कोहलपुरकी नर्स श्रेष्ठको जुम्लामा मृत्यु



जुम्ला : सिटिजन बैंक शाखा जुम्लाको बाथरुममा नुहाउँदा लडेकी नर्सको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११की २६ वर्षीया अनुपमा श्रेष्ठको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। उनी बिहीबार दिउँसो सिटिजन बैंकको बाथरुममा नुहाउन गएकी थिइन्।

नुहाउन गएकी उनी बाथरुममै बेहोस भएको भन्दै सिटिजन बैंकका कर्मचारीले कर्णाली स्वास्थ्य विज्ञानमा उपचारका लागि लगेका थिए। बाथरुममै बेहोस भएकी श्रेष्ठलाई आइसियूमा राखिएको थियो। २४ घण्टा आइसियूमा उपचारपछि पनि उनको होस नआएपछि प्रतिष्ठानले शुक्रबार साँझ उनको मृत्युको घोषणा गरेको हो ।

श्रेष्ठका आमाबुबाले छोरीको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीमा जाहेरी दिने भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले प्रहरीले कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान अगाडि बढाउने बताउनुभयो । यता सिटिजन बैंकका म्यानेजर महेश शाहीले मृतक नर्स साथीको बहिनी भएकाले आफ्नो बैंकमा नुवाउन आएको बताउनुभयो ।

प्रकाशित मिति : २०७८ पुस ३ गते शनिबार