घरेलु महासंघ बाँकेद्धारा विद्युत् प्राधिकरणको ध्यानाकर्षण



कोहलपुर ।

विद्युत् प्राधिकरणको निर्णयलाई घरेलु तथा साना उद्योग महासंघ बाँकेले विरोध जनाएको छ । बुझाइसकेको विद्युत् महसुलमा अझै थप बुझाउनु पर्ने भनेर उद्योगीलाई प्राधिकरणले पत्र काटेपछि महासंघले विरोध जनाएको हो ।

सोही विषयलाई लिएर महासंघ बाँकेले बिहीबार विद्युत् प्राधिकरण नेपालगन्जको ध्यानाकर्षणसमेत गराएको थियो ।

प्राधिकरणको कमजोरीले कम बिलिंग भइ रकम तिर्दै आएकोमा हाल आएर थप बक्यौता तिर्नु पर्ने भनेर पत्र आएपछि साना उद्योगीहरु समस्यामा परेको महासंघले जनाएको छ । यसबारेमा आवश्यक छलफल गरी बाँकी बक्यौदा रकम छुट दिलाउन प्राधिकरणलाई लिखितरुपमा नै ध्यानाकर्षण गराइएको महासंघ बाँकेका महासचिव गिरीराज भुषालले जानकारी दिए ।

साना उद्योगको विद्युत् मिटर दर्ता गर्दा औद्योगिक साना हुनुपर्नेमा प्राधिकरणको गल्तीले औद्योगिक ग्रामीण तथा घरेलु वर्गमा गरिएकोले बिल रकम आएकोले सोहीबमोजिम नै साना उद्योगीहरुले तिरेको उनले बताए ।

‘प्राधिकरणको गल्तीले गर्दा अहिलेको समस्या आएको हो,’ महासचिव भुषालले भने, ‘आफ्नो गल्ती ढाकछोप गर्न अहिले फेरि महसुल तिराउन पाइँदैन । पहिलेको बाँकी बक्यौदा छुट दिनुपर्छ ।’

‘खजुरा गाउँपालिकाअन्तर्गतका एक सय पाँचजना उद्योगीहरुलाई बाँकी बक्यौता महसुल बुझाउन भनि पठाइएको पत्रको बारेमा बुझ्दा प्राधिकरणबाट मिटर दर्ता गर्दा-गराउँदा त्यस कार्यालयको प्राविधिक कमजोरीका कारण औद्योगिक साना हुनु पर्नेमा औद्योगिक ग्रामीण तथा घरेलु वर्गमा बिलिङ भएकाले उद्योगीहरुले कम बिल तिरिरहेको र हाल प्राधिकरणले छानबिन तथा अनुसन्धान गर्दा बाँकी बक्यौता रकम बुझाउन उद्योगीहरुलाई पत्र पठाइएको हुँदा उद्योगीहरु पिडामा परेको र यस विषयमा उद्योगीहरुको कुनै कमीकमजोरी नभएको हुँदा त्यस सम्बन्धमा आवश्यक छलफल गरी बाँकी बक्यौदा रकम छुट दिलाइदिनु आग्रह गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ९ गते शुक्रबार