कोहलपुर ।
केही दिनयता बाँकेको राप्तीपारी क्षेत्रमा आंतक मच्चाइरहेको पाटेबाघ धपाउनको लागि दुई वटा हात्ती परिचालन गरिएको छ । बिहीबार मात्र राप्ती सोनारी– ४ को एक सामुदायिक वनमा बाघले एक महिलाको ज्यान लिएको थियो ।
मान्छे तथा पशु चौपायामाथि बाघले आक्रमण गर्न थालेपछि बाघ धपाउनको लागि उक्त क्षेत्रमा बाँके निकुञ्जबाट दुई वटा हात्ती लगिएको हो । निकुञ्जको ढकेरीबाट लगिएका दुई वटा हात्ती शुक्रबार रातीमात्र राप्तीपारीको बैजापुर पुगेका थिए ।
शुक्रबार समेत बाघले एक गोठालालाई आक्रमणको प्रयास गरेको थियो । वडा नम्बर ५ मा रहेको सिद्धेश्वरी सामुदायिक वनको हर्दिवा खोलामा बाघले आक्रमण गर्न खोजेपछि गोठाला रुख चढेका थिए । स्थानीय बम बहादुर पुनले शुक्रबार दिउँसो बाघले हर्दिवा खोलामा आक्रमण गर्न खोजेपछि रुखमा चढेर ज्यान जोगाएका हुन् ।
ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज प्रहरी नायब निरीक्षक मुकुन्द सिग्देलले मानिसलाई आक्रमण गर्न नपाएपनि केही बाख्राहरु मारेको जानकारी दिए । उनका अनुसार केही बाख्रालाई बाघले घाईते समेत बनाएको छ ।
बाँके निकुञ्जबाट लगिएका दुई हात्तीले आज (शनिबार) देखि सामुदायिक वन क्षेत्रभित्रबाट बाघ धपाउन परिचालन हुने बताइएको छ । दैनिक जसो पाटेबाघले मान्छे तथा पशु चौपायालाई आक्रमण गर्न थालेपछि राप्तीपारीका स्थानीयहरु भने त्रसित बनेका छन् । डिभिजन वन कार्यालय बाँकेले स्थानीय सामुदायिक वन क्षेत्रमा बाघ देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्