18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

विद्याकी खानी सरस्वतीको महिमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २३, २०७८  

एकराज शर्मा ।

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी हंशवाहनसंयुक्ता विद्यादानं करोतुमे । प्रथमं भारती नाम द्धितीयञ्च सरस्वती । तृतीयं शारदा देवी चतुर्थ हंशवाहिनी पचमं तु जगन्माता षष्ठं वागीश्वरी तथा सप्तमं चैव कौमारी अष्टमं वरदायिनी नवमं बुद्धिदात्री च दशमं ब्रहचारिणी एकादशं चन्द्रघण्टा द्धादशं भुवनेश्वरी द्धादशै तानि नामानि त्रिसन्ध्यं पठेन्नरः जिव्हाग्रे वसते तस्य ब्रहरुपा सरस्वती ।।।

वास्तवमा सनातन हिन्दुहरको एक विशेष पर्व तथा मानवीय जीवको मुखमा अवस्थित जीब्रोको टुप्पामा बस्ने मानवीय जीवनलाई यथार्थमुखी बनाउने एक मात्र आराध्यदेवी विद्याकी खानी देवीमाता हुन् सरस्वती । उनको माघ महिनाको बसन्तपञ्चमीको दिन सृष्टिको प्राम्भिककाल वा सत्ययुगमा जन्म वा उत्पति भएको थियो ।

उक्त दिन आम विद्यार्थी लगाएत विद्याकी खानीमा विश्वास राख्ने जो कोही व्यक्तिले उनको एक विशेष विधिपूर्वक पुजाआजा तथा आराधना गर्ने काम गर्दछन् । यो पर्व हरेक वर्ष माघ शुक्ल पञ्चमीको दिन पर्ने गर्दछ ।

यो वर्ष बसन्त पञ्चमी २०७८ साल माघ २३ गतेका दिन परेको छ । यसको ऐतिहासिक चर्चा गर्ने हो भने यसको आराधनाको चर्चा गर्दा सृष्टिको प्राम्भिक वा प्राचीनकालमा भगवान बिष्णुको आज्ञाले भगवान ब्रह्माजीले जीवहरुको सृष्टि गरेका थिए । जसमा बिशेष गरी मनुष्य योनीको रचना गरिएको थियो ।

एकराज शर्मा ।

मनुष्य योनीको रचना पश्चात भगवान ब्रहजी खुशी नभएको अवस्था देखिन गएको थियो । किनकी ब्रहजीको चिन्तनमा एक कुराको कमी भएको महशुस भएको थियो । सोही चिन्तनको कारणले भगवान बिष्णुको अनुमति लिएर ब्रहजीले आफ्नो कमण्डलुबाट थोरै जल निकालेर उक्त जल यस सृष्टि वा पृथ्वीमा फालेका थिए । उक्त जल पृथ्वीमा पर्ने बित्तिकै पृथ्वी मातामा निकै डरलाग्दो तरिकाले कम्पन उत्पन्न भएको थियो । त्यस पश्चात वृक्षहरुकाबीचमा एक फरक तथा अदभूत खालको शक्तिको उत्पत्ति भएको थियो ।

त्यो थियो फरक तर अद्भूत खालकी नारी वा देवी प्राकट्य एक चतुर्भुजी सुन्दर स्त्रीको उत्पत्ति भएको थियो । उनको एक हातमा वीणा तथा अर्काे हातमा मुद्रा रहेको थियो । अन्य दुई हातमा भने पुस्तक तथा माला रहेका थिए । सोही बखत भगवान ब्रहजीले ती देवीसँग वीणा बजाउने अनुरोध समेत गरेका थिए । जब ती देवीमाताले वीणाको मधुरनादको स्वर बाहिर प्रस्फुटन गरिन् उक्त समयमा संसारमा रहेका विविध खालका समस्त जीव, प्राणीहरुलाई एक्कासी शाश्वत वाणी प्राप्त भएको थियो ।

नदीनाला, समुन्द्रमा एकाएक आवाज वा कोलाहल प्राप्त भएको थियो भने हावामा पनि एक खालको सरसर आवाजको प्रादुर्भाव भएको थियो । त्यसपछि भगवान ब्रहजीले ती देवीमातालाई विभिन्न नामले परिचित गराएका थिए । ब्रहजीले ती वाणीकी देवीलाई वाणीकी देवी सरस्वती भनी नामाकरण समेत गरेका थिए ।

पछि धर्मशास्त्रहरुले ती सरस्वती मातालाई बागीश्वरी, भगवती, शारदा, वीणावादिनी तथा वाग्देवी, सरस्वती, शारदा, जगत्माता, कौमारी, वरदायिनी र कामधेनु आदि नामले चिरपरिचत गराएका छन् ।

आज हामीले पनि ती नामले उनको बिशेष खालको पुजाआजा गर्दै आएका छौं । उनी माता विद्या तथा बुद्धि दातृ पनि हुन् । उनीबाट नै आजको समाजमा प्रयोग गरिने गित तथा संगीतको उत्पत्ति भएको थियो । जसको फलस्वरुप आज सरस्वती मातालाई संगीतकी देवी पनि भन्ने गरिन्छ । आज संसारमा प्रयोग गरिने स्वर, सङ्गीत, ताल लयकी श्रोत (सा रे ग म प द नि सं) देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीका माधुर्य, गला एवम् कलाको निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने माताको रुपमा सरस्वतीलाई लिने प्रचलन छ । त्यसकारण पनि उक्त दिन माता सरस्वतीलाई विभिन्न आराधना एवम् पूजा अर्चना गरेर मनाउने काम गरिन्छ ।

श्रीपञ्चमीका दिन कामदेव र रतिको पनि सँगसँगै पूजाआजा गरिन्छ । कतिपय ठाउँमा बसन्तका प्रतिकदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन आगमन उत्सव बसन्तराग गाउने पनि चलन रहेको छ । कला र गलाका पारखीहरुका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी भनौं बसन्त पञ्चमी नै हो । जीवलाई फरक रुपमा श्रृङ्गारीक बनाउन बसन्त रागले प्रेरणा दिन्छ । काव्य विनोद, श्रष्टा, सर्जक, कलाका साधनाहरुको श्रोत नै हो ।

यस दिन सरस्वतीको जन्मोत्सव भएकाले उक्त दिन विद्याकी खानी सरस्वतीको आराधना गर्ने काम विद्यालय तथा विश्वविद्यालयमा मात्र होईन की विद्या प्राप्त गर्ने वा प्रदान गर्ने सरकारी तथा गैरसरकारी शिक्षण संघ संस्थाहरुमा धुमधामसँग मनाउने प्रचलन छ । विद्या प्राप्त गर्ने वा गरेका आम व्यक्तिहरुले घर घरमा र सरस्वती मन्दिरमा गएर सरस्वतीको तस्बिर तथा आफ्ना पाठ्यपुस्तक लगायत कलम कपीहरु राखेर पनि पूजाआजा गर्ने काम गरिन्छ । हाम्रो बुद्धि प्रज्ञा तथा मनोवृत्तिहरुकी खानी वा संरक्षिकाको रुपमा सरस्वतीलाई सम्झने काम मात्र होईन हरेक मानवीय जीवनको श्वास प्रश्वासमा स्मरण गर्दछौं र गर्न आवश्यक छ ।

न चोरले चोर्ने न त राज हर्ने न अंश लाग्ने न त भारी हुन्छ । विद्या ठूलो यो धन यो समानको अर्काे कुनै छैन भनेर ठान । विद्या भए दिन्छन् खान सारा विद्या भए हुन्छौं हामी प्यारा । लौ पैसा जाउ पढ्ना त कसैले भन्दैन पढ्नमा आफैले कोशिस गर्नु पर्दछ । यो भनाईका तात्पर्य पनि यहि सरस्वती माताको आराधनाको कारण आएको हो । यहि कारणले आजको २१ शताब्दिका मानिसहरुले ज्ञानको घमण्ड गर्न थालका छन् । विद्या संसारको त्यो चिज हो जो जति अरुलाई बाँड्ने काम गरिन्छ । त्यति नै बढ्ने काम गर्दछ । यो त्यहि सरस्वती माताको आराधनाको फलस्वरुप प्राप्त हुने गर्दछ । हामीमा जो आचार र मेधा छ त्यसको आधार भगवती सरस्वती नै हुन् ।

यीनको समृद्धि तथा स्वरुपको वैभव अद्भुत छ । उत्साह, लगनशिलता तथा अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी हुन् । उनी यसैमा रमाउने अनि निकै खुशी समेत हुने गर्दछिन् । मानवीय जीवनको लागि सबैभन्दा उत्तम धन भनेको विद्या नै हो । विद्याहीन व्यक्ति भाग्यबाट निकै टाढा रहन्छ र रहने गर्दछ तथा रहेको पनि छ । मानिसमा नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरु हुन् । सरस्वती माताबाट ज्ञान, बुद्धि, संयम तथा विवेक प्रदान गर्ने काम गरिन्छ । सरस्वती देवीलाई कृपा स्वरुपको प्रसादबाट नै मानवीय जीवनमा अति आवश्यक तथा बुद्धि र विवेकको आधार प्रदान गर्ने गरिन्छ ।

जसको कारण आजको २१ औं शताब्दिमा ज्ञान तथा विज्ञानमय संसारका हुन गएको छ । आजको ब्रमान्डमा यन्त्र, विज्ञान, औजार तथा मेसिनयुक्त सुविधाजनक आधारहरु समेत उनको आर्शिवादको कृपा हो । जहाँ विद्याको प्रयोग गरेर वा बुद्धि तथा विवेकको प्रयोग गरेर नै त्यसखालको विकास भएको हो । हिन्दु धर्मशास्त्र अनुसार उक्त दिन संस्कार, सभ्यता तथा संस्कृतिकी देवी एवम् महादेवी, जयन्तीदेवीको उत्सव मनाएर आफ्ना अभिभावकले छोराछोरी वा बालबालिहरुको नाक, कान छेड्नेदेखि अक्षर शुभारम्भ गर्ने काम गर्दछन् । उक्त दिन बालबालिकाहरुलाई यतिमात्र होईन विद्यालय औपचारिक शिक्षाको सुरुवात समेत गराउने काम गरिन्छ ।

यस दिन अक्षर आरम्भ गराउँदा आफ्ना छोराछोरीले राम्रोसँग शिक्षा प्राप्त गर्नुका साथै शुभ दिनको महशुससमेत गर्ने प्रचलन हिन्दु धर्मशास्त्रमा मात्र होई विभिन्न धर्मशास्त्रले चर्चा गरेका छन् । जस्तो की बौद्ध धर्मशास्त्रमा आस्था राख्नेहरुले उक्त दिन माता सरस्वतीलाई फरक (मन्जुश्री) को नामले पूजाआजा गर्ने गर्दछन् । यस दिन कुनै पनि नयाँकाम गर्नका लागि शुभसाइतको आवश्यकता नपर्नेसमेत हिन्दू धर्मशास्त्रमा उल्लेख छ । बसन्त पञ्चमी वा श्रीपञ्चमीको दिन बिहान उठ्ने । नुहाई नित्य पूजा कर्म गर्ने । त्यसपछि विभिन्न सामाग्रीहरुको व्यवस्थापन गर्ने ।

यसको लागि सामान्यतया दही, घ्यु, मह, चिनी, विभिन्न नैवेद्यहरु, पक्वान्न, मिठाई, कपुर, ब्रस वा कपडा, भेटी, चन्दन, बास्नयुक्त चिजहरु, अगरबत्ति, धुपबत्ति, बेल, लड्डु, पञ्च अमृत, केशवरी पहेंलो रंग, विभिन्न पुष्पहरु लगायत सेतो, रातो, पहेंलो पुष्पमालाबाट पूजाअर्चनाको काम गरिन्छ । विद्यार्थीहरुले मन्दिर गएर मात्र पूजाआजा गर्ने भन्ने मात्र होइन कि घरमा बसेर सरस्वतीको आराधना गर्ने र विद्याको पराक्रमको आधार एवम् ज्ञान प्राप्त गर्नका लागि तत्पर बनाइदिन र जीवनमा सफलता प्राप्त गर्न सरस्वती मातासँग शुभ आर्शिवाद समेत माग्ने काम गर्दा हुन्छ ।

विद्याकी देवी सरस्वतीलाई विभिन्न व्यक्तिहरुले विभिन्न तवरले पूजाआजा तथा आराधना र अर्चना गर्ने काम गर्ने प्रचलन छ । उनलाई आम बुद्धिजीवीहरुले आफुमा विशेषज्ञता प्राप्त होस भनेर विशेष पूजाआजा गर्दछन् भने बालबालिकाहरुले ज्ञानको ढोका सफल होस भनेर र आरम्भ गर्नेहरुले ज्ञानको बाटो आनन्दले तयार होस् भनेर आराधना गरेको पाईन्छ । सरस्वतीको वाहन हाँस हो उक्त वाहनले दुध तथा पानी सजिलै छुट्याउँने काम समेत गर्दछ । यो भनेको ठिकबेठिक वा सही वा गलत रुपमा सहजरुपमा राख्ने निर्णय गर्नु हो ।

सरस्वती माताको आराधना गर्नका लागि निकै खर्चिलो छैन र गर्नु पनि पर्दैन । बसन्त पञ्चमीका दिन सरस्वती माताको आराधना गर्नले विद्या तथा बुद्धि समेत बढ्ने विश्वास छ । यही विश्वासको आधारमा श्रद्धालु भक्तजनहरुको उत्साहजनक उपस्थिती मठ मन्दिरमा हुने गरेको छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले विद्या तथा सिर्जनको स्वरुप प्राप्तिको लागि आराधना गर्ने काम गरिन्छ ।

उक्त दिन विशेष गरी शिक्षक, विद्यार्थीहरु, कलाकार, पत्रकार, आ–आफ्ना कलाका साधनहरुको प्रयोग गर्ने व्यक्तिहरुले आफ्नो कापी, कलम, संगीतका साधन, वाद्यवाधन पुस्तक राखेर पूजाआर्चना गर्ने परम्परा रहेको छ । तर कतिपयले तन्त्र तथा सिद्धिकको लागि तारादेवीका रुपमा आराधना गर्ने प्रचलन समेत रहेको छ । विद्यार्थीहरुलाई चेतनाको स्तोत्र पढ्न लगाउँदै विद्याकी खानी सरस्वती मातासँग विद्या तथा सद्बुद्धिको वरदान समेत माग्ने गरिन्छ ।

सरस्वतीको लागि चढाएका सातगेडा शुद्ध खालका अक्षताको दाँतले नछोएर निलेमा विद्या तथा बुद्धि सफुरण भएर विद्याकी खानीबाट चेतनाको ज्योती प्राप्त गर्न सकिने प्रमाण हिन्दु धर्मशास्त्रमा उल्लेख गरिएको छ । नेपालको हकमा सरस्वतीका प्रशिद्ध मन्दिरहरुमा काठमाण्डौंको जय बागीश्वरी, स्वयम्भू, मञ्जुश्री, हाँडीगाउँ, बल्खु, ललितपुरको लेले, गैह्ीगाउँ, हाँडीगाउँ भक्तपुरको थाकल माठ, हनुमान घाटको नील सरस्वतीमा गएर विशेष खालको पूजाआजा गरिन्छ ।

निष्कर्षमा सरस्वतीको पूजाआजाबाट मात्र सरस्वती प्रशन्न हुने होइन । उनी प्रशन्न हुने भनेको त हरेकदिन आफुसँग भएका पाठ्यपुस्तकको अध्ययनबाट मात्र हो । हरेक दिन उनको जति नै पूजाआजा तथा आराधना गरेतापनि उनी कहिल्यै प्रशन्न हुने काम गर्दिनन् । हामी अध्ययनशिल विद्यार्थीको काम के–हो भने उनको महिमा गाउनुका साथै अध्ययन कार्य, खोज तथा अनुसन्धान कार्य, पहिचान कार्य, अन्वेयषण कार्य नै हो यही कार्य नै वास्तविक सरस्वतीको आराधना हो । धर्मशास्त्रले पनि आज यही आधारलाई प्रमाणित गर्न खोजेको छ ।

पाठ्यपुस्तक फिटिकै अध्ययन नगर्ने, कुनै पनि अध्ययनमा चासो नदिने, खोज, अनुसन्धानमा चासो नराख्ने तर हरेक दिन सरस्वतीको आराधना गर्छु भनेर त झन् उनीले आर्शिवाद होइन कि रिसाउने वातावरणको सिर्जना हुन्छ । त्यसकारण आजका बुद्धिजीवी, विशेषज्ञ, वैज्ञानिक, प्राध्यापक, शिक्षक, अध्ययनरत विद्यार्थी, खोजकर्ता, विद्यालय तथा विश्वविद्यालयका संघसंंस्था लगायतले आजका बालबालिकालाई यसखालको ज्ञान प्रदान गरेर चेतना प्रदान गर्नु आवश्यक छ ।

मेहनतको फलमा मात्र सरस्वतीमाताको बसाई हुने वा उनी निकै प्रशन्न हुने भएकोले हामी सबै अध्ययनशिल हुनु पर्दछ । यस कार्यमा हामी सबैको लगाव चाहिन्छ अनि मात्र आराध्यदेवी, जनजीब्रोकी खानी, वीणा पुस्तक धारिणी देवी माता, धन तथा मनकी खानी, संगीत प्रेमी तथा संगीतमय देवी, गला एवम् कलाकी खानी सरस्वतीको आराधाना बसन्त पञ्चमीको दिन गरिन्छ र गर्नु आजको आवश्यकता छ उक्त दिन नेपाल सरकारले नेपालका सबै शिक्षण संघसंथालाई सार्वजनिक विद्या दिने काम गरेको छ त्यो पनि सरस्वतीको आराधना गर्नका लागि हो ।

(लेखक मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङ्कन विभागका विभागीय प्रमुख साथै वैष्ण धर्म परिषद् नेपाल बाँकेका सचिव समेत हुन् ।)

प्रकाशित मितिः आइतवार, माघ २३, २०७८     6:46:35 AM  |