कोहलपुर सहर : उजाड नगर, सुस्त नगर



शुभाकर विश्वकर्मा
कोहलपुर, ३ पुस
बाँकेस्थित कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले निर्वाचित भएलगत्तै ‘गुट्खामुक्त नगर’ बनाउने उद्घोष गरे । कार्यकालको पहिलो बैठकले मै उनले उक्त निर्णय गरेका थिए । तर साढे चार वर्ष बितिसक्दासमेत उनको यो निर्णय कार्यान्वयन आउन सकेन । उनको सुरु निर्णयनै, ‘पहिलो गासमै ढुंगा भनेझै भयो ।’ ‘गुट्खामुक्त नगर घोषणा कार्यान्वयन गर्न किन नसकेको ?,’ मिसन टुडे दैनिकको प्रश्नमा उनले भनेका थिए, ‘पहिलो बैठकमै तीन निर्णयमध्ये यो पनि एक थियो । पहिला त जनप्रतिनिधिलाई बुझाउनै गाह्रो भयो, पछि यहाँका सर्वसाधारणलाई । हर कोसिस गर्दासमेत सफल हुन पाएनँ ।’


यसै सन्दर्भमा उनले मानिसहरुमा फोहोर गर्ने बानी नै बसिसकेको बताउने गरेका छन् । अरुको राम्रो काममा साथ नदिने र सबै काम नगरपालिकाको मात्रै हो भन्ने प्रवृत्ति मुख्य कारक रहेको उनको दुःखेसो छ । कोहलपुर नगरपालिकाले अहिले व्यवस्थापन गर्न नसकेको अर्को महŒवपूर्ण काम हो, ‘फोहोर व्यवस्थापन ।’ अहिलेसम्म अस्थायीरुपमा फोहोर व्यवस्थापन हुँदै आए पनि दीर्घकालीन समाधान अझै हुन सकेको छैन । जटायु नामक एक संस्थाले फोहोर उठाउने काम गरिरहेको छ । कोहलपुरमा दैनिक १० देखि १२ टन फोहोर उत्सर्जन हुने गरेको छ । फोहोर व्यवस्थापनको जिम्मा जटायुलाई दिएको भन्दै कोहलपुर नगरपालिकाले दीर्घकालीन व्यवस्थापनका लागि प्रयास जारी गरेको बताउँदै आएको छ । यस विषयमा कोहलपुर नगरपालिका प्रमुख रावत अस्थायीरुपमा फोहोर व्यवस्थापन भने भइरहेको स्वीकार गर्दछन् । आफ्नै कार्यकालमा कोहलपुरमा फोहोर व्यवस्थापनको सम्पूर्ण प्रक्रिया पूरा हुने उनको दाबी छ । सोहीअनुसार अहिले फोहोर व्यवस्थापन मात्रै होइन दिसाजन्य फोहोर व्यवस्थापन र यसबाट आम्दानी गर्ने उद्देश्यसहित मेघा परियोजनाको प्रक्रिया अघि बढाइएको छ ।


यतिमात्रै होइन, फोहोर व्यवस्थापनका धेरै काम गर्नमा नगरपालिका असफल देखिएको छ । जिल्लाको दोस्रो ठूलो सहर भए पनि मुख्य सडक क्षेत्रमै उचित फोहोर व्यवस्थापन हुन सकेको छैन । सहायक सडक तथा भित्री सडकमा जथाभावीरुपमा फोहोर फालिरहेको देखिन्छ । सडक तथा पेटीहरुमा व्यवसाय गर्नेहरुका कारण फोहोर भइरहेको छ । लामो समयदेखि ठेला व्यवस्थापनको प्रयास गरे पनि अफल हुन सकेको छैन । छाडा पशु चौपायका कारण नगर फोहोर व्यवस्थापनमा चुनौती मात्रै थपिएको छैन, कोहलपुर नगरपालिका कुरुप बन्दै गएको छ । यहाँका विभिन्न स्थानमा जथाभावीरुपमा कुहिने र नकुहिने वस्तु फालेको देखिन्छ । चुरोट, गुट्खालगायतका खोष्टासमेत अव्यवस्थितरुपमा फालेको देख्न सकिन्छ ।

चालू आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम मै दीर्घकालीन तथा प्रभावकारी फोहोर मैला व्यवस्थापन गरिने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइ नीति शीर्षकमा टोल विकास तथा सामुदायिक संस्था परिचालन गरेर घरगाउँ सरसफाइ र फोहोर मैला व्यवस्थापन गरिने उल्लेख गरिएको छ । सावर्जनिक निजी साझेदारी ‘पीपीपी’ अवधारणामा जटायु रिसाइकल प्रालिमार्फत गरिएको फोहोरमैला प्रशोधन र व्यवस्थापनलाई प्रभावकारी बनाइने छ । फोहोर व्यवस्थापनमा थ्री आर विधि (रिसाइकल, रिडयुस र रियुज) नीति अवलम्बन गर्ने भने पनि प्रक्रिया अहिलेसम्म सुरु नै भएको छैन । घर परिवार, टोल सरसफाइ गर्न अभियान थाल्ने नीतिसमेत अलपत्र अवस्थामा छ ।

प्रकाशित मिति : २०७८ पुस ४ गते आइतबार