नेपालगन्जका सुन व्यापारीको परिवारकै हत्या घटनाः प्रमाण नपुग्ने भन्दै आरोपी भारतीयलाई सफाइ



बाँके जिल्ला अदालतका न्यायाधीश पूर्ण प्रस्ताव बास्तोलाले आफ्नो फैसलामा घटनाको समयमा किशोरीलाल सोनी भारतस्थित घरमै पूजा गरेर बसिरहेको भारतीय नागरिकको बयानलाई प्रमाणका रूपमा लिए पनि घटनाको

अघिल्लो दिन भारतको बहराइच जिल्लामा पर्ने रुपैडिहास्थित नेपालगन्जरोडको होटल मुस्कानमा बसेको लगबुकलाई भने प्रमाणका रूपमा लिन अस्वीकार गरेका छन् ।

नेपालगन्ज ।

सुन व्यापारी दीपक हेमकरको परिवारकै हत्या गरेको आरोप लागेका अभियुक्तलाई अदालतले सफाइ दिएको छ । १६ वर्षअघि नेपालगन्जका सुन व्यापारी दिपकको परिवारका पाँच सदस्यको हत्या भएको थियो ।

पाँच जनाका हत्या आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई बाँके जिल्ला अदालतले सफाइ दिएको हो । बाँके जिल्ला अदालतका न्यायाधीश पूर्ण प्रस्ताव बास्तोलाको इजलासले हत्याका अभियुक्त भारतीय नागरिक सोनीलाई सफाइ दिने फैसला गरेको थियो । आरोपित सोनीलाई प्रमाण नपुग्ने र शङ्काको सुविधा पाउने भन्दै अदालतले सफाइ दिएको हो ।

गएको कात्तिक ७ गते भएको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै प्रमाणीकरण भएको थियो । फैसलाको पूर्णपाठ अनुसार जिल्ला न्यायाधीश बास्तोलाले शङ्काको भरमा जाहेरी आएको र त्यसलाई पुष्टि गर्ने प्रमाण अभियोजकले पेस गर्न नसकेको भन्दै शङ्का रहे पनि शङ्काको सुविधा अभियुक्तले पाउने भन्दै सफाइ दिएका छन् । उनले आफ्नो फैसलामा घटनाको समयमा किशोरीलाल सोनी भारतस्थित घरमै पूजा गरेर बसिरहेको भारतीय नागरिकको बयानलाई प्रमाणका रूपमा लिएका छन् ।

तर घटनाको अघिल्लो दिन भारतको बहराइच जिल्लामा पर्ने रुपैडिहास्थित नेपालगन्जरोडको होटल मुस्कानमा आरोपित सोनाी बसेको लगबुकलाई भने प्रमाणका रूपमा लिन अस्वीकार गरेको फैसलाको पूर्णपाठमा देखिन्छ ।

नेपाल सरकारले बाँके जिल्ला अदालतमा पेश गरेको होटल मुस्कानको लगबुकमा घटनाको अघिल्लो दिन किशोरीलाल सोनी केएल सोनीको नाममा र हत्यामा संलग्न रहेका अन्य व्यक्तिहरू बास बसेको देखिन्छ । लगबुकमा सोनीसँगै भारत लखनउकै जलाल खान, अली हुसेन कसाई र फिरोज अन्सारी नाम गरेका व्यक्तिहरू पनि उक्त होटलमा बास बसेको पाइएको थियो ।

तर जिल्ला न्यायाधीशले उक्त प्रमाणलाई प्रमाणका रूपमा लिन अस्वीकार गरेका छन् तर प्रतिवदाीकै साक्षीले उक्त दिन रातभर घरमै पूजा लगाएर बसेको बयानलाई भने प्रतिवादीको बयानसँग मिलेको कारण पुष्टि भएको फैसलामा उल्लेख गरेका छन् । मृतक दीपक हेमकरका काका बलराम हेमकरले दीपक हेमकरकै ससुरा भारतीय नागरिक किशोरीलाल सोनी र दीपककै श्रीमती दीपा सोनी हेमकरले सम्पत्ति हडप्ने उद्देश्यका साथ परिवारकै हत्या गराएको जाहेरी दिएका थिए ।

सोही जाहेरीको आधारमा नेपाल सरकार वादी भएर मुद्दा दायर भएको थियो । घटनाका अर्का प्रतिवादी दीपककी श्रीमती दीपा सोनी भने न नेपाल प्रहरीले पक्राउ गरी नेपाल ल्याउन सक्यो, न त उनी अदालतमा नै उपस्थित भइन् । उनी अदालतमा उपस्थित नै नभएपछि उनको मुद्दा भने मुल्तबीमा राख्न पठाइएको थियो ।

प्रकाशित मिति : २०७८ मंसिर २६ गते आइतबार