नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
महाधिवेशनमा विभिन्न दलका प्रमुख, विदेशीबाट आमन्त्रित विभिन्न पार्टीका पदाधिकारीहरुको उपस्थिति थियो । महाधिवेशन सत्र उद्घाटन हुनुअघि विभिन्न समुदायिका सांस्कृतिक झाँक्रीसमेत प्रस्तुत गरिएको थियो ।
महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित एक सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने अन्य ३५ जना खुला केन्द्रीय सदस्य मनोनित हुनेछन् । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔं नेपालीको कांग्रेसको १४औँ महाधिवेशन’ मूल नाराका साथ सुरु हुने महाधिवेशनमा करिब चार हजार ६ सय प्रतिनिधि सहभागी छन् ।
उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार तथा रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान गरिने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१, दलित नौ, आदिवासी-जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्