सभापतिमा देउवालाई प्रकाशमानको समर्थन



काठमाडौँ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा सभापति पदमा शेरबहादुर देउवालाई प्रकाशमान सिंहले समर्थन गरेका छन ।

निर्वाचनमा पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री देउवा सिंहलाई भेट्न बिहान उनको निवास पुगेका थिए । भेटघाटमा देउवालाई समर्थन गर्ने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन् ।
सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था रहेकोे छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार