कोहलपुर ।
बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको लगानी योग्य रकम (तरलता) अभाव समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैंकले चालेको पछिल्लो कदमपछि सेयर बजारमा उत्साह देखिएको छ ।
अर्थ मन्त्रालयले सोमबार स्थानीय तहमा गएको बजेटको ८० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको थियो । सोमबार नै राष्ट्र बैंकले पनि केही वस्तुहरुको आयातमा कडाइ गर्दै नगद मार्जिन राख्नै पर्ने व्यवस्था गरिदिएको थियो ।
यी दुवै व्यवस्थाले बैंकमा देखिएको तरलता समस्या केही हदसम्म समाधान हुन्छ । यसको असर मंगलबारको सेयर बजारमा देखिएको थियो । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५६ दशमलव ७३ अंकले बढेर २ हजार ४ सय १५ दशमलव ५५ अंकमा पुगेको छ ।
यस अघि केही दिन यता लगातार जसो सेयर बजार घटिरहेको थियो । मंगलबार ४९ लाख ७४ हजार २ सय ५३ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रुपैयाँ पुगेको छ ।
मंगलबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेपनि सोमबार धेरै बढ्ने सूचीमा रहेको गुहेश्वरी फाइनान्सको सेयर मूल्य घटेको छ । अन्य केही कम्पनीहरुको सेयर मूल्य घटे पनि अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा समूहगत उपसूचकहरु सबै बढेका थिए ।









प्रतिक्रिया दिनुहोस्