पोल्ट्री फार्ममा जमेका खजुराका विकास



खगेन्द्र दाहाल । नेपालगन्ज ।

बाँकेस्थित खजुरा गाउँपालिका–४ डी गाउँ बस्ने ३५ वर्षीय विकास सुनारले ५ वर्ष वैदेशिक रोजगारीमा बिताए । घर परिवारदेखि टाढा रहेर उनले केही पैसा कमाए तर पनि मनले स्वदेशमै रहेर केही गरौं भन्ने सोचाइ सिर्जना गरिरह्यो ।

घरको आर्थिक अवस्था कमजोर हुँदा उनी वैदेशिक रोजगारीमा पुगे । पाँच वर्षसम्म विदेशमा रहँदा पनि भने जस्तो कमाइ नहुँदा विकास घर फर्किए । जे गर्छु आफ्नै गाउँ घरमा बसेर गर्छु भनेर उनले दुई वर्ष अघि युवी पोल्ट्री फार्म सुरु गरे । चार कठ्ठा क्षेत्रफलमा ग्रीन जालीले बारेर त्यसैमा बट्टाई, कुखुरा, हाँस र टर्कीपालन गरिरहेका छन् ।

खजुरा एक नम्बर नजिकै रहेको युवा किसान विकासले सुरु हाँसपालनबाट गरेका हुन् । सामान्य लगानीबाट सुरु गरेको व्यवसाय बिस्तारै बढाउँदै लागेका छन् ।

विकासको फारमा अहिले बट्टाई एक हजार, कुखुरा ७०, हाँस ८०, कुखुराको चल्ला एक सय ५० र टर्की भर्खर सुरु गरेकाले दुईवटा छन् । चल्ला उत्पादनका लागि उनले आठ सय ५० क्षमताको ह्याच्यारिङ मेसिन पनि सञ्चालन गरिरहेका छन् । चल्ला उत्पादन गरी बिक्री गर्ने उद्देश्यले ह्याच्यारिङ मेसिन ल्याएको विकास बताउँछन् ।

अहिले चिसोको मौसम भएकाले कुखुरा हाँससहित बट्टाईको माग धेरै छ । मागअनुसार चल्ला उत्पादन गर्ने गरेको किसान विकासले बताए । उत्पादन गरेका चल्ला, कुखुराहरु नेपालगन्ज, खजुरा, कोहलपुरदेखि दैलेखलगायत पहाडी जिल्लाबाट माग आउने गरेको छ । विकासले आफ्नो व्यवसायलाई अझै बढाउन चाहेको बताए ।

उनले आफ्नो खोरलाई थप व्यवस्थित गरी कारोबार बढाउन खोजेका छन् तर उनलाई थप लगानी लगाउन भने गाह्रो छ । विकासले आफूलाई अनुदान नचाँहिएको तर सहुलियत कृषि ऋण सहजै मिले व्यवसाय गर्न सहज हुने बताए । विकासले आफूले उत्पादन गरेका कृषि वस्तुलाई बजार चल्ती मूल्यभन्दा सस्तोमा बिक्री गर्ने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ११ गते आइतबार