स्थायी राजधानी देउखुरीमा लुम्बिनी प्रदेशले मनायो स्थापना दिवस



दाङ ।

लुम्बिनी प्रदेश सरकारले पहिलोपटक प्रदेशको स्थायी राजधानी तोकिएको दाङस्थित देउखुरीमा स्थापना दिवस मनाएको छ । मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर लुम्बिनी प्रदेश सरकारले चौथो स्थापना दिवस मनाएको हो ।

धेरैजसो काम प्रदेश मुकाम बुटवलबाट सञ्चालन भइरहे पनि स्थापना दिवस भने स्थायी राजधानी देउखुरीमा पहिलोपटक मनाउने निर्णय गरिएको थियो ।

सोहीअनुसार नै मंगलबार चौथो स्थापना दिवसको अवसरमा देउखुरीमा विभिन्न कार्यक्रमहरु गरिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए । ‘स्वास्थ्य मापदण्ड पालना गर्दै स्थायी राजधानीमा नै प्रदेश दिवस मनाइसकेका छौं,’ उनले भने, ‘अब बिस्तारै मुकामबाट भइरहेका कामहरु स्थायी राजधानीबाट नै हुन्छन् ।’

मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले प्रदेश सरकार विभिन्न चुनौती पन्छाउँदै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ निर्माणको संकल्प पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

‘प्रदेश स्थापना दिवसले हामीलाई यो लक्ष्य पूरा गर्न थप प्रेरणा दिने विश्वास छ,’ उनले भने, ‘जनतालाई व्यवस्था परिवर्तन भएको अनुभूति दिनका लागि जनताको अवस्था बदल्नुपर्ने र तदनुरुपका योजना तथा कार्यक्रम बनाउनुपर्छ ।’ मुख्यमन्त्री केसीले प्रदेश सरकार इमान्दारिताका साथ लागिपरेको र प्रदेशको आफ्नो नीति अनुसार केन्द्रित भएको दाबी गरे ।

‘संघीयता हाम्रो लागि नयाँ अभ्यास हो । यस क्रममा सीमित स्रोत र साधनबीच आरम्भ भएको हाम्रो यात्रा केही अगाडि बढेको छ । वर्तमान संविधानले हाम्रो बाटो र गन्तव्य प्रष्ट पारेको छ । विकास र समृद्धि नै अहिले हाम्रो प्रमुख कार्यभार बनेको छ,’ उनले भने ।

प्रदेश स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा सरकारका चार वर्षमा भएका प्रगति विवरण प्रस्तुत, प्रदेशको वृत्तचित्र प्रदर्शन गर्नुका साथै पदक तथा विभूषण प्रदानसमेत गरिएको थियो । प्रदेशमा रही विभिन्न समाज सेवा गर्दै आएका ५७ जनालाई लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले विभिन्न पदकबाट सम्मान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ४ गते बुधबार