प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवाले दोस्रो चरणको प्रतिस्पर्धामा सघाएकोमा प्रकाशमान सिंह र सुजाता कोइरालाप्रति आभार व्यक्त गरेका छन् ।
दोस्रो चरणमा हुने मतदानमा प्रकाशमान र सुजाताले देउवालाई सघाउने निर्णय गरेका थिए ।
प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उनीहरूसँगै उभिएर देउवाले पार्टीमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘प्रकाशमानजी र सुजाता लगायत सबै साथीहरूले जुन सदासयता देखाउनु भयो । प्रकाशमानजी र हामी पहिलाकै साथी हौं । मिलेर जान्छौं,’ हँसिलो चेहरामा देखिएका देउवाले भने ।
देउवाले कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गरेको समयमा प्रकाशमान सिंह सँगै थिए । देउवालाई सघाउने निर्णय गरेका सिंहले कार्यकर्ताको स्वीकार्यता देखिएको समर्थन गर्ने निर्णयमा पुगेको बताए ।
‘सुजाता र विश्वजी अनि हामी बसेर छलफल गर्यौं । नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर महाधिवेशनमा भाग लिएका हौं,’ नेता सिंहले भने, ‘देशभरका अधिकांश महाधिवेशन प्रतिनिधिको देउवाजीलाई स्वीकार्यता देखिएको कारणले गर्दा उहाँलाई समर्थन गर्ने निर्णय गर्यौं ।’
प्रकाशमानलाई भेटेर देउवा विमलेन्द्र निधिको निवासमा पुगेका छन् । कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्