नेपाल बन्दको प्रभावः नेपालगन्जबाट बिहानै तीन बन्दकर्ता पक्राउ



नेपालगन्ज ।

बाँकेको नेपालगन्जबाट बुधबार बिहान तीनजना बन्दकर्तालाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।

बन्द गराउँदै हिडेका तीन बन्दकर्तालाई गणेशमान चोक नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनकाअनुसार पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रिय सदस्य सलमान राई, जिल्ला अध्यक्ष अजित प्रसाद (भगत सिंह) र विप्लप नेतृत्वको नेकपाका कार्यकर्ता वसन्त खत्री रहेका छन् ।

पक्राउ परेकोहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । बाँकेमा बन्दको आंशिक प्रभाव परेको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

एमसिसीको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ४ गते बुधबार