हिन्दी सिनेमा र संगीत जगतकी सर्वाधिक प्रख्यात र सम्मानित पार्श्व गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।
कोरोना संक्रमण देखिएपछि उनलाई गत ८ जनवरीदेखि मुम्बईस्थित ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई कोरोनासहित निमोनिया पनि देखिएको थियो भने पछिल्लो समय स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आईसीयूमा भर्ना गरिएको थियो।
उनले सन् १९७४ देखि १९९१ सम्म भारतमा सबैभन्दा बढी गीत गाएर गिनिज बुकमा नाम समेत लेखाएकी थिइन्। २५ हजारभन्दा बढी गीतमा स्वर दिएकी उनले नेपाली सांगीतिक क्षेत्रमा पनि योगदान दिएकी छन्।
उनको जन्म २८ सेप्टेम्बर १९२९ मा इन्दौरमा भएको थियो। पछि उनका पिता दीनानाथले परिवारसहित कोल्हापुर सरेर त्यहाँ नाटक कम्पनी स्थापना गरेका थिए। उनका पिता दीनानाथ पनि शास्त्रीय संगीतका गायक र संगीतकार थिए। उनले नाट्य संगीत नामले चिनिने मराठी प्रस्तुती दिने गर्थे। बाल्यकालदेखि नै गीत गाउन रुचाउने उनलाई पिता दीननाथले ५र६ वर्षको उमेरदेखि नै गीत सिकाउन थालेका थिए।
अधिकांश हिन्दी गीत गाए तापनि लताले नेपाली, मराठी र बंगाली गीत पनि गाएकी छिन्। उनले सन् १९७० र १९८० को दशकमा ‘बहसा इन्डोनेससया’ मा समेत प्रस्तुती दिएकी थिइन्। नौ वर्षको उमेरमा शोलापुरमा पहिलो प्रस्तुती दिएकी लताले आफ्ना पितासँगै संगीतको शिक्षा लिएकी थिइन्। पिताले नै उनलाई ११ वर्षको उमेरमा रेडियोमा आफूसँगै गाउन लगाएका थिए।
सन् १९४२ मा पिता दीनानाथको निधन भएपछि उनको परिवारले निकै अभाव झेल्नुपरेको थिइो। त्यतिबेला १३ वर्षकी लताले परिवारका लागि खर्च जुटाउन मराठी फिल्ममा अभिनय गर्न शुरू गरेकी थिइन्। त्यतिबेला उनले ‘गजभाउ’ ९सन् १९४३ मा प्रदर्शित० फिल्ममा केही पंक्ति पनि गाएकी थिइन्। यो उनले अभिनय गरेका चार फिल्ममध्ये एक थियो।
पाँच दिदीबहिनीमध्ये लता जेठी हुन्। उनका बहिनीहरू मिना, आशा, उषा र हृदयानाथ सबै संगीत क्षेत्रमै संलग्न छन्। आशा र उषा गायक हुन् भने मिना र हृदयानाथ संगीतकार।
उनले केही हिन्दी फिल्ममा पनि अभिनय गरिन्। सन् १९४५ मा हिन्दी फिल्म ‘बडी माँ’मा उनले सानो अभिनय गरेकी थिइन्। त्यसमा अर्की प्रख्यात गायिका नूर जहाँले पनि अभिनय गरेकी थिइन्। यी दुई गायिकाबीचको दोस्ती जीवनपर्यन्त रह्यो। उक्त फिल्ममा लताले ‘माता तेरे चरणो मेँ’बोलको गीत गाएकी थिइन्।
सन् १९४८ मा उनले ‘मजबूर’ र ‘जिद्दी’मा पनि गीत गाइन्। सन् १९४९ मा प्रदर्शन भएको फिल्म ‘महल’ मा सम्मिलित गीत ‘आएगा आनेवाला’ले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो।
प्रतिक्रिया दिनुहोस्