रोल्पा
नेपाली कांग्रेस रोल्पाका उपसभापति हरि पुन र सचिव शेरबहादुर थापालाई लक्षित गरी गएराति मोटरसाइकल र घरमा आगजनी भएकाे छ।
पार्टी कार्यकर्ता भेटघाटका क्रममा सोमबार गंगादेव गाउँपालिका-५ पुगेका पुन र थापा बसेकाे स्थानीय नदु डाँगीको घरमा अज्ञात समूहले आगजनी गरेको हो। समूहले पार्किङ गरेको मोटरसाइकलसमेतमा आगाे लगाएकाे थियाे।
आगजनीबाट रा ५ प ९५२१ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ। संयोगले पुन र थापा भने डाँगीकै अर्को घरमा सुतेका थिए। ‘हामी खाना खाएर उहाँकै अर्काे नजिकैको घरमा सुतेका थियौं,’ सचिव थापाले भने,‘खाना खाएकै घरमा सुतिरहेका छन् भन्ने अनुमानले आगजनी गरिएको रहेछ।’
राति पौने १० बजे मोटरसाइकलमा आगलागी भएलगत्तै स्थानीय सबैको सक्रियतामा घरमा थप क्षति हुनबाट बचाएका थिए। राति नै इलाका प्रहरी चौकी घर्तीगाउँ र स्थानीय प्रहरी चौकीमा खबर भएको थियो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक सुधीर खड्काको नेतृत्वमा टोली पुगेर मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन्। घटनाको अनुसन्धान भइरहेको पनि डिएसपी घिमिरेले बताएका छन्।
यसैबीच नेपाली कांग्रसका नेताहरुले दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन्। केही व्यक्तिहरु दिउँसैदेखि सो क्षेत्रमा संकास्पद तरिकाले हिँडिरहेकाले उनीहरु नै उक्त घटनामा संलग्न हुन सक्ने भन्दै उनीहरुले ती व्यक्तिलाई तत्काल पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीसँग माग गरेका छन्।









प्रतिक्रिया दिनुहोस्