पूर्वी पाकिस्तानको एक विकट गाउँमा मुस्लिमहरूको पवित्र धार्मिक ग्रन्थ ‘कुरान’को अपमान गरेको भन्दै आक्रोशित मानिसहरूको समूहले एकजना व्यक्तिलाई लगातार ढुङ्गाले हानेर मारेका छन् ।
प्रहरीकाअनुसार स्थानीय मस्जिदका गार्डले शनिबार साँझ ती व्यक्तिले मस्जिदभित्रै कुरान जलाउँदै गरेको देखपछि प्रहरीलाई उजुरी गर्नुभन्दा पहिले नियमित प्रार्थनाका लागि आउँदै गरेका अन्य व्यक्तिहरूलाई त्यसबारे जानकारी दिएका थिए ।
प्रहरी प्रवक्ता चौधरी इमरानले पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एउटा गाउँमा यसरी ती व्यक्तिको क्रुर ढंगले हत्या भएको बताएका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलिलाई समेत ती पीडित व्यक्तिलाई बचाउन खोज्दा आक्रोशित भिडले ढुङ्गामुढा गरी घाइते बनाएको थियो । तुलाम्वा प्रहरी कार्यालयका प्रमुख मुनाबार गुज्जारले थप प्रहरी बल लिएर घटनास्थलमा पुग्दा भिडले उनलाई मारेर एउटा रुखमा झुण्ड्याइसकेको बताएका छन् ।
मारिने व्यक्ति नजिकैको अर्को गाउँको ४१ वर्षीय मुस्ताक अहमद नामक व्यक्ति भएको प्रहरीले पत्तालगाएको छ । अहमदका परिवारले पन्ध्र वर्षअघि मानसिक सन्तुलन गुमाएका उनी एक्कासी घरबाट हराएको जानकारी दिएको छ । मागेर गुजारा चलाउँदै आएका उनको शव परिवारको जिम्मा लगाइएको छ ।
प्रहरीले ढुङ्गा हान्ने काममा करिब तीन सय जनाको संलग्नता रहेको र हालसम्म ८० जना आशंकित पुरुषलाई पक्राउ गरिएको जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यस घटनाप्रति आक्रोश व्यक्त गर्दै पञ्जावका मुख्यमन्त्रीसँग यसबारे प्रतिवेदनको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्