3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

विकासका पहरेदार रुद्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १८, २०७९  

विकास र पहुँचका दृष्टिले दुर्गम वडा हो, कोहलपुर नगरपालिका–१ । यहाँका ९७ प्रतिशत भूमिहीन र सुकुम्बासीको बसोबास छ । पहाडबाट बसाइँसराई गरेर आएका तथा दलित समुदायको बाहुल्य रहेको १ नम्बर वडा कोहलपुरको दुर्गम वडाका रुपमा चिनिन्छ ।

राजमार्ग छेउमै पर्ने भए पनि वडामा खास्सै विकास भएको छैन । वडाका अधिकांशको हातमा लालपूर्जा छैन । आसन्न स्थानीय तह निर्वाचनका लागि विकासका नारासहित वडावासीको हातमा लालपूर्जा दिने एजेण्डा दिएर दलका उम्मेदवार गाउँमा पुगिसकेका छन् ।

त्यही भीडमा वडाध्यक्षको कमाण्ड सम्हाल्ने योजनासहित चुनावी मैदानमा उत्रिएका छन्, युवा उम्मेदवार रुद्र खनाल । नेकपा एमालेबाट वडाध्यक्षको मैदानमा उत्रिएका उनले प्रचारप्रसारमा अगाडि सारेको नारा छ, ‘शैक्षिक, हरित र रोजगारयुक्त ।’ रुद्र खनाल, मोफसलमा चलचित्र निर्माणको क्षेत्रमा परिचित नामसमेत हो । युवा व्यवसायीसमेत रहेका खनाल लामो समयदेखि चलचित्र निर्माणमा सक्रिय छन् ।

२०६५ सालदेखि चलचित्र निर्माणको काम सुरुवात गरेका उनले बृन्दावन, मेरी कुसुम, बेबी आई लभ यू नामक फिल्म निर्माण गरिसकेका छन् । उनी निर्माता रहेको चलचित्र मन्द मन्द रिलिजको तयारीमा छ । राजनीति, समाजसेवा र चलचित्र निर्माणमा सक्रिय उनले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा कोहलपुर–१ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

चलचित्रको पर्दामा भुइँमान्छे र सामाजिक समस्याका विषयवस्तु उठान गरिरहेका उनी जनताको प्रतिनिधि बनेर थप सामाजिक सेवा गर्ने सोचका साथ मैदानमा छन् । नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका खनाल यतिबेला आफ्ना चुनावी एजेण्डासहित चुनावी मैदानमा होमिएका छन् । ‘मेरो उम्मेदवारी पद प्राप्तिका लागि होइन, जनताको सेवाको लागि हो,’ उनले भने । आफू पूर्वयोजना र कार्ययोजनाअनुसार चुनावी मैदानमा आएको उनको भनाइ छ ।

प्लस टूसम्मको औपचारिक अध्ययन गरेका उनी प्रविधिमा पोख्त छन् । परिवर्तनप्रेमी र युवा पुस्ताको विश्वासका साथ वडा नम्बर १ को कमाण्ड सम्हाल्न आतुर छन्, ३८ वर्षीय खनाल । जिन्दगीको गोरेटोमा यहाँसम्म आइपुग्न अनेकांै कष्टकर समय पारे गरेका उनी कुनै समय घरमा जीविकोपार्जनका लागि अर्काको खेतमा गोरु जोत्ने (हली) को काम गर्थे । २०४१ साउन १० गते बुबा चन्द्रलाल खनाल र आमा गौरी खनालको कोखबाट कान्छो सुपुत्रको रुपमा उनको जन्म भयो ।

खनाल एक गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् । ‘म अत्यन्तै गरिब परिवारमा जन्मिएको हुँ । हाम्रो परिवार आर्थिकरुपमा विपन्न थियो । कुनैबेला साँझ बिहान छाक टार्न अर्काको घरमा गोरु जोत्थे,’ आफ्नो विगत सम्झिँदै खनाल भन्छन्, ‘गरिबीको अत्यास कस्तो हुन्छ मैले भोगेको छुँ ।’ वडा नम्बर १ मा २०३७ सालदेखि गरिब, भूमिहीन र सुकुम्बासीको बाहुल्य छ ।

त्यहाँ दलित समुदायको बाहुल्य छ । सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय उनी सधै निमुखाको पक्षमा आवाज उठाउँथे । भुइँ तहका दुःख देखे, भोगेका उनी समयक्रमसँगै कम्युनिस्ट विचार धाराप्रति आकर्षित भए । खनाल औपचारिक राजनीतिक यात्रा भने तत्कालीन नेकपा माओवादीबाट सुरु भएको हो ।

उनी तत्कालीन अवस्थामा माओवादीले उठाएको भुइँ मान्छेको मुद्दासँग प्रभावित थिए । तर, पछि उनी २०६४ सालमा नेकपा एमालेमा प्रवेश गरे । वडा कमिटी हुँदै पार्टीको जिल्ला तहमा उनले आफ्नो दह्रो उपस्थिति जनाइरहेका छन् । हाल उनी नेकपा एमाले बाँके जिल्ला समिटी सदस्य हुन् । यस्तै अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य र बाँके सहइञ्चार्ज छन् ।

संघको उपाध्यक्षसमेत भइसकेका उनी चलचित्र निर्माण र राजनीतिलाई सँगै लिएर अघि बढिरहेका युवा माझ लोकप्रिय व्यक्ति हुन् । गत निर्वाचनमा वडा नम्बर १ मा नेकपा एमालेले जितेको थियो । त्यतिबेला वडाध्यक्ष जितेका गोपी खनालका सहोदर भाई हुन्, ‘वडाध्यक्षका उम्मेदवार रुद्र खनाल ।’

यस्ता छन् खनालका एजेण्डा

कक्षा १ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई पैसाका कारण विद्यालय छोड्ने अवस्थाको अन्त्य गराउने उनको प्रमुख चुनावी एजेण्डा
छ । त्यसका लागि वडामा एउटा बालकोष खडा गर्ने योजना छ ।

आफूले वडाध्यक्ष जितेमा राज्यबाट पाउने सुविधाको रकम त्यसमा लगानी गरिने उनले बताए । स्वास्थ्य क्षेत्रमा कर्मचारीको संख्या बढाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने र सहज तथा सुलभ स्वास्थ्य सेवा प्रदान गरिने खनाल बताउँछन् । सामाजिक सुरक्षा भत्ता र एम्बुलेन्स सेवा घरमै दिइनेछ ।

वडामार्फत शव बाहनको व्यवस्था गरिनेछ । कृषि क्षेत्रमा युवाहरुलाई संलग्न गराएर रोजगारी सिर्जना गरिने उनको भनाइ छ । यस्तै वडा नम्बर १ लाई लागूपदार्थ सेवन निषेधित वडा बनाइने उनको प्रतिबद्धता छ । समग्रमा वडा नम्बर १ को विकासमा सबैको साथ आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।

प्रकाशित मितिः आइतवार, बैशाख १८, २०७९     10:51:46 AM  |