कोहलपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । शनिबार पार्टीको राप्तीसोनारी गाउँपालिका कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशमा समेत एकल बहुमत ल्याउने दाबी गरेका हुन् । दशौँ महावेशनबाट महासचिव बनेपछि पहिलोपटक गृह जिल्लाको कार्यक्रमको लागि उनी बिहान नेपालगन्ज पुगेका थिए ।

उक्त अवसरमा उनले राप्तीसोनारी गाउँपालिकामा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै भर्खरै सम्पन्न महाधिवेशन, केन्द्रीय कमिटीका निर्णय तथा आगामी निर्वाचनका सन्दर्भमा समेत कार्यकर्ताहरुलाई ब्रिफिङ गरेको नेकपा एमाले राप्तीसोनारी कमिटीले जनाएको छ ।‘ हाम्रो पार्टीमा नयाँ उत्साह छ । अन्य पार्टीबाट समेत प्रवेश गर्ने क्रममा बढेको छ । जिल्लामा आगामी निर्वाचनको तयारीमा सक्रिय हुुनुहोस ।’ पोखरेलको भनाई उद्धत गर्दै राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य तथा बाँके इन्चार्ज खेमराज शर्माले भने । महासचिव पोखरेलका अनुसार आसन्न स्थानीय तहको चुनाव र प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी रहेको छ ।
लुम्बिनी प्रदेशमा समेत एमालेलाई पहिलो पार्टी बनाउन जनताको माझमा गएर आफ्ना एजेण्डाबारे बुझाउन उनले निर्देशन दिएका थिए । उक्त अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज सुर्य ढकालले देशमा नेकपा एमालेको विचार र सिद्धान्तमा जनताको लहर चलेको बताए ।
उनका अनुसार देश विकास र समृद्धिको नारा सहित एमाले आगामी निर्वाचनमा जानेछ । कुनै पनि हालतमा बहुमत ल्याउनेगरी नेता कार्यकर्ता अघि बढ्नुपर्ने उनको जोड रहेको थियो । यस्तै नेकपा एमाले बाँकेको अध्यक्ष निरक गुरुङले संगठन सुदृढिकरणको अभियान सुरु भएको बताए । देश र जनताकाके पक्षमा एमाले भन्ने नाराका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ ।
नेकपा एमाले राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्ष मनोज केसीको अध्यक्षतामा सम्पन्न तेस्रो पूर्ण बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले टोल कमिटी अरु पुस २० गते भित्र गठन गरिसक्न, जनवर्गीय संगठनको अधिवेशन,पार्टी प्रवेश अभियानलाई तीव्र बनाउने लगायतका निर्णय गरेको उनले बताए । पार्टी विभाजनपछि दशौ महाधिवेशन सम्पन्न गरेको नेकपाले अहिले जिल्ला तथा पालिका स्तरमा गतिविधि तीव्र बनाइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्