छात्रा बलात्कार गर्ने शिक्षकलाई कारबाही गर्न अनेरास्ववियुको माग



कोहलपुर : नेपालगन्जमा आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षकलाई कारबाही गर्न अनेरास्ववियु बाँकेले माग गरेको छ । नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियुले आरोपित शिक्षकलाई प्रभावकारी अनुसन्धान गरी कारबाही गर्न माग गरेको हो ।

जिल्ला अध्यक्ष दिनेश केसी र सचिव प्रकाश विकद्धारा जारी विज्ञप्तिमा मंसिर २३ गते नेपालगन्जमा रहेको स्प्रिङडेल नामक विद्यालयका संस्थापक, प्रिन्सिपल हिक्मत रावल विरुद्ध बलात्कारको उजुरी परेको भन्दै सत्यतथ्य छानविनको माग गरिएको हो ।

यस्तै आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि शिक्षकबाटै पटक पटक बलात्कार भएको घटना प्रति अनेरास्ववियुले भत्र्सना समेत गरेको छ । पीडितलाई न्याय दिन सरोकारवालासँग माग गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

बलात्कार जस्तो गम्भीर घटनाका आरोपितलाई बचाउन खोजिए अनेरास्ववियुले कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार