नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज (शनिबार) हुँदैछ ।
सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको आज मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम छ ।
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।
प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुने छ ।
विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुने छन् ।
प्रदेशमा नम्बर १ मा २५९, २ नम्बर प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।
माओवादीले यसअघि यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्