‘गणतन्त्र’ मधेस आन्दोलनको उपलब्धि होः यादव



नेपालगन्ज ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहका कारण नेपालमा गणतन्त्र, समावेशीकरण, संघीयता आएको बताएका छन् । बाँकेको नेपालगन्जमा आइतबार बृहत् अगुवा कार्यकर्ता भेला एवम् अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मधेस विद्रोह भएकै कारण नेपालमा गणतन्त्र आएको अध्यक्ष यादवले दाबी गरे । ‘मधेस जनविद्रोहले गर्दा नेपालमा गणतन्त्र, समावेशीकरण र संघीयता आएको हो,’ उनले भने, ‘त्यसमा माओवादी आन्दोलनले केही सहयोग गरेको हो ।’ नेपालमा भएका आन्दोलनहरुले सत्ता परिवर्तन गरे पनि मधेस विद्रोहले शासन प्रणाली नै परिवर्तन गरेको पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले दाबी गरे ।

‘नेपालमा विभिन्न समयमा जनआन्दोलन भए । ती सबै आन्दोलनले सत्ता परिवर्तन गरे,’ उनी भन्छन्, ‘मधेस जनविद्रोहले मात्रै शासन प्रणाली परिवर्तन गरेको छ ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम नलिएर अझै पनि केही नेताले संघीयता र गणतन्त्र स्वीकार नगरेको उनले टिप्पणी गरेका थिए ।

‘दुईपटक संसद् विघटन गरियो । त्यो पनि यी सबै उपलब्धि मास्ने षड्यन्त्र थियो,’ अध्यक्ष यादवले भने, ‘हामी त्यसको सशक्त विरोध उत्रियौं र बचायौं ।’

 

प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार