विवाह भएकै दिन बेहुली सुनचाँदी बोकेर अर्कैसँग टाप भएको घटना सामान्यतया सुनिँदैन । तर भारतको मध्य प्रदेशस्थित जबलपुरमा यस्तै घटना भएको छ ।
छिंदवाडा निवासी दशरथ पटेलसँग विवाह गर्दै संगीता अहिरवार ‘रेणु’ले मण्डपमा ७ पल्ट परिक्रमा गरिन् । अदालत परिसरमा भएको धार्मिक कार्यपछि बेहुला–बेहुली विवाह दर्ताका लागि अदालततिर लागे ।
तर बेहुली रेणु अकस्मात मोटरसाइकलबाट ओर्लिइन् र अर्कै मोटरसाइकलमा चढेर टाप कसिन् । विवाह गर्दा लगाएको सुनचाँदी र नगद पैसा बोकेर रेणु प्रेमीसँग फरार भएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रेणु भागेपछि बेहुला पक्षका व्यक्ति र वकिलहरूले रेणुकी आन्टी अर्चनालाई घेरेर प्रहरीको जिम्मा लगाए । अर्चना प्रहरी हिरासतमा पुगेपछि रेणु समेत प्रहरी कार्यालय आएकी थिइन् ।
सोधपुछका क्रममा रेणुले गत २ वर्षमा ६ जनासँग विवाह गरिसकेको खुलासा भएको छ । विवाहको नाटक गर्दै रेणुले सुनचाँदी र नगद पैसा लुट्ने गरेको पाइएको छ ।










प्रतिक्रिया दिनुहोस्