जमुनाह सीमा क्षेत्रमा लुटिँदै नेपाली



नेपालगन्ज ।

भारतमा कोभिड–१९ (कोरोना भाइरस) बढ्दै गएपछि रोजगारीका लागि भारत गएका प्युठानस्थित नौबहिनी गाउँपालिका–५ का रामजान खत्री जमुनाह हुँदै बिहीबार घर फर्किंदै थिए ।

भाडा मात्र लिएर घर फर्किएका उनी सीमावर्ती बजार रुपैडिहामा चोरको निसानामा परे र लुटिए । लुटिएको उनले नेपाल प्रवेश गरेपछि मात्र थाहा पाए । उनीसँगै अरु दुईजना पनि आएका थिए ।

‘साथीहरुको पैसा लुटेराले लिएनन्,’ उनी भन्छन्, ‘चार हजार दुई सय भारतीय रूपैयाँ थियो त्यही लिए ।’ आफू नेपाल प्रवेश गरेपछि मात्र आफू लुटिएको थाहा भएको उनी बताउँछन् ।

उनी एक उदाहरण मात्र हुन, रोजगारीका लागि भारत गएका धेरैजसो नेपाली घर फर्किंदा सीमा क्षेत्रमा लुटिने र ठगिने गरेका छन् । सीमावर्ती बजार रुपैडिहामा लुटेराहरु तथा विचौलियाले यतिबेला रोजगारीमा गएर घर फर्किनेहरुलाई निसानामा पारेका छन् भने घर फर्किनेहरु आफ्नैबाट पनि लुटिने र ठगिने गरेका छन् ।

अटो चालक तथा होटेल सञ्चालकहरु विचौलिया बनेर ठग्ने गरेको उनीहरु बताउँछन् । दैनिकरुपमा नेपाली ठगिने गर्छन । नेपाल फर्किने अधिकांशलाई अटो चालकले ठग्ने गरेका छन् ।

निर्धारण गरिएको भाडाभन्दा मनोमानी ढंगले भाडा लिने गरेको दैलेखका डम्मर केसीले बताए । ‘भारतीय बजार रुपैडियास्थित रेल स्टेशनबाट सीमा क्षेत्रमा आउन ३० देखि ४० रूपैयाँसम्म भाडा लाग्छ,’ उनी भन्छन्, ‘तर उनीहरुले एक सयदेखि पाँच सय रूपैयाँसम्म लिने गर्छन ।’

यता नेपाल प्रवेश गर्दा पनि होटेल सञ्चालक र अटो चालक विचौलिया बनेर बढी पैसा असुली गर्ने गरेको उनी बताउँछन् । नेपालमै नेपालीले ठग्नु झनै दुर्भाग्य भएको भन्दै उनले भने, ‘वर्षाैंदेखिको यो पीडा परदेशीले केहिलेसम्म झेल्ने ।’

‘घर फर्किनेको ठूलो भीड छ,’ जाजरकोटका गोरख शाहले भने, ‘त्यही भीडमा लुटेराले लुटेको थाहा नै हुँदैन ।’ विचौलिया र लुटेराहरुको बिगबिगीले घर फर्किने नागरिकले झन्झट सहनु परेको उनी बताउँछन् । विचौलियाहरु रेल स्टेशनसम्मै पुग्ने गरेका छन् । रेल स्टेशनबाटै विभिन्न प्रलोभन देखाएर आफ्नो होटेलमा होटल व्यवसायीले ल्याउने गरेको गुनासो सर्वसाधारणको छ ।

सीमा क्षेत्रबाट विभिन्न जिल्ला जाने सर्वसाधारणलाई होटेलमा राखेर आफूहरुसँग होटेल व्यवसायीले मोलमोलाई गर्ने गरेको यातायात व्यवसायीहरु बताउँछन् । ‘सीमा गएर घर फर्किएका नागरिकलाई होटेल सञ्चालकले ल्याउँछन्,’ एक यातायात व्यवसायीले भने, ‘उनीहरुको भाडामा हामीसँग बार्गेनिङ गर्छन र बार्गेनिङको पैसा आफू राख्छन् ।’ जसले गर्दा यात्रु महँगो भाडामा पर्ने गरेको उनी बताउँछन् ।

भारतबाट घर फर्किंदा ठगिने गरेका गुनासाहरु आउने गरेको नेपाल–भारत सीमा क्षेत्र जमुनाहका सशस्त्र प्रहरीका प्रहरी नायक निरीक्षक (सइ) अर्जुन कार्कीले बताए । ‘केही दिन अगाडि अटो भाडा महँगो लिएको गुनासो आएको थियो,’ उनी भन्छन्, ‘अटो चालकको पहिचान गरी कारबाही गरेका छौं ।’

अहिले दैनिक सात सयदेखि एक हजार पाँच सयसम्म सर्वसाधारण नेपाल–भारत सीमा जमुनाह नाकाबाट घर फर्किन्छन् । सीमा क्षेत्रमा घर फर्किएका नागरिक लुटिने नयाँ भने होइन । पुरानै अवस्था भए पनि यसलाई व्यवस्थित गर्न नसक्दा लुटिने, ठगिने गर्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रबार