कोहलपुर ।
सरकारले स्थानीय तहको निर्वाचन तोकिसकेको छ । आगामी वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनको पूर्वतयारीका काम भइरहेका छन् । निर्वाचन आयोगले मातहतका कार्यालयबाट समेत देशभरि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । जसअन्तर्गत शुक्रबारदेखि नामावलीमा दाबी विरोध सुरु भएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
कार्यालय प्रमुख खुमप्रसाद सुवेदीले नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत दाबी विरोधको समयसीमा सुरु भएको बताए । उनका अनुसार आयोगले दाबी विरोधको समय एकसाता लामो छ ।
२६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने सकिने उनले बताए । कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने सक्ने उनको भनाइ छ । यस्तै कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइने छ ।
यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने सुवेदीले मिसन टुडे दैनिकलाई जानकारी दिए ।
आयोगले ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिन सकिने जनाएको छ । सोही आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने प्रमुख सुवेदीले अवगत गराए ।
जिल्लास्थित सम्बन्धित कार्यालयबाट परेका निवेदन, उजुरीको आयोगले फागुन २६ गतेभित्र परेको उजुरीबारे अनुसन्धान तथा छानबिन गरी सम्बन्धित मतदातालाई प्रमाणसहित उपस्थित हुने सूचना प्रकाशन गर्नेछ । मतदाता नामावली नियमावलीमा दर्ता अधिकारीले छानबिनपछि त्यस्तो उजुरीमाथि कारबाहीस्वरूप मतदाता नामावलीबाट नाम हटाउनसक्ने अधिकार दिएको छ ।









प्रतिक्रिया दिनुहोस्