काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धनलाई पानीमुनि गए पनि ठेगान लगाउने चेतावनी दिएका छन्।
भक्तपुरस्थित सूर्यविनायक नगर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै ओलीले गठबन्धनको आयु १ वर्षको मात्रै भएको पनि बताए।
‘चुनाव छिट्टै आउँदै छ। चुनावले नतिजा देखाउने छ,’ उनले भने, ‘पानी मुनि गए पनि यो स्वार्थी गठबन्धन बच्न सक्ने छैन।’
सरकार जिउँदो देखिए पनि चटपट पनि नगरेको ओलीले टिप्पणी गरे। ‘वर्तमान सरकार चलिरहेको छैन। यो सरकारले काम गरिरहेको छैन। सरकार जिउँदै छ तर सरकार चटपटाउँदैन अलि चटपटायो भने उपद्रो गर्छ,’ ओलीले भने, ‘हामी सरकारमा हुँदा यो गठबन्धनले कुप्रचार गरेर हैरान पार्थ्यो। अहिले आन्तरिक किचलो मै रुमल्लिएको छ।’
अहिलेको गठबन्धन सरकारका कारण मुलुक चरम आर्थिक संकटतर्फ गइरहेको भन्दै ओलीले यो डरलाग्दो अवस्था रहेको बताए।
उनले कुख्यता भ्रष्टाचारी सरकारका मानिसहरु आफ्ना विरुद्ध उजुरी लिएर अख्तियारमा गएको पनि ओलीले आरोप लगाए। ‘उनीहरुलाई जनताको चिन्ता छैन। विकास निर्माणको कुनै चिन्ता छैन। अहिले सरकारसँग पैसा छैन। एमालेको सरकार बनेपछि सरकारसँग जति पनि पैसा हुन्छ,’ उनले भने।
संसदबाट नसकेर अदालतमा गएर आफूलाई सरकारबाट हटाएको चर्चा गर्दै ओलीले मुद्दा जितेर सरकार निर्माण गरेको पनि बताए।
प्रतिक्रिया दिनुहोस्