शिक्षक सेवा आयोगले खुलातर्फको अनलाइन आवेदन खोल्ने तयारी गरेको छ । आयोगले तयार गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन मंसिरभित्र अनलाइन आवेदन दिन मिल्ने गरी खोल्ने तयारी भइरहेको आयोगले जनाएको हो ।
आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले अनलाइन आवेदनको लागि तयार गरिएको सफ्टवेयर परीक्षण भइरहेको जानकारी दिए । अध्यक्ष रेग्मीले भने, ‘हामी अनलाइन आवेदनको लागि तयारी गरेको सफ्टवेयरको परीक्षण गरिरहेका छौं । कार्यतालिकाभित्रै रहेर विज्ञापन खोल्छौं ।’
आधुनिक प्रविधिको प्रयोगसँगै सबैका लागि सहज बनाउने उद्देश्यले अनलाइन विज्ञापन खोल्ने तयारी गरेको अध्यक्ष रेग्मीको भनाइ छ ।
आयोगको कार्यतालिकाअनुसार खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुनमा, विषयगत परीक्षा आगामी जेठमा हुनेछ ।
सामान्य परीक्षाको नतिजा २०७९ वैशाखमा र विषयगत परीक्षाको नतिजा २०७९ साउनमा प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । त्यसपछि भदौमा अन्तर्वार्ता गरी असोजमा शिक्षक सिफारिस गर्ने आयोगले बताएको छ ।
प्राथमिक तहका शिक्षकको सिफारिस भने कात्तिकमा हुनेछ । यसअनुसार आगामी शैक्षिक वर्षको मध्यमा नयाँ शिक्षकहरु कक्षाकोठामा पुग्ने छन् । सात लाख जनाभन्दा बढीले शिक्षण अध्यापन अनुमतिपत्र लिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार सात सय १२ जनाले, निम्न माध्यमिक तहमा तीन लाख ७० हजार १२ जनाले र माध्यमिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँचजनाले लाइसेन्स लिएका छन् ।
आयोगले खुलातर्फ माध्यमिक तहमा एक हजार ४२ दरबन्दी, निम्न माध्यमिक तहमा एक हजार नौ सय १३ दरबन्दी र प्राथमिक तहमा नौ हजार ६ सय एक रिक्त दरबन्दीमा विज्ञापन खुलाउने तयारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्