बेलायती सेनाको विशेष सैन्य टोली युक्रेन पुग्यो



एजेन्सी ।

बेलायती सेनाको विशेष टोलीका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन्।

उनीहरू युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्। रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विशेष फौजका सदस्यहरू त्यहाँ पुगेका हुन्।

युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट १०० जनाभन्दा बढी सुरक्षाकर्मी आएको पुष्टि गरेका छन्। रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झन्डै आठ वर्षअघि देखिएको हो। त्यतिबेला रुसले युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेको थियो।

रुसले पूर्वी डोनबस क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् भने रूसले यसलाई अस्वीकार गर्दै आएको छ। त्यही क्षेत्रमा रुसले अहिले एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको बताइएको छ।

सैनिक तैनाथ भएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको दाबी युरोप तथा पश्चिमा मुलुकले गरिरहेका छन्। तर, रुसले उनीहरूको दाबीमा सत्यता नरहेको भन्दै आक्रमण गर्ने तयारी नभएको बताउँदै आएको छ। रासस/एएनआई

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २६ गते बुधबार