जमुनाहा नाकामा लापरबाहीः ओमिक्रोनका शंकास्पद व्यक्तिलाई घर पठाइयो



सीमा क्षेत्रमा शंकास्पद व्यक्ति र संक्रमित भएका व्यक्तिलाई राख्ने व्यवस्थापन नहुँदा उनीहरुलाई सीधै घर पठाइएको थियो । ओमिक्रोनको आशंका गरिएका व्यक्तिलाई क्वारेन्टाइन राख्नुको साटो घर
पठाउँदा ओमिक्रोनको जोखिम बढेको छ ।नेपाल–भारत सीमा क्षेत्र जमुनाहबाट दैनिक एक हजारभन्दा धेरै मानिस
यताउता गर्छन् । ति सबैको व्यक्तिको स्वास्थ्य परीक्षणसमेत हुँदैन ।

नेपालगन्ज ।

एकसाता अगाडि भारतबाट नेपालगन्जस्थित जमुनाह हुँदै घर फर्किएका तीनजना पुरुष ओमिक्रोनबाट संक्रमित हुनसक्ने भन्ने शंकाको घेरामा परे । कोभिड–१९ (कोरोना भाइरस) बाट संक्रमित उनीहरुको स्वाब संकलन गरेर ओमिक्रोन परीक्षणका लागि काठमाडौं पठाइयो । ओमिक्रोनको आशंका गरिएका व्यक्ति क्वारेन्टाइन होइन सीधै घर पठाइयो ।

सीमा क्षेत्रमा शंकास्पद व्यक्ति र संक्रमित भएका व्यक्तिलाई राख्ने व्यवस्थापन नहुँदा उनीहरुलाई सीधै घर पठाइएको थियो । ओमिक्रोनको आशंका गरिएका व्यक्तिलाई क्वारेन्टाइन राख्नुको साटो घर पठाउँदा ओमिक्रोनको जोखिम बढेको छ । नेपाल–भारत सीमा क्षेत्र जमुनाहबाट दैनिक एक हजारभन्दा धेरै मानिस यताउता गर्छन् । ति सबैको व्यक्तिको स्वास्थ्य परीक्षणसमेत हुँदैन ।

नेपाल प्रवेशद्वारमा गम्भीर लापरबाही गरिँदा ओमिक्रोनको उच्च जोखिम बढ्ने स्थानीय घनश्याम गुप्ताले बताए । ‘सीमा क्षेत्रमा लापरबाही गरिएको छ,’ उनले भने, ‘सरकारले सीमा क्षेत्रका कडाइका लागि गरेका निर्णय कार्यान्वय हुन सकेको छै ।’

अहिले सामान्य हुँदा लापरबाही हुँदा पछि ठूलो समस्या झेल्नुपर्ने स्थानीयहरुको भनाइ छ । सरकारले गरेका निर्णय पालना हुँदा ओमिक्रोनको जोखिम कम हुने स्थानीयहरु बताउँछन् । ‘सीमामा हुने लापरबाहीले भोलि ठूलो क्षति हुनसक्छ,’ रामकृष्ण अग्रवालले भने, ‘पछिको जोखिमलाई अहिले नै मूल्यांकन गरी जोखिम न्यूनीकरण गर्नुपर्छ ।’ कोरोना भाइरसको पाठबाट केही सिकेर ओमिक्रोनको जोखिम भित्रिन दिननहुने उनी बताउँछन् ।

‘व्यवस्थापकीय कमजोर भयो’

तीनजना व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि उनीहरुमा ओमिक्रोनको शंका लागेपछि स्वाब संकलन भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले बताए । ‘एक गैरसरकारी संस्थाले स्वाब संकलन गरेको छ,’ उनले भने, ‘उक्त स्वाब काठमाडौं पठाएपछि १५÷२० दिन जतिमा रिपोर्ट आउँछ ।’

कर्मचारीको लापरबाहीभन्दा व्यवस्थापन नहुँदा बाध्य भएर शंकास्पद व्यक्तिलाई सीधै घर पठाउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शाहले बताए । ‘शंकास्पद देखिएका व्यक्ति म क्वारेन्टाइनमा बस्छु भने पनि कहाँ राख्ने । ठाउँनै छैन,’ उनी भन्छन्, ‘ठाउँ नहुँदा सुरक्षितसाथ घर पठाइएको छ ।’

यसभन्दा पहिला कोरोना भाइरस संक्रमितलाई सीमाबाट सीधै क्वारेन्टाइनमा राख्ने व्यवस्था थियो । कोरोना भाइरसको त्रास सामान्य हुँदै गएपछि अहिले क्वारेन्टाइन नभएको र सीमा क्षेत्रमा एम्बुलेन्ससमेत नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

वैशाखदेखि अहिलेसम्म नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा ५० हजारभन्दा बढी सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको उनले जनाए । जसमध्ये चार सय दुई जना संक्रमित देखिएका थिए । ६० देखि ८० जनाबाहेक अरु सबैलाई क्वारेन्टाइन, आइसोलेनमा राखिएको थियो जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतमा ओमिक्रोन देखिएको छ । त्यस क्षेत्रबाट नेपाल आउनेको सीमा क्षेत्रमा अनिवार्य स्वास्थ्य परीक्षण गर्न सरकारले निर्देशन दिएको थियो । सीमा क्षेत्रबाट प्रवेश गर्दा कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाएको र कोरोना भाइरस परीक्षणको रिपोर्ट साथमा हुनुपर्ने सरकारको निर्णय थियो । तर बाँकेमा शंकास्पद व्यक्तिलाई नै घरमा पठाउने गरिएको छ ।

सीमामै थन्कियो स्वाब

उत्तराखण्डबाट आएका दुई र उपचारका लागि लखनउ गएका एकजनाको स्वाब संकलन भएको हेल्थ डेस्क जमुनाहले जनाएको छ । उनीहरु तीनैजनामा कोरोना संक्रमण देखिएको हेल्थ डेस्कले जनाएको छ ।

शंकास्पद देखिएका व्यक्तिहरुको स्वाब मंसिर २२, २६ र पुस ७ गते संकलन गरिएको थियो । संकलित स्वाब अहिलेसम्म परीक्षण भएको छैन । उक्त परीक्षणका लागि स्वाब काठमाडौंमा पठाउनुपर्छ ।

पठाउने माध्यम र स्थान थाहा नहुँदा स्वाब पठाउन नसकिएको हेल्थ डेस्क जमुनाहका ल्याब टेक्निसियन चिरिञ्जीवी ज्ञवालले जानकारी दिए । ‘तीनजनाका स्वाब सुरक्षित साथ राखेका छौं,’ उनले भने, ‘कहाँ र कसरी पठाउने थाहा छैन । त्यसैले पठाउन सकिएको छैन ।’

दैनिक अढाइसयको परीक्षण

भारतबाट जमुनाह नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको बाक्लो भीड छ । ति सबैको स्वास्थ्य परीक्षण गर्न कठिन भएको छ । सीमित स्रोतसाधनमा पनि केही न केहीको भने स्वास्थ्य परीक्षण हुँदै आएको छ ।

हेल्थ डेस्क जमुनाहका ल्याब इन्चार्ज चिरिञ्जीवी ज्ञवालीका अनुसार दैनिक दुई सय ५० देखि तीन सय जनासम्मको स्वास्थ्य परीक्षण हुन्छ । त्यसमध्ये १२ सयमा एकजनामा संक्रमण देखिएको उनको भनाइ छ । नेपाल प्रवेश गर्नेको ठूलो भीड हुँदा कसलाई जोखिमयुक्त व्यक्ति मान्ने र नमान्ने समस्या भएको उनी बताउँछन् ।

जनशक्ति अभाव

दैनिकरुपमा भारतबाट नेपाल प्रवेश गर्ने सर्वसाधारणको संख्याका अनुपातमा स्वास्थ्यकर्मी न्यून छन् । जमुनाहमा स्थापना गरिएको हेल्थ डेस्कमा चारजना स्थायी दरबन्दी र नगरपालिकामार्फत आएका १० जना गरी १४ जनामात्रै जनशक्ति छ ।

यीमध्ये केहीले ज्वरो नाप्ने, कसैले सोधपुछ गर्ने, विवरण संकलन गर्ने र स्वाब संकलन तथा परीक्षण गर्ने गरेका छन् । अहिले कोरोना भाइरसको त्रास कम भएको र ओमिक्रोनको संक्रमण नफैलिएको अवस्थामा सीमित स्रोतसाधनका बीच पनि काम भएको हेल्थ डेस्क जमुनाहका ल्याब इन्चार्ज ज्ञवालीले जनाए । ‘दैनिक सर्वसाधारणको उपस्थितिलाई हेर्ने हो भने जनशक्ति कम छ,’ उनी भन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ९ गते शुक्रबार