श्री स्वस्थानी प्रमेश्वरीकोे महिमा



श्री स्वस्थानी प्रमेश्वरीको उपासना गर्न पुस शुक्लपक्षको पूर्णिमादेखि माघ शुक्लपक्षको पूर्णिमाका दिनसम्म शास्त्रमा लेखिएको विधिअनुसार गर्नु र गराउनु पर्दछ । यो एक महिने व्रत हो । यो व्रतको उपासना आजभोलि हिन्दू धर्मालम्बीहरुको घरघरमा चलिरहेको छ ।

लेखकः एकराज शर्मा

स्वस्थानी प्रमेश्वरीको उपासना (व्रत र पूजा) एवम् महात्म्य कथालाई शुद्ध तथा धार्मिक एवम् पौराणिक दृष्टिकोणले मात्र हेरिएको छ । तर यो कथा त्यसखालको कथा भने होइन । यो त आजको समयमा निकै अनुकरणीय कथाको रुपमा छ । सनातन हिन्दू धर्ममा आस्थावान् हुने मानिसका लागि मात्र नभइ अन्य धर्ममा आस्थावान् मानिसहरुमा पनि त्यतिकै आवश्यक तथा व्यवहारिक छ । आजको सन्दर्भमा यस महिमाको चर्चा गर्नु आवश्यक छ ।

यस कथामा महादेव, पार्वती, सतिदेवी, विष्णुु, प्रजापति, दक्ष प्रजापति आदि देवताहरुको चर्चा गरिएको छ । यस कथामा उनीहरुले जे गरे पनि हुने कुराको समेत वर्णन मात्र गरिएको छैन कि आवश्यकताअनुसारको काम अनि आस्थाको समेत चर्चा गर्न खोजिएको छ ।

कथामा उल्लेखित कार्यहरु सबै ईश्वरीय देन हुन् र यिनीहरुले मात्र यो संसारको अस्तित्वलाई अड्याएका छन् भन्ने ज्ञान मात्र नभइ उनीहरुका काम तथा कुराको सदाझै अनुशरण गर्न पनि सकिँदैन भन्ने कुराको सन्देश पनि दिन खोजिएको छ । यसका लागि हामीले अरु कुराको चर्चाभन्दा पनि उनीहरुको महिमा, आराधना तथा पूजाआजाको माध्यमबाट मात्र हेर्न र चर्चा गर्न सक्दछौं । जसलाई आजको वर्तमान समयसँग समायोजन गर्दै वा अनुकरण गर्दै अंगीकार गर्ने ज्ञानको समेत चर्चा गरिएको छ ।

खासगरि यस कथामा लेखिएका कामहरु आजभोलिका कथा, कहानी तथा उपन्यासमा लेखिएका जस्ता मात्र हुन् । किनकी त्यसखालका अतिशयोक्तिले भरपुर मात्रामा अव्यवहारिक तथा अनुपयोगी जस्ता देखिन्छन् । यसखालको काममा लगाउने र लगाइने धन, श्रम तथा समयबाट प्रत्यक्ष लाभान्वित हुने भने देखिँदैन । तर पनि मानिस चाँहि पूर्णरुपमा भौतिकवादी हुनु पनि अव्यवहारिक नै हो भन्ने कुरालाई भने प्रष्ट पार्न खोजिएको छ ।

आजको २१औँ शताब्दिमा भौतिक किसिमको उन्नतिका लागि मानिस असलखालको काममा लाग्नु पर्दछ । असल काम, सकारात्मक सोंच तथा चिन्तन र धार्मिक विश्वासले मानिसलाई असल, चरित्रवान् बनाउने गर्छ । किनकी मानिसले असल कामको निधो गरेर आफ्नो तन, मन र धन दिँदै एकोहोरोरुपमा लाग्दा सायद सफलताको शिखरमा पुग्न पनि त गाह्रो छैन भन्ने आधारमा कसैको फरक मत नहोला । यसका लागि मानिसले स्थिर मन, दृढ संकल्प र निरोगी शरीरतर्फ ध्यान दिनु अनिवार्य हुन्छ ।

तर अस्थिर मन तथा रोगी र मनोरोगीबाट कुनै पनि काम सफलरुपमा सम्पन्न गर्न सकिँदैन । यो वास्तविक तथा वैज्ञानिक तर्क पनि हो । मानिसले मनलाई स्थिर तथा शरीरलाई स्वस्थ राख्न सकेमा मात्र आध्यात्मिक काम कुरामा मन जाने गर्दछ ।

जुन सफलताको बाटो पनि हो । त्यसैले प्रस्तुत काम कुराको उपयोगी पक्षको व्यवस्था गर्दै भौतिकवादी दृष्टिकोणको आधारमा अनुपयोगी छ भन्नु वास्तविकताबाट टाढा रहनु हो । तर हामीले जति नै ज्ञान प्राप्त गरे पनि वा जति नै भौतिकवादी हु भनेर सिद्धान्तलाई फ्याके पनि आपतविपतमा ‘हे ईश्वर’ भन्न छाडेका हुँदैनौं । त्यस कारण पनि हामीलाई प्रमेश्वरले सबै चिज दिनुहुन्छ भनेर हातहरु माथि राख्दै अन्य क्रियाकलाप नगरेर वा परिश्रम नगरेर पनि त ईश्वरले हामीलाई खाना दिने होइन यो त तितो यथार्थ वा भोगाइसँग सम्बन्धित छ ।

यसमा त मानिसले सानो सानो परिश्रम गर्दै कडा मिहिनतको साथमा मात्र सफलता हात पारेको हुन्छ भन्ने सवालमा कसैको पनि फरक मत
रहँदैन । यसका लागि मानिस परिश्रमी, मिहिनती, काममा समर्पित तथा क्रियाशील हुनुपर्छ । यो नितान्त आवश्यक पक्ष पनि हो । त्यसैले कुनै पनि आध्यात्मिक विचारले मानिसलाई घरमा बसेर खाना दिन्छ वा खाना पुग्दछ भनेर भन्न खोजेको छैन ।

यसको प्रमाण स्वयम् मानिस आफैँ हो । यसका लागि नास्तिक हुनु पर्ने पनि हुँदैन । स्वस्थानी प्रमेश्वरीको महिमा तथा कथाको विषयलाई चर्चा गर्दा यस कथामा कैयन शिक्षाप्रद, उपयोगी र व्यवहारिक ज्ञानहरु प्राप्त गर्न सकिन्छ । यसलाई जानेर, बुझेर अनि अंगीकार गरेर मात्र अनुकरण गर्नु आवश्यक छ ।

यसको अर्थबाट हामीले हाम्रो व्यवहारिक जीवनमा सहजै परिवर्तन ल्याउने सक्ने आधार यस कथाको सार छ । यस कथाको श्रवणले मानिसका पञ्च ईन्द्रियलाई एकाकार, समर्पित, संयम्, स्थिर तथा शान्त पार्ने काम गर्दछ ।

यसले मानिसलाई निरोगी, परोपकारी, ज्ञानी, चरित्रवान्, आज्ञापालक, दयालु मर्यादित, आध्यात्मिक, कर्तव्यपराण, धर्म परम्पराप्रतिको आस्थामा समर्पित, बाबुआमाप्रतिको कर्तव्यपालन, सानालाई माया तथा ठूलालाई आदरसम्मान, पतिपत्नीप्रतिको कर्तव्य तथा सुमधुर सम्बन्ध र दाम्पत्य जीयवनको सुखसयपनलाई चर्चा गर्दै आवश्यक जोडमूलक ज्ञान दिएको छ । यसले पारिवारिक जीवनलाई सुखी तथा खुसी बनाउन प्रेरणदायी भूमिकासमेत खेलेको छ ।

यो कथा आधुनिक समयको कथा, उपन्यास, कहानी तथा सिनेमामा प्रेमी पे्रमिकाको जस्तो होइन । यस कथाले एक अर्काप्रतिको त्याग, तपस्यालगायत बलिदानी गर्ने प्रेमप्रेमिका लागि उत्पे्रणादयी छ । यो कथाले संसारमा दाम्पत्य जीवनयापन गरिरहेका पतिपत्नी बीच अमर प्रेमको कथालाई समेत समेटेको छ ।

प्रेममा फसेका तर विविध कारणबाट प्रेमलाई सफल बनाउन नसक्ने जोडीको लागि यो निकै भावुक तथा अति प्रेरणादायी कथा हो । यो पति र पत्नी बीचको अनुपम तथा अमर प्रेमको अनुरागको रुपमा रहेको कथा पनि हो । यो समसामयिक विषयवस्तु तथा आधुनिक समयमा पनि निकै उपयोगी कथाको रुपमा रहेको छ ।

यस कथामा महादेवले निकै कष्ट भोगेर आफ्ना ससुराको अपमानमूलक शब्दलाई सुनेर पनि आफ्नो प्रेमकी रानी सत्यदेवीलाई प्राप्त गरेका छन् । उता सत्यदेवीले पनि आफ्ना पति महादेवको स्याहारसुसार गर्ने तथा आदरपनको भावनाबाट प्रेरित थिइन् । त्यसखालकी प्राणप्यारी सत्यदेवीले आफ्ना सहोदर पिता दक्ष प्रजापतिको अपमानजनक शब्द तथा बोलीको कारण अश्वमेघ महायज्ञमा होमिन बाध्य भइ प्राणसमेत त्याग गरेकी छन् । यो घटनाको कारण महादेव पनि पागल नभएका भने होइनन् । महादेवले आफ्नी प्यारी सत्यदेवीको मृत लासलाई काँधमा राखेर बोक्दै पागलस्वरूप शरीर बनाई सयांै वर्षसम्म यस सृष्टिमा घुमेर रहे ।

उनकी प्राण प्यारी पत्नी सत्यदेवीको लाश पूर्णरुपमा कुहिएर र झरेर गए पनि महादेवलाई कुनै वास्ता तथा आभाष थिएन । ज्ञान पाएर पनि पत्नी वियोगबाट दुखी भएका र विरक्त भएका महादेव उत्तरापन्थमा गइ तपस्या गर्दै लिनसमेत भएको घटना छ । यसमा महादेवको पत्नी प्रेमको ज्ज्वलन्त उदाहरण रहेको ज्ञान छ । महादेवलाई सम्झिएर उहाँको नाम उच्चारण गरेर मात्र यज्ञको अग्नि कुन्डमा हामफाल्नु सत्यदेवीको पति प्रेमको नमुना देखिएको छ । पछि पार्वतीको तपस्याको कारण दोस्रो जुनीमा सत्यदेवी पार्वतीको रुपमा स्वरूप भएर महादेवलाई पति पाउनको लागि निकै तपस्या तथा दुःख गरेकी छिन् ।

विवाहपछि महादेव तथा पार्वतीले जुवा खेल्ने, कहिले किराँत किराँतिनी, कहिले मृग मृगीनीको भेषमा घुम्नु दाम्पत्य जीवनको एक अनुपम उदाहरण हो । यसलाई अहिलेको भाषा वा चलनमा हामीले हनिमुन भन्दै आएका छौं । पार्वती र महादेवको त्यो खेल पनि यस्तै हनिमुन जस्तो रहन गएको घटना छर्लंग पारिएको छ । त्यसकारण पनि यसखालका कुरालाई एकोहोरो आध्यात्मिक दृष्टिबाट मात्र हेरिनु आजका मानवको कमजोरीको आधार हुन जान्छ । प्रस्तुत कार्यले आप्mनी पत्नीलाई खाना लगाउन नदिने, दुःख दिने, अर्की पत्नी ल्याउने पति र आफ्ना पतिसँग सदाझै झगडा गर्ने, खराब सोंच राख्ने नारीहरुका लागि यो कथा अनुपम उदाहरणीय ज्ञानका रुपमा रहेको छ ।

यस कथामा महादेवले कयांै तरिकाबाट धेरैपटक सत्यदेवी र पार्वतीको परीक्षा लिएका छन् । महादेवले सधैं भाङ धतुरो खाने काम गर्दथे । उनी समय समयमा रिसाउने पनि गर्दथे तर पनि पार्वती कहिल्यंै रिसाउने काम गरिनन् । बरु उनी आफ्ना पतिको सेवाभावमा गर्ने काममा तत्पर रहेकी छिन् । उनी ठूलो कष्टद्वारा परीक्षामा सफल पत्नीका रुपमा सावित भएकी नारी हुन् ।

यसबाट के स्पष्ट छ भने आजको २१औँ शताब्दिको नारीलाई यस ज्ञानले प्रेरणा प्रदान गरेको छ । यस कथाले मानिस मर्यादामा रहनु पर्ने, अर्काको विश्वासघात तथा अरुको आकांक्षाविपरीत कामहरु गर्न नहुने कुरामा जोड दिएको छ । महादेवले पार्वतीलाई यो भनेका छन् कि पार्वतीका आमा बाबाले कन्यादान नदिएसम्म आफ्नो पत्नीका रुपमा स्विकार गर्न सकेका छैनन् ।

यसबाट के स्पष्ट छ भने कुनै पनि मानिसले आफ्नो मर्यादालाई कुल्चन हुँदैन भन्नेखालको ज्ञान दिएको पाइन्छ । विश्वासमा परेर शरणमा परेकाहरुलाई विश्वासघात गर्नु, इच्छाविपरीत काम गर्नु राम्रो नभएको ज्ञान यसले प्रदान गरेको छ । यस कथामा भगवान बिष्णुुले विवाह गर्न चाहेकी पार्वती हुन् । तर पार्वतीले भने महादेवसँग विवाह गर्न चाहने भएकोले यसलाई सफल पार्न उपाय बताइदिनको लागि भगवान् बिष्णुुसँग आफ्नो शरणमा परेकी पार्वतीलाई महादेव स्वामी पाउने उपाय बताएको भगवान् बिष्णुको ताजा व्यवहार छ ।

तर आजका युवायुवतीहरु आफूले मन पराएकी नारीलाई अरुले मन पराएमा ज्यानसमेत लिन पछि पर्दैनन् । बिष्णुलाई छोरी दिन चाहने हिमालयले पार्वतीको इच्छाअनुसार उनको विवाह महादेवसँग गरिदिएका छन् । यसबाट के भन्न सकिन्छ भने आजका छोराछोरीलाई उनीहरुको इच्छाबेगर गएर विवाह गरिदिने परिपाटीको अन्त्य भएको छ । आमाबाबुको इच्छाबेगर वा थाह नदिएर विवाह गर्ने छोराछोरीको लागि पनि यो कथा अनुकरणीय छ ।

आफ्ना मान्यजनको आज्ञालाई बेवास्ता गर्दै जीवन असफल हुने कुरा महादेवले सत्यदेवीको पिताको अश्वमेघ यज्ञमा नजानको लागि गरेको अनुरोध सावित छ । यसलाई महादेवको आज्ञालाई पालना नगरेको कारण सत्यदेवीको अकालमय मृत्यु भएको घटनाले प्रमाणित गरेको
छ । घमण्ड गरेर देवीदेवता तथा ठूलावडाको अपमानको कारण दक्ष प्रजापतिको जस्तो दुर्घटना भोग्नु पर्ने बाध्यता हुन सक्छ । किनकी आजको संसारमा अर्काको पत्नीलाई ताक्न खोज्दा अर्काले आफ्नी पत्नीलाई ताक्नसमेत पछि नपर्ने हुन्छ ।

जुन विनाशको अनुपम उदाहरण पनि हो । यस कथामा आफूले पार्वतीलाई छल्न खोज्दा बिष्णुुले आफ्नी पत्नी वृन्दाको सतीत्वहरण गरेको तथा खराब पतिको कारण पत्नीले गलत फल भोगेको पाइन्छ । यसमा जालन्धरको कारण पत्नीको सतित्वहरण भइ जालन्धर तथा उनकी पत्नी वृन्दाको समेत विनाश भएको घटना रहेको छ । यसबाट के भन्न सकिन्छ भने पतिको खराब सोचको कारण पत्नीले दुःख भोग्नु पर्ने परिस्थति रहन्छ ।

जालन्धरकी पत्नी वृन्दा ज्याँदै पतिव्रता थिइन् । त्यस कारण पनि जालन्धर अजय थियो । उसले भगवती पार्वतीलाई ताक्यो र देवताहरुलाई पनि दुःख दिने काम गरेको थियो । जालन्धर अत्याचारी र दूराचारी भएको कारणले गर्दा नै उसलाई मार्नु पर्ने अवस्थाको सिर्जना भएका हुँदा उसकी पत्नी वृन्दाको सतित्वलाई हरण गर्नु पर्ने परिस्थतिसमेत बनेको हो ।

यसलाई बाध्यतावस भगवान् बिष्णुुले वृन्दाको सतित्वहरण गर्ने काम गरेका थिए । त्यस कारण पनि स्वयम् भगवान् त भाग्यको फलमा रहेका छन् भने हामी त मानव हो हामीले ठूलाबडाको भनाइलाई सधैं अंगीकार गर्नु पर्दछ । भगवान् बिष्णुुले वृन्दामा गरेको पापको फलस्वरूप उनीलाई श्राप र पाप लागेर कुश, तुलसी, पीपल र शालिग्राम भएको घटनाले पुष्टि गरेको छ । यो के शिक्षामुखी ज्ञान नभएको शास्त्रात्मक कथा होइन ?

पतिलाई नै सर्वेसर्वा ठान्ने स्त्रीहरु, पत्नीलाई देवी र गृहलक्ष्मी ठान्ने पुरुषहरु, गोमाजस्तो पतिले छोडेका अनि विधवा नारीहरु, गर्भावस्था तथा सानैमा बाबु गुमाएका नवराज जस्ता छोराहरुका लागि स्वस्थानी व्रत कथा आफैँमा आधारमूलक कथा बनेको छ । यो कथा त्यसखालका व्यक्तिहरुका लागि सहारा, चित्त बुझाउने, प्रेरणादायी भावयुक्त अनुकरणीय माध्यम भएको छ ।

त्यसैले गर्दा संसारमा रहेका हरेक स्त्री तथा पुरुषले श्री स्वस्थानी प्रमेश्वर तथा महादेवको उपासना, पूजा आराधाना तथा स्वस्थानी व्रत कथाको पठन तथा श्रवणगरी गराई यसमा उल्लेख गरिएको शिक्षामूलक ज्ञानलाई चिन्तन, मनन र अनुशरण गर्र्दै मानवीय जीवनमा दैनिकरुपमा अंगीकार गरी आफ्नो जीवनलाई सुखी तथा खुसी बनाउन नितान्त आवश्यक छ ।

निष्कर्षमा भन्नु पर्दा मानिसलाई दाम्पत्यप्रेम बढाउने, पारिवारिक सुखसयलमा लैजाने, भाईबन्धु, कुटुम्ब, आफन्त, ईष्टमित्रसँगको दरिलो भेटघाट गराउने, प्रदेश गएका आफन्त तथा सदस्यहरुलाई फर्काउनको लागि पहल गर्ने, आफ्नो परिवारको सदस्यहरुमा स्नेह, माया, ममता, आदर, सम्मानको अभिवृद्धि गर्ने कामको लागि आजका मानवका लागि यो कथा अनुकरणीय बनेको छ ।

शरीरलाई स्वस्थ राख्न, इन्द्रियलाई संयमित तथा मनलाई शान्त पार्न, जीवनलाई सुखी तथा समृद्ध बनाउन, आजका बालबालिकाहरुलाई परोपकारी, अनुशासित, कर्तव्यशील, धर्मपरायण, देवीदेवताप्रतिको आस्थावान्, आध्यात्मिकताप्रतिको जागरण, परमात्मप्रति उन्मुख गराई मुक्तिको मार्गमा लाग्नका लागि यस कथाले ज्ञान प्रदान गरेको कुरालाई नकार्न सकिँदैन । यसले धार्मिक तथा सांस्कृतिकरुपमा जगेर्ना गर्नका लागि पनि अहम् भूमिकासमेत खेलेको छ । यो व्रत अहिले घर घरमा ईश्वरीय आस्थाको फलस्वरूप सन्ध्यामा श्रवण गर्ने काम चलेको छ ।

यसले स्वस्थानी प्रमेश्वरीको उपासनाका साथै आफ्नो आर्थिक तथा शारीरिक क्षमताअनुसार आस्था गर्नु आध्यात्मिक तथा भौतिकरुपमा फाइदा दिने गर्दछ । किनकी सनातन हिन्दू दर्शन आफैँमा लचिलो र पेचिलो छ । आफ्नो गक्ष, क्षमता, आस्था तथा सोंचबाट आराधना कार्यलाई अंगीकार गर्नु आम जनमानसमा चासोको विषय हुने बेला आएको छ ।

आजको २१औँ शताब्दिको समयमा नाता, गोता, आफन्तलाई बिर्सने समय भएकाले हामी यसप्रति सचेत रहनको लागि पनि यस कथाको महिमालाई आराधानाका रुपमा लिनु आजको आवश्यकता रहेको छ ।

(लेखक, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङ्कन विभागका विभागीय प्रमुख तथा वैष्णव धर्मपरिषद नेपाल बाँकेका सचिव हुन् ।)

 

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार