अति विपन्न मगन्ता समुदायलाई कम्बल वितरण



नेपालगन्ज ।

विपद् व्यवस्थापन समिति बाँकेले जिल्लाका विपन्न समुदायलाई कम्बल वितरण गरेको छ । अत्यधिक चिसो र शीतलहरको कारण जनजीवन प्रभावित भएपछि विपन्न समुदायलाई कम्बल वितरण गरिएको हो ।

बुधबार डुुडुवा गाउँपालिका ६ मगन्ता टोलका अति विपन्न मगन्ता समुदायका ४२ जनालाई वडामै पुगेर कम्बल वितरण गरिएको थियो । वडा कार्यालयको समन्वयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसहितको टोलीले कम्बल वितरण गरेको थियो ।

परम्पराकालबाट मागेर गुजारा चलाउँदै आएका मगन्ता समुदायलाई चिसोले जीवन यापनमा समस्या भएको जानकारी पाएर कम्बल वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

‘अन्य ठाउँमा समेत हामीले कम्बल लगाएतका न्यानो कपडा वितरण गरेका थियौं । सोही क्रममा ४२ जनालाई बुधबार कम्बल वितरण गरेका हौं’ उनले मिसन टुडेसँग भने, ‘चिसो कायमै रहेकोले जिल्लाका विभिन्न स्थानमा रहेका विपन्न परिवारहरुलाई कम्बल लगाएतका साम्रागीहरु वितरण गरेका छौं ।’

कम्बल वितरण गर्न सहायक प्रमुख जिल्ला अधिकारी केसी, जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकर, वडाध्यक्ष मोहनराम मिश्र, विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायत पुगेका थिए ।

केही दिन पहिले पनि नेपाली सेनाले पनि मगन्ता समुदायका सय जनालाई कम्बल वितरण गरेको थियो । सो बेला नपाएका थप ४२ जनालाई विपद व्यवस्थापन समितिले वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

उनकाअनुसार यसअघि समेत जिल्ला प्रहरी कार्यालय बाँकेका थुनुवा, निलसागर असहाय केन्द्रका वृद्धवृद्धा र बाल सुधार गृहका बालकलाई कम्बल वितरण गरिसकिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १३ गते बिहीबार