कोहलपुर– ३ मा खानेपानी आयोजना अन्तिम चरणमा, पाइप विस्तारको काम रोकियो



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–३ मा निर्माणाधीन खानेपानी आयोजना अन्तिम चरणको पुगेको छ । वडा नम्बर ३ र ४ लाई लक्षित गरेर रझेना खानेपानी आयोजना निर्माण सुरु गरिएको थियो ।

निर्माणको काम अन्तिम चरणमा पुगे पनि बजेट अभावमा पाइप विस्तारको काम भने अगाडि बढ्न सकेको छैन ।

रझेना खानेपानी उपभोक्ता समितिका अध्यक्ष विष्णु खरेलले आयोजनातर्फ पानी ट्यांकी निर्माणको काम लगभग सकिएको जनाए ।

‘ट्यांकीमा अहिले पेन्ट गर्ने काम चलिरहेको छ,’ उनले भने, ‘केही दिनमै सायद निर्माण कम्पनीले काम सक्ला ।’ दुई वडाको ५१ किलोमिटर क्षेत्रमा पाइप विस्तारको लागि पाइपहरु आयोजनास्थल आइपुगेको रझेना खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

अध्यक्ष खरेलका अनुसार अहिलेसम्म ११ किलोमिटर जति मात्र पाइप विस्तार गरिएको बताए ।

‘आयोजनाका अन्य कामका लागि बजेट आए पनि पाइप विस्तारका लागि बजेट आउँदो रहेनछ,’ उनले भने, ‘उपभोक्ताहरुले श्रमदानबाट नै पाइप विस्तार गर्नुपर्ने रहेछ । त्यो काम यहाँ सम्भव हुने देखिएन । हामीसँग बजेट पनि छैन ।’

आयोजनाको अन्य काम सकिए पनि पिउने पानी उपभोक्ताको घरसम्म पु¥याउने समस्या हुने उनको भनाइ छ । अझै ४० किलोमिटर क्षेत्रमा पाइप विस्तारको लागि ५० देखि ८० लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

‘बाँकी रहेको स्थानमा कसरी पाइप गाड्ने भन्ने अहिलेसम्म कुनै टुंगो लागेको छैन,’ अध्यक्ष खरेलले भने, ‘सबैतिर हारगुहार त गरिरहेका छौं । कतैबाट बजेटको टुंगो लागेन ।’

साढे चार लाख लिटर क्षमताको ट्यांकीबाट पिउने पानी दुई वडाका २५ सय घरधुरीमा पु¥याउने लक्ष्य रझेना खानेपानी उपभोक्ता समितिले लिएको छ । दुवै वडामा हिउँदेको समयमा मोटर तथा धारामा पानी नआउने समस्या रहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १३ गते मंगलबार