नेपाली सुरक्षा अधिकारीहरुले लागूऔषध नियन्त्रण र अपराध गरेर भारतमा लुकेका अभियुक्तलाई नियन्त्रण गर्न सहयोग गरिदिन भारतीय अधिकारीलाई आग्रह गरेका छन् ।
बाँकेको नेपालगन्जमा बुधबार भएको नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सुरक्षा अधिकारीहरुले भारतीय अधिकारीसमक्ष यस्तो आग्रह गरेका हुन् ।
बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरुले सीमामा हुने सबैखाले अपराध नियन्त्रण गर्न समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतमा सहजरुपमा लागूऔषधको कारोबार हुँदा नेपालमा सहजै भित्रिएको बताउँदै त्यसमा कडाइ गरिदिन भारतीय अधिकारीहरुसँग आग्रह गरिएको जानकारी दिए ।
‘लागूऔषध, खुल्ला सिमानाका कारण हुनसक्ने अपराधलगायतका विषयमा बैठकमा छलफल भयो,’ प्रजिअ खत्रीले भने, ‘अपराध नियन्त्रणमा दुवै देशका अधिकारीहरुबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइएको छ ।’
हात हतियार, मानव बेचबिखन, फरार अभियुक्त नियन्त्रण, लागूऔषध रोकथाम, चोरी शिकारी, तस्करी नियन्त्रण, आवागमन सहज बनाउने विषयमा समेत बैठकमा छलफल भएको उनले बताए । भारतीय सुरक्षा अधिकारीहरुले भने उत्तर प्रदेशमा उपनिर्वाचन हुन थालेकोले नेपालतर्फबाट हुनसक्ने घुसपैठ नियन्त्रणमा सहयोग गरिदिन नेपाली अधिकारीहरुसँग आग्रह गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेको आथित्यतामा भएको बैठकमा नेपाल–भारत सीमा क्षेत्रका उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । भारतका सात जिल्ला र नेपालका आठ जिल्लाका सुरक्षा अधिकारीहरुले सहभागिता जनाएका थिए ।
भारतका तर्फबाट गोरखपुर क्षेत्रका अतिरिक्त महानिरीक्षक अखिल कुमार, देवीपाटन क्षेत्रका डिआइजी उपेन्द्रकुमार अग्रवाल, महाराजगन्ज जिल्लाका डीएम शैलेन्द्रकुमार र एसपी प्रदीप गुप्ता, सिद्धार्थनगर जिल्लाका डीएम दीपक मिना र एसपी एसभिर सिंह, बलरामपुर जिल्लाका डीएम श्रृती र एसपी हेमन्त कुटियाल, श्रावस्ती जिल्लाका डीएम नेहा प्रकाश र एसपी अरविन्द कुमार मौर्य, बहराइच जिल्लाका डीएम दिनेशचन्द्र र एसपी सुजता सिंह, लखिमपुर जिल्लाका डीएम महेन्द्रबहादुर सिंह र एसपी सञ्जिवकुमार सिंह, पिलिभित जिल्लाका डीएम पुलकित खरी र एसपी दिनेशकुमारलगायतको सहभागिता रहेको थियो ।
नेपालतर्फबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराइका भारतसँग सीमा जोडिएका जिल्लाहरु बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सहभागी थिए ।










प्रतिक्रिया दिनुहोस्