बाँकेको राप्तीसोनारी क्षेत्रमा बाघले बिहान र दिउँसो मानिसलाई आक्रमण गर्ने क्रम रोकिएको छैन । तर, बाघ स्वभावका हिसाबले दिउँसो बासस्थानभन्दा बाहिर निस्किँदैन । रातिको समयमा सक्रिय र आक्रामक हुने बाघ स्वभावविपरीत दिउँसो सक्रिय र आक्रमक देखिएको छ । विज्ञहरु यसलाई बाघ जंगलमा ‘सामान्य अवस्था’ मा नभएको हुन सक्ने अनुमान गर्छन ।
उनीहरु भन्छन्, ‘कि बाघले मानिसलाई ‘दुर्घटनात्मक अवस्था’मा आक्रमण गरिरहेको छ । कि त आफैँ ‘समस्याग्रस्त अवस्था’ मा छ ।’ राप्तीसोनारी क्षेत्रमा अहिले बाघ कस्तो अवस्थामा छ भन्ने कुराको एकिन हुन सकिरहेको छैन । सामान्यतयाः कमजोर ठहरिएमा, बुढो वा बिरामी भएका बाघ मानिस भएतिर आकर्षित हुन्छ ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलका अनुसार बाघ मात्तिरहेको, आहारा खोजिरहेको वा पोथीसँग म्याचिङ (सम्भोग) चाहिरहेको हुन सक्छ । ‘बाघ सिकार गर्ने जनावर हो । यसलाई पटकपटक सिकार गरिरहनुपर्छ ।
आहाराको खोजीमा हिँडिरहेको हुन्छ,’ उनले भने । राप्तीसोनारीमा आहारा अभावमा निस्कनेको ‘घुमन्ते बाघ’ले सिकार गरिरहेको हुन सक्ने उनले बताए । अर्कातिर बाघको यो सम्भोग समय हो । जनावरले वर्षमा एकपटक सम्भोग गर्छन् । भाले बाघ पोथी बाघको खोजीमा निस्केको बेलामा मानिसलाई भेटेर आक्रमण गरिरहेको हुन सक्ने पनि उनी बताउँछन् ।
राप्तीसोनारी क्षेत्रमा मात्रै ६ महिनामा पाँचजनाको बाघकै आक्रमणबाट मृत्यु भइसकेको छ । बाघले बिहान र दिउँसोको समयमा मात्रै आक्रमण गरिरहेको छ । जंगल क्षेत्रमा गएका व्यक्ति बाघको सिकार बनिरहेका छन् । त्यस क्षेत्रमा नागरिक अहिले बाघको उच्च त्रासमा जीवन गुजारा गरिरहेका छन् ।
मध्यवर्ती क्षेत्रका समूह, निकुञ्ज प्रशासन, डिभिजन वन कार्यालय, समुदाय र सुरक्षा निकाय सक्रिय हुँदासमेत बाघ नियन्त्रणमा आउन सकेको छैन । प्रमुख कँडेल बाघ घुमन्ते र अस्थिर भएकोले विभिन्न प्रविधिको प्रयोग गर्दासमेत बाघ नियन्त्रण व्यवस्थापनमा समस्या देखिएको छ । विज्ञ तथा प्राविधिक टोली परिचालन गर्दासमेत मान्छे खाने बाघ पहिचानमै समस्या देखिएको उनको भनाइ छ ।
बाघ समात्न आहारा (बेट) राख्दासमेत खाइरहेको छैन । आहारा नखानु भनेको बाघ एउटै ठाउँमा बसेको छैन र एकपटक सिकार गरेको क्षेत्रमा आएको छैन भन्ने हो । बाघ निरन्तर हिँडिरहेकोले पहिचान गर्न, समात्न र नियन्त्रण गर्न समस्या देखिएको उनको भनाइ छ । हुन पनि आज वडा नम्बर ५ देखिएको बाघ भोलि वडा नम्बर ६ मा भेटिएको छ, राप्तीसोनारीमा । अहिलेसम्म चुरे क्षेत्रको जंगलमा आक्रमण भइरहेको छ । अहिलेसम्म बाघ गाउँ नपसेको उनले बताए ।
आहारा राखिन्छ, खाँदैन बाघ
बाघले मानिसलाई आक्रमण गर्छ । मानिसको ज्यान लिन्छ । त्यसपछि राप्तीसोनारी क्षेत्रमा हात्ती परिचालन गरिन्छ । आहारा (पाडो) राखिन्छ । क्यामेरा जडान गरिन्छ । प्राविधिकको टोलीसमेत खटिने गरेको छ ।
उनी त्यसको पहिचान भएमा वा आहारा खाने अवस्थामा भेटिएमा विशेष टोलीले निश्चित समयका लागि लठ्याउने बताउँछन् । तर, धेरैपटक आहारा राख्दासमेत नआएको उनले बताए । वडा नम्बर ६ मा पनि केही दिन अघि बाघले ज्यान लिएको थियो । बाघले आक्रमण गरेको क्षेत्रमा आहारा राखिएको उनले बताए ।
उनका अनुसार त्यहाँ दुईवटा हात्तीसमेत परिचालन गरिएको छ । बर्दियाबाट समेत प्राविधिक टोली बाँके आएर परिचालित भएको उनले सुनाए । प्राविधिक डाक्टर र सुट गर्ने मान्छेसमेत रहेका छन् । यस्तै अन्य सहयोगी मानिससमेत परिचालित भएका छन् । आहारा दुई ठाउँमा राखिएको छ । अहिले हात्तीको सहायतामा खोजी कार्य जारी रहेको प्रमुख कँडेलको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्