20 June 2024  |   बिहिबार, असार ७, २०८१

कोहलपुरका मेयरको चार बर्से समीक्षाः ‘बा’को कछुवा गति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ ६, २०७८  

लुटबहादुर रावतको काम गर्ने शैली भने कछुवा गति मै छ । एकातिर उनको स्वभाव नै नरम किसिमको छ भने अर्काेतिर कार्यशैली मन्द छ । जनप्रतिनिधिका रुपमा गतिशीलता उनमा देखिँदैन ।

स्थानीय सरकारको कार्यकारी अधिकार प्राप्त जनप्रतिनिधिका हिसाबमा उनले कोहलपुरलाई तन्नेरी जस्तै जोस र जाँगरका साथ अघि बढाउन सकिरहेको अवस्था छैन । बर्सेनि नीति तथा कार्यक्रममा उल्लेख उनका मीठा नारा र प्रतिबद्धता कार्यान्वयन हुन सकेका छैनन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत (७५) उमेरले पाका, अनुभवी र लोकप्रिय मानिन्छन् । पश्चिम क्षेत्रको ‘ट्रान्जिट’ सहरको प्रमुख रुपमा ‘ह्याट्रिक कार्यकाल’ को उत्तरार्धमा रहेका रावत भद्र, सरल र सहज जनप्रतिनिधि पनि हुन् । रावत तत्कालीन कोहलपुर गाउँ विकास समितिको २०४९ र २०५४ मा अध्यक्ष निर्वाचित भएका थिए ।

लगातार जनताको साथ पाइरहेका नेता रावतले तेस्रोपटक निर्वाचित भएपछि हौसिएर भनेका थिए, ‘कोहलपुरका जनताले मलाई बृद्धभत्ता खाएर बस्ने होइन, विकास निर्माणमा सक्रिय भएर जनताको सेवा गर्नुपर्छ भनेर जिताएका छन् ।’ मिडियालाई दिएको अन्तर्वार्तामा आफू उमेर बुढो हुँदै गएपछि तन्नेरी झैँ जोसका साथ काम गर्ने उनको भनाइ थियो ।

आफू नम्र भएर बोल्ने, सबैका समस्या सुन्ने, आर्थिकरुपमा पारदर्शी भएको र कार्यशैली र व्यवहार राम्रो भएकोले जनताले मन पराउने उनी बताउँछन् । २०४९ सालदेखि लगातार कोहलपुर क्षेत्रको विकास तथा यहाँका जनताका समस्या समाधानका लागि इमानदारीपूर्वक काम गर्दै आएको पनि उनको दाबी थियो ।

त्यतिबेला रावतले बताएजस्तो कोहलपुरमा उनको एकतर्फि देवत्वकरणसमेत हुने गरेको छ । धेरै मानिसले उनलाई सम्मान गरेर ‘बा’ सम्बोधन गर्छन् । उनलाई ‘कोहलपुरका बा’ समेत भन्ने गरिन्छ, जसले उनलाई ‘बा’ भन्छन् । उनीहरुको लागि उनी ‘कोहलपुरका बा’ हुन् । खासमा उनी आम मानिस हुन् । लुटबहादुर त नाम मात्र हो ।

जसले जति उनको गुनागान गाएपछि स्वयम् लुटबहादुर रावतको काम गर्ने शैली भने कछुवा गति मै छ । एकातिर उनको स्वभाव नै नरम किसिमको छ भने अर्काेतिर कार्यशैली मन्द छ । जनप्रतिनिधिका रुपमा गतिशीलता उनमा देखिँदैन ।

स्थानीय सरकारको कार्यकारी अधिकार प्राप्त जनप्रतिनिधिका हिसाबमा उनले कोहलपुरलाई तन्नेरी जस्तै जोस र जाँगरका साथ अघि बढाउन सकिरहेको अवस्था छैन ।
बर्सेनि नीति तथा कार्यक्रममा उल्लेख उनका मीठा नारा र प्रतिबद्धता कार्यान्वयन हुन सकेका छैनन् । फलस्वरुप ‘कोहलपुर बा’को मन्द र कछुवा गतिको कार्यशैलीको मार सिंगो कोहलपुर नगरबासीले खेपिरहेका छन् ।

कोहलपुर बेलाबेलामा अनेकथरि विवादमा परिरहन्छ । साढे चार वर्षको अवधिमा राम्राभन्दा पनि नराम्रा कामले बढी चर्चामा आइरह्यो, कोहलपुर । यहाँको कर्मचारीको नेतृत्व अस्थिर छ । अहिलेसम्म नौजना प्रमुख प्रशासकीय अधिकृत मात्रै फेरिएका छन् ।

भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती र दलीय स्वार्थ र बिचौलियाको साङ्ले घेराबाट उनी मुक्त हुन सकेका छैनन् । किचन क्याविनेटका पात्रहरु उनीमाथि नै हाबी छन् । उमेर, अनुभव र सिकाइको लामो समय एकैठाउँमा बिताए पनि उनले जनतालाई चित्त बुझ्ने गरी डेलिभरी दिन सकेका छैनन् ।

चुनावताका उनले बाँडेको भूमिहीन, सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने आश्वासन पूरा हुन सकेको छैन । नगर क्षेत्रको अव्यवस्थित बजार, जताजतै भेटिने फोहोरका डंगुर, गुणस्तहीन विकास उनी सफल छैनन् भन्ने उदारहण हुन् । न त उनले भनेको गुट्खामुक्त कोहलपुर बन्न सकेको छ । फोहोरमैला व्यवस्थापनमा उनको अयोग्यता झल्किएको छ ।

छाडा पशु चौपाय व्यवस्थापन हुन नसक्नु रावतको अर्को असफलता हो । हरित नगर, सुन्दर नगरको नाराविपरीत कोहलपुर उजाड छ । नगरका जनता प्रत्येक वर्ष डुबानको समस्यामा परिरहेका छन् । जनतालाई प्रत्यक्ष लाभान्वित हुने काम गर्न सकेको उनी कोभिड–१९ को समयमा समेत असफल नै सावित भए ।

कोभिड–१९ कहरको बेला सतहमा आएको क्रेटा कार काण्डले उनलाई झन विवादित बनायो । जबकी कोहलपुरमा अहिलेसम्म आफ्नै एम्बुलेन्स छैन । उनी स्वयम् पनि लाखौंका कारमा हुइकिन्छन् । समग्रमा कोहलपुरका जनताले धेरैपटक अवसर दिए पनि उनले जनतालाई खास्सै अनुभव हुने गरेर विकासको प्रत्याभूति दिलाउन सकेका छैनन् ।

बिर्सनलायक तीन कार्यकाल
नरेन्द्र न्यौपाने
नेकपा माओवादी केन्द्र

पहिलो कुरा उहाँले कोहलपुरमा अभिभावकीय भूमिका निर्वाह गर्न सक्नु भएन । दुईपटक अध्यक्षको कार्यकाल खेर गएका थिए । अहिलेको कार्यकालमा समेत उहाँ असफल ठहरिनुभयो । उहाँका तीन कार्यकालमा कोहलपुरको विकासपछि परेको मैले देखेको छँु । कार्यसम्पादन र सुशासनमा कमजोर देखिनुभयो । महामारीमा समेत अयोग्यता पुष्टि गर्नुभयो ।

भ्रष्टाचार मौलायो, अनियमितता हट्न सकेन । कोहलपुरको विकासको लागि भ्यागुत्तो उफाई आवश्यक थियो । उहाँको गति कछुवाको जस्तो भयो । सही ढंगले गुणात्मक विकास र समृद्धिको डेलिभरी हुन सकेन । उहाँमा गतिशीलता र फरक पहिचान देखिँदैन । तीनपटक लगातार जित्नु दुलर्भ अवसर हो । प्रभावित गर्न पनि सक्नु भएन । कोहलपुरमा उहाँका तीन कार्यकाल बिर्सनलायक छन् ।

असक्षम र असफल नेता हो
भानुभक्त भट्टराई
नेपाली कांगे्रस

कोहलपुरमा लुटबहादुर रावत भाग्यमानी हुनुहुन्छ । जनताले धेरैपटक अवसर दिए ।

तर, उहाँले जनतालाई केही पनि दिन सक्नु भएको छैन । धेरैपटक जित्नु ठूलो कुरा होइन । आशा जगाउनु र विश्वास जगाउनु ठूलो कुरा हो । गाविस अध्यक्ष हुदाँ पनि मेयर हुँदा पनि असफल हुनुभयो । जनताले उहाँले पद र मान दिए । उहाँले केही दिन सक्नु भएको छैन ।

अब उहाँले कोहलपुर के दिनुभयो भन्ने समय भएको छ । उहाँ असफल नेता हो । उहाँसँग कुनै विशिष्ट क्षमता देखिएन । अरुको कुरा नसुन्ने मान्छे कसरी सफल हुन्छ । मैले सातपटकसम्म मसानघाट बनायौं भने अहिलेसम्म कार्यान्वयन भएको छैन ।

जनताका कुरा के सुन्नु भएको होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । विकास समयअनुसार निरन्तर हुन्छ, उहाँले देखिने, सुनिने, महशुस गर्ने गरी विकास नै गर्न सक्नुभएन ।

प्रकाशित मितिः बिहिबार, माघ ६, २०७८     8:34:13 PM  |