सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृहको सर्कुलर



काठमाडौँ ।

गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिएका छन्।

गृहमन्त्रालयमा आज नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको उद्घाटन समारोहमा उनले उक्त कुराको जानकारी दिएका हुन्।

उनले गृहमन्त्रालय अरु मन्त्रालय जस्तो नभइ चौविसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको जानकारी दिँदै असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान प्रकट गरे।

राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेको राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने सुझाव उनले दिए। उनले भने, “नयाँ चुनौती र दायित्व आउन सक्छन्, सामना गर्न कर्मचारी तयार हुनुपर्छ।”

कर्मचारीले जनता आउँदा सेवा राम्रो दिन सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री खाँणले अहिले दुई घण्टा लाग्दै आएको कामलाई डेढ घण्टा र छ घण्टा लाग्दै आएको कामलाई पाँच घण्टामा सम्पन्न गरे पनि सेवाग्राहीमा ठूलो राहत हुनेतर्फ ध्यानाकर्षण गराए।

उनले मन्त्रालय र मातहतका कार्यालयमा कोही पनि हाकिम कर्मचारी नभइ सबै एकै परिवारका सदस्य रहेको पनि बताए।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २३ गते शुक्रबार