20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

दिन प्रतिदिन बढ्दै चिसोः कोहलपुरमा अझैं सुरु भएन दाउरा खरिद प्रक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस १८, २०७८  

कृष्ण ओली । कोहलपुर ।

दुई साताअघि कोहलपुर नगरस्तरीय विपद व्यवस्थापन समितिले निर्णय गरेको थियो, ‘तत्काल दाउरा खरिद गरेर नगर क्षेत्रका नागरिकको बढी भीड हुने क्षेत्रका चोकचोक र सरकारी कार्यालयमा आगो ताप्ने व्यवस्था गर्ने ।’ तर निर्णय भएको दुईसाता बढी हुँदा पनि कोहलपुर नगरपालिकाले दाउरा खरिदका लागि प्रक्रियासमेत अगाडि बढाएको छैन ।

जसले, निर्णय गर्ने तर कार्यान्वयनमा नआत्तिने आरोपलाई पृष्टि गर्दछ । पछिल्लो समय दिनप्रतिदिन चिसो बढ्दो क्रममा छ । तर नगरपालिकाले आफ्नो निर्माण कार्यान्वय गर्न नसक्दा लक्षित वर्ग समस्यामा छन् । कठ्याङरिँदो चिसोमा काम गर्ने मजदुर, कर्मचारीलगायतले समयमै कार्यक्षेत्रमा आगो ताप्न पाएका छैनन् ।

केही दिनयता तराई क्षेत्रमा हुस्सु तथा शीतलहरका कारण बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ । समयमै चोकचोकमा आगो नबाल्दा काममा समस्या हुने गरेको मजदुर हरिकृष्ण केसीले बताए । ‘दैनिक गुजाराका लागि भए पनि कठ्याङ्रिँदो चिसोमा काम गर्नैपर्छ,’ उनले भने, ‘तर, काम गर्ने क्षेत्र आसपास चिसोबाट बच्न स्थानीय सरकारले व्यवस्था गर्न सकेन ।

कठ्याङ्रिँदो चिसोमा पनि कोहलपुर नगर क्षेत्रमा सयौंले दैनिक ज्यालादारी काम गर्न बाध्य छन् । ‘घरमा बसौं भने घर खर्च चलाउन समस्या छ,’ देउसरी सुनारले भनिन्, ‘काम गर्न जाउ भने चिसो गर्न सकिँदैन । सरकारले काम गर्ने क्षेत्रमै आगो ताप्न दाउरा व्यवस्था गर्ने भन्ने सुनेको थिएँ । तर, अहिलेसम्म त्यस्तो व्यवस्था हुन सकेको छैन ।’ कार्यालयहरुमा हिटर प्रयोग हुने भएकाले त्यति समस्या नहुने भन्दै उनले भनिन्, ‘हामी मजदुर काम गर्ने क्षेत्रमा हिटर हुँदैन, विकल्प भनेकै आगो बाल्ने हो ।’

कोहलपुर मात्र होइन, नेपालगन्जलगायतका स्थानीय तहले पनि दाउरा खरिदका लागि प्रक्रिया अगाडि बढाएका छैनन् । दुई साताअघि जिल्ला विपद व्यवस्थापन समितिको बैठकले चिसोबाट बच्न पूर्वतयारी गर्न स्थानीय तहहरुलाई जिम्मा दिएको थियो । जिल्लाका स्थानीय तहहरुले जाडो बढिसक्दासमेत खास्सै तयारी भने गरेको देखिँदैन ।

विगतका वर्षहरुमा नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानहरुमा चोकचोकमा चिसोबाट बच्न आगो ताप्ने व्यवस्था मिलाइएको हुन्थ्यो । चिसो बढे पनि नेपालगन्ज उपमहानगरपालिकाले चोकचोकमा आगो ताप्ने व्यवस्था भने नगरेको स्थानीय विजय गुप्ताले बताए । ‘केही दिनयता राम्रोसँग घामसमेत लाग्न सकेको छैन,’ उनले भने, ‘पहिलेपहिले नगरपालिकाले आगो ताप्न चोकचोकमा दाउरा फाल्ने गरेको थियो । यस वर्ष अहिलेसम्म गरेको छैन ।’

नेपालगन्ज उपमहानगरपालिकाले दाउरा वितरण गर्ने बताए पनि अझैसम्म पनि दाउरा खरिदको प्रक्रिया अगाडि बढाएको छैन । ‘चिसोमा दाउरा वितरण गर्ने भन्ने बारेमा कुरो चाहिँ चलिरहेको छ,’ उपमहानगरपालिका एक कर्मचारीले भने, ‘प्रक्रिया पनि अघि बढेको छैन । चिसो बढेकोले सायद अब प्रक्रिया अगाडि बढ्ला ।’

भएन न्यानो कपडा वितरण

बाँकेका सबै पालिकाहरुले गरिबहरुलाई जाडोमा न्यानो कपडा वितरणका लागि बजेट विनियोजन गरे पनि न्यानो कपडा वितरण हुन सकेको छैन । न्यानो कपडा खरिदको प्रक्रिया सुरु भएको पालिकाहरुले बताएका छन् ।

समयमै न्यानो कपडा नपाउँदा विपन्न वर्गका नागरिक मारमा परेका छन् । बाक्लो हुस्सुसँगै हुने शीतलहरका कारण बाँकेको जनजीवन प्रभावित हुने गर्दछ ।

खरिद प्रक्रियामा जान्छौं

चोकचोक तथा सरकारी कार्यालयमा आगो ताप्न व्यवस्थाका लागि दाउरा खरिद गर्ने निर्णय भए पनि प्रक्रिया सुरु नभएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

‘दाउरा खरिद हामीले अझैसम्म गरेका छैनौं,’ विपद तथा वातावरण शाखाका प्रमुख पुरुषोतम पोखरेलले मिसन टुडेसँग भने, ‘निर्णय भयो तर खरिदका लागि अरु प्रक्रिया सुरु भएको छैन । अब केही दिनमा सुरु हुन्छ र दाउरा आउँछ ।’

जिल्ला वन पैदावार कार्यालय बाँकेबाट दाउरा खरिद गरिने शाखा प्रमुख पोखरेलले बताए । ‘कहाँ दाउरा खसाल्ने र कति दाउरा लाग्छ भनेर विवरण निकाल्ने काम भइरहेको छ,’ उनी भन्छन्, ‘कति दाउरा चाहिन्छ भन्ने कुरा आएपछि दाउरा खरिद हुन्छ । दाउरा आउन दुई चार दिन लाग्न सक्छ ।’ चिसो धेरै हुने समयमा दाउरा कोहलपुरमा आइसक्ने उनले दाबीसमेत गरे ।

‘अब जाडो पनि बढ्ला । त्यतिबेलासम्म दाउरासमेत आइपुग्छ होला,’ शाखा प्रमुख पोखरेलले भने । नगरपालिकामा रहेको विपद कोषमा रहेको रकमबाट दाउरा खरिद गरिनेछ ।

आवश्यक तयारी गरेको छौंः सिडिओ

जिल्ला विपद व्यवस्थापन समिति बाँकेले समेत आवश्यक तयारी गरेको बताएको छ । समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले शीतलहरलाई ध्यान राखेर आवश्यक तयारी गरिएको बताए ।

‘यसपटक हामीले स्रोतसाधनले सम्पन्न स्थानीय तहलाई आवश्यक तयारी गर्नसमेत आग्रह गरिसकेका छौं,’ उनले भने ‘हामीले पनि न्यानो कपडा र दाउराको समेत आवश्यक जोहो गरिरहेका छौं ।’

कारागारमा रहेका कैदीबन्दीहरुलाई ध्यानमा राखेर न्यानो कपडा वितरण गरिसकेको संयोजक खत्रीले जानकारी दिए ।

‘हामीले समस्या परेका स्थानहरुमा न्यानो कपडा वितरण गर्न सुरु गरिसकेको अवस्था छ,’ उनले भने, ‘कैदी बन्दीलाई वितरण गरिसकेका छौं । फेरि पनि कतै न्यानो कपडालगायतका आवश्यक सहयोग गर्नुपरे सहयोग हुन्छ ।’

प्रकाशित मितिः आइतवार, पुस १८, २०७८     10:30:29 AM  |