समर्थन गरेको आधारमा हरेक वर्ष एक वर्षे कार्यकालका लागि दश जना जर्नेल चुनिन्थे ।
ढुंगाका मतपत्र
सभाले कानूनहरू पारित गर्नुका साथै फौजदारी र नागरिक मुद्दाहरूको फैसला गर्थ्यो । प्रा. डिक्सनका अनुसार, १२ जनाको प्रमुख जुरी (न्यायिक समूह) बाहेक एथेन्समा दुई सयदेखि पाँच हजार जनासम्मका अन्य जुरी हुन्थे । त्यस्तै, जुरीका एक जनालाई छड्के तरीकाले न्यायाधीश चुनिन्थ्यो । न्यायाधीशको काम अन्तिम फैसला गर्नु हैन, नियम र प्रक्रिया पूर्ण रूपमा पालना गरिएको छ÷छैन भन्ने निश्चित गर्नु थियो ।
अर्को किसिमको मतदान सार्वजनिक रूपमा गरिने अभ्यास थियो । एथेन्सका जुरीले आफ्नो मत जाहेर गर्दा ढुंगाका विशेष किसिमका गोटीलाई मतपत्रका रूपमा प्रयोग गर्थे ।
निर्वासनको लागि निर्वाचन
एथेन्समा सार्वजनिक पदमा रहेको कुनै व्यक्तिले अनैतिक काम गरेमा ‘लोकतन्त्रको भलाइका लागि’ उसलाई १० वर्ष निर्वासनमा पठाइन्थ्यो, त्यस सम्बन्धी निर्णय निर्वाचन मार्फत गरिन्थ्यो । यस्तो निर्वाचनमा सभाका प्रत्येक सदस्यलाई माटाको भाँडाका एक–एक टुक्रा दिइन्थ्यो । त्यसमा कसलाई निर्वासित गर्नु उचित लाग्छ, उसको नाम लेख्न लगाइन्थ्यो । कम्तीमा ६ हजार जनाले जसको नाम लेखे, उसलाई १० वर्ष एथेन्सबाट निकाला गरिन्थ्यो ।
एउटा चर्चित उदाहरण, एथेन्स–पर्सिया युद्धमा एथेन्सतर्फका सैन्य नायक थेमिस्टोकल्सलाई इसापूर्व ४७२ मा यस्तै निर्वाचन मार्फत देश निकाला गरिएको थियो । निर्वासनमै रहँदा उनको मृत्यु भएको थियो । यो राजनीतिक छलको एउटा उदाहरण हो । थेमिस्टोकल्सका राजनीतिक दुश्मनहरूले सयौं–हजारौं त्यस्ता मतपत्रमा थेमिस्टोकल्सको नाम लेखेर सभामा रहेका निरक्षरहरूलाई बाँडेका थिए । डेमोक्रेसी बियोन्ड एथेन्स पुस्तकका लेखक प्रा. रविन्सनका अनुसार, प्राचीन ग्रीक नगर राज्यहरूमध्ये एथेन्स सबैभन्दा ठूलो र शक्तिशाली थियो, तर हरेक नगरले मतदान र निर्वाचनका आआफ्नै पद्धति प्रयोग गर्थे । त्यसको एउटा उदाहरण स्पार्टा हो, जहाँ लोकतन्त्र नभए पनि लोकतन्त्रका केही कुरा समावेश हुन्थे । स्पार्टाका सबैभन्दा उच्च शासकीय निकायमध्ये ज्येष्ठ सभा एक थियो । जसमा दुई स्पार्टन राजा र २८ जना निर्वाचित पदाधिकारी हुन्थे । उनीहरू सबै ६० वर्ष माथिका हुन्थे, र आजीवन पदमा रहन पाउँथे ।
‘रिक्त पदहरू पूर्ति गर्न स्पार्टाबासीहरू चिच्याएर आफ्नो मत जाहेर गर्थे,’ प्रा. रविन्सन भन्छन्, ‘हरेक उम्मेदवार पालैपालो विशाल सभाकक्षमा प्रवेश गर्नुपर्थ्यो, जनताले चिच्याएर जयजयकार गर्दै उनीहरूलाई अनुमोदन गर्नुपथ्र्यो । जसप्रति सबैभन्दा चर्को जयजयकार आयो, उसैलाई विजेता घोषित गरिन्थ्यो ।’
रोम गणतन्त्रः धनीलाई विशेषाधिकार
प्राध्यापक डेल डिक्सनका अनुसार, रोम गणतन्त्रले एथेन्स लोकतन्त्रका केही सिद्धान्त अङ्गीकार गरेको थियो, तर मतदातालाई वर्गका आधारमा बाँडियो र धनीहरूलाई फाइदा हुने प्रणाली बनाइयो । एथेन्सको जस्तो विशाल सभामा मतदान गर्नुको साटो रोमबासीका तीन सभा थिए । पहिलो, एक सयभन्दा धेरै सदस्य हुने शताब्दी सभा । त्यसले रोमका सबैभन्दा उच्च पदाधिकारीहरू चुन्थ्यो । जसमा कन्सुल्स (वैदेशिक मामिला सम्बन्धी), प्रेटोर्स (न्याय सम्बन्धी) र सेन्सर्स (जाँच्ने अधिकारी) थिए । शताब्दी सभाले युद्धको घोषणा गथ्र्यो ।
शताब्दी सभाको मतदान सबैभन्दा धनी–महाजन वर्गबाट शुरू हुन्थ्यो र १९३ जनाको बहुमत पुगेपछि रोकिन्थ्यो । महाजनहरूले कुनै विधेयक पारित गर्न वा कुनै पदाधिकारी चयन गर्न चाहेमा सामूहिक मतदान गर्थे, र गरीबहरूलाई निषेध गर्थे । शुरूमा मतदानको विशेषाधिकार दिइनुलाई ल्याटिन भाषामा ‘प्राएरोगाटिभा’ भनिन्छ । ल्याटिनमा यसको अर्थ हुन्छ, अरूभन्दा पहिले राय सोध्नु । रोमका अन्य दुई सभामा जातीय सभा र जनपरिषद्मा भने मतदान गर्ने पालो चिट्ठाबाट निर्धारण गरिन्थ्यो । एथेन्स र रोम दुवैमा जातिको निर्धारण रगत वा वंशको आधारमा हैन, उनीहरूको बसोबास रहेको भूगोलको आधारमा गरिन्थ्यो । जातीय सभाले आधुनिक अमेरिकाको सिनेटले जस्तै काम गर्थ्यो, जहाँ हरेक राज्यबाट बराबर प्रतिनिधि निर्वाचित हुन्छन् ।
गोप्य मतदान र प्रचार
रोम गणतन्त्रका कतिपय पक्ष अहिले पनि प्रचलित छन् । रोमका सभाहरूका कतिपय मतदान एथेन्सका जस्तै हुन्थे । सभाका प्रत्येक सदस्यले सबैको अगाडि हात उठाएर आफ्नो मत व्यक्त गर्थे । तर, समयसँगै धनी ‘प्रायोजक’हरूले सभाका सदस्यहरूलाई निश्चित तरीकाबाट मतदान गर्न दबाब दिन थाले । जसका कारण मतदान गोप्य रूपमा गर्न थालियो । इसापूर्व १३९ मा रोममा नयाँ खालको गोप्य मतपत्र प्रयोगमा ल्याइयो । ‘ती काठका एकखाले गोटी हुन्थे र तिनको बाहिरपट्टि मैनको पाना हुन्थ्यो,’ प्रा. रविन्सन भन्छन्, ‘मैनको पानामा आफ्नो मत लेखेर पूरै गोटी मतपेटिकामा खसाल्नुपर्थ्यो । यसले गर्दा धनी वर्गलाई अप्ठ्यारो पर्न गयो, किनकि केही मात्रामा तिनको नियन्त्रण खस्किएको थियो ।’
तपाईंलाई चुनावी प्रचारप्रसार अभियान आजको समयको भुलभुलैया लाग्न सक्छ । तर, पुरातत्त्वविद्हरूले पम्पेका पर्खालहरूमा कुँदिएका राजनीतिक ‘ग्राफिती’ बाट प्राचीन निर्वाचन प्रचारप्रसार अभियानका सयौं उदाहरण उजागर गरेका छन् । डिक्सन भन्छन्, ‘पदाधिकारीको अभियानका लागि एक–दुई साताको समय दिइन्थ्यो, र धेरैजसो त्यस्ता अभियान सार्वजनिक चोकमा गरिन्थ्यो ।’
साभारः हिमालखबर
प्रतिक्रिया दिनुहोस्