महालक्ष्मी विकास बैंक शाखा कार्यालय बर्दिया बाँसगढीले नगर क्षेत्रका सडकमा विरुवा रोप्नका लागि बाँसगढी नगरपालिकालाई सहयोग गरेको छ । सुन्दर हरियाली र सफा सहर, समृद्ध र समुन्नत बाँसगढी नगर बनाउने योजनालाई सफल बनाउन बैंकले बाँसगढी नगरलाई आर्थिक सहयोग गरेको हो ।
एक कार्यक्रमका बीच मुख्य सडक क्षेत्रमा विरुवा रोप्न शाखा प्रमुख दिपेन्द्र बोहोराले बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दलाई कुल ४३ हजार एक सय ८१ रूपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
अहिले बाँसगढी नगरपालिकाले बजार क्षेत्रमा चार लाइनको सडक निर्माण गरेको छ । त्यहाँ स्थानीय सरकारको अगुवाइमा विरुवा रोपिएको थियो ।
सोही विरुवालाई सुरक्षित राख्न महालक्ष्मी विकास बैंकले करिब १० वटा विरुवामा त्रिगार्ड लगाउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रकम सहयोग गरेको बंैकका म्यानेजर बोहराले जानकारी दिए । उनका अनुसार स्थानीय सरकारको अभियानमा हातेमालो गर्न पनि सहयोग हस्तान्तरण गरिएको हो ।
‘हामीले बर्सेनि सामाजिक क्षेत्रअन्तर्गत काम सहयोग गर्दै आएका छौँ । यसपटक स्थानीय सरकारलाई सहयोग गरेका छौँ । यो अभियामा जोडिन पाउँदा खुसी छौँं,’ उनले भने ।
यता, बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्दले बैंकलाई सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित अन्य बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई त्रिगार्डमा आफ्नो बंैक तथा संस्थाको नाम लेखाएर सहयोग गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा बाँसगढी बजारमा भित्र रहेका विभिन्न बैंकका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्