पश्चिम नेपालका थारु समुदायमा माघीको उल्लास छाएको छ । थारु समुदायले यो पर्वलाई पाँच दिनसम्म हर्षौउल्लासका साथ मनाउने गर्छन् । माघीको पूर्व सन्ध्यामा शुक्रबार हरेक थारु गाउँमा संगुर र माछा मार्ने गरिएको थियो । बेलुका माछा र सुंगुरको मासु र अनदीको झोर सबैजसो थारु घरको प्रमुख परिकार थियो । माछासँगै गंगटा र घोङ्गी खाने गरिन्छ ।
थारु जातिले माघी पर्वलाई पछिल्लो समय आफ्नो सबैभन्दा ठूलो पर्वका रूपमा मनाउँदै आएका छन् । पछिल्लो समय माछा पाउन मुस्किल हुन थालेपछि ताल तथा पोखरीमा पालेका माछा समेत किनेर खाने प्रचलन बढेको थारु अगुवाहरु बताउँछन् ।
वर्षभरिमा गरिएका क्रियाकलापको समापन र नयाँ कामको थालनी माघीदेखि नै सुरू हुने भएको हुँदा यसलाई थारु समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । माघीदेखि नै नयाँ कार्ययोजना तयार पार्ने प्रचलन थारु समुदायमा छ ।
घरपरिवारदेखि गाउँको अगुवा मतवा चयनको लागि समेत लागू हुनेगर्छ । घर छुट्टिनेदेखि कुनैपनि नयाँ योजना माघीदेखि नै थारु समुदायले निर्धारण गर्छ । थारु समुदायका अगुवा जनकबहादुर थारु विगतको कामलाई निरन्तरता दिने कि नयाँ कामको थालनी गर्ने जस्ता निर्णयहरू माघीपछि तय हुने बताउँछन् ।
‘हिजो कमैया प्रथा थियो तर आज उन्मुलन भइसकेको छ, त्यसैको खुसियालीमा भएपनि माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा मनाउन थालिएको हो,’ उनले भने । ढिर्की पकाउने, अनदीको विशेष झोल, जाँड, अनदीको भात, रोटी लगायत विशेष मिठा मिठा परिकारको जोहो माघमा गर्ने प्रचलन रहेको उनले बताए ।
‘सखिय हो माघक गुरी गुरी जाँड’ भन्ने गीत गाउँदै नाच्ने प्रचलन थारु समुदायमा रहेको छ । हरेक नयाँ योजनाको सुरूवात हुने हुँदा थारु समुदायले आइतबारको दिनलाई आर्थिक वर्षको अन्तिम दिन र माघको दोस्रो दिनलाई नयाँ वर्षको रूपमा मनाउने गर्छन् । यसैबीच थारु समुदायले शनिबार बिहान सूर्यदयोभन्दा पहिले नै नजिकको ताल तथा पोखरीमा गएर मकर स्नान गरेका थिए ।
पहिले पहिले जेष्ट नागरिक, युवा र केटाकेटीहरू छुट्टा छुट्टै समूहमा गीत गाउँदै नाच्दै नजिकका खोला तथा तलाउमा स्थानका लागि जाने गर्दथे । तर पछिल्लो समय कतिपयले घर कै इनारमा नुहाउन थालेका छन् । मताउसँगै नुहान गएकाहरूलाई भने फर्किदा घर घरमा कलश राखेर स्वागत गर्ने चलन थारु समुदायमा छ । स्नान गरेर आएपछि घरमा खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ ।
खिचडीमा नुन, मासको दाल र चामल राखिएको हुन्छ । संस्कृतिविद् अशोक थारुका अनुसार त्यो खिचडी पूर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुनाका रूपमा चेलीबेटीको घरमा पु¥याउने प्रचलन रहेको अर्का थारु अगुवा हेमन्त चौधरी बताउँछन् ।
उनका अनुसार त्यसपछि तिलको हवन गरिसकेर र घर परिवारका सदस्य मान्यजनबाट टिका लगाउने र आशिर्वाद थाप्ने गर्छन् । थारु समुदायमा सेतो चामलको टिका लगाउने प्रचलन रहेपनि पछिल्लो समय भने कतिपयले रातो टिका समेत लगाउन थालेको उनी बताउँछन् । माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ ।
यो नाच श्रृङगार र करुणरसले भरिएको हुन्छ । यसमा बजाइने मादलको ताल , धुन र गाउने व्यक्तिको स्वरपनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद् थारुले बताएका छन् । तर, पछिल्लो समय मादलको ठाउँमा साउन्ड सिस्टम र गीत घन्काएर नाच्न थालिएको हुँदा त्यसले संस्कृतिक विचलन ल्याउने खतरा रहेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्