बाँके–बर्दिया कम्प्लेक्समा पाटेबाघ गणनाको काम अन्तिम चरणमा पुगेको छ । गत मंसिर २९ गतेबाट उक्त कम्प्लेक्समा बाघ गणना सुरु गरिएको थियो । बाँके–बर्दिया कम्प्लेक्सको ‘डी’ ब्लकमा बाघको गणना सकिएपछि बाघ गणनाको काम सकिनेछ ।
‘डी’ ब्लकमा पर्ने बाँके राष्ट्रिय निकुञ्ज र राप्तीपारिको दाङसँग सीमा जोडिएको क्षेत्रमा अहिले बाघ गणनाको लागि प्राविधिक खटिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरियाले बाघ गणनाको काम अन्तिमतिर रहेको जानकारी दिए ।
‘अहिले बाँकेको पूर्वी क्षेत्रमा गणनाको काम भइरहेको छ,’ उनले भने, ‘बढीमा दुई÷तीन दिनमै काम सम्पन्न हुन्छ । देशका अन्य कम्प्लेक्समा गणनाको काम सम्पन्न भइसक्यो ।’
बाघ गणनाको लागि बाँके–बर्दिया कम्प्लेक्सलाई चारवटा ब्लकमा छुट्याइएको थियो । बाघ गणनाका लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई ‘ए’ र ‘बी’ ब्लक तथा ‘सी’ ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भागलाई समेटिएको थियो ।
‘डी’ ब्लक भने पूरै बाँके राष्ट्रिय निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्रअन्तर्गतको भू–भाग समेटिएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले क्यामेराले पाटे बाघका थुप्रै तस्विर खिचिएको बताए । ‘हामीले नियाल्दा बाघका तस्विर क्याप्चर भएका थुप्रै फोटो देखिएका छन्,’ उनले भने, ‘गणनाको अवधि सकिएपछि ती फोटोबारे विश्लेषण गरी बाघको संख्या यकिन गर्नेछौं ।’
नेपालका बाघ पाइने क्षेत्रलाई तीन भागमा विभाजन गरेर गणनाको सुरु गरिएको थियो । चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणना भएको हो । पछिल्लोपटक सन् २०१८ मा भएको गणनाअनुसार नेपालमा बाघको संख्या दुई सय ३५ थियो ।
सो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ तथा पर्सामा १८ वटा बाघ छन् । तर अहिले यो संख्या बढेको अनुमान गरिएको छ । सन् २०२२ सम्ममा बाघको संख्या दुई सय ५० बनाउने लक्ष्य पूरा हुने अपेक्षा रहेको संरक्षणकर्मी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्