बबई सिँचाइले पानी आजदेखि छाड्ने



बर्दिया ।

बबई सिँचाइ आयोजनाले आज ९शुक्रबार० बाट नहरमा पानी छाड्ने भएको छ । आयोजनाले पूर्वी नहर क्षेत्रमा पानी छोड्न लागेको हो ।
आयोजनाको पूर्व क्षेत्र जल उपभोक्ता समितिको बैदीमा भवन शिलन्यास गरेर पानी छाड्ने आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले जानकारी दिए ।

‘बबई सिँचाइ आयोजना पूर्व क्षेत्र जल उपभोक्ता समितिले पानी खोल्ने निर्णय नगरेकाले पानी खोल्न ढिलाइ भएको थियो,’ उनले भने, ‘समितिले निर्णय गरेसँगै नहरमा पानी छोड्न लागिएको हो ।’

२०४५-४६ सालबाट निर्माण सुरु भएको यो आयोजना ३३ वर्ष पुग्दा पनि ५२ प्रतिशतमा मात्रै काम सम्पन्न भएको छ । बर्दियाका ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्यका साथ सुरु भएको आयोजना लामो समय बितिसक्दा पनि सोचेजस्तो उपलब्धि हासिल भने हुन सकेको छैन ।

आयोजनाले यसवर्ष ढिलो गरी नहरमा पानी छोड्दा हिउँदे बाली लगाएका किसानहरु मारमा परेका छन् । नहरमा पानी नहुँदा गहुँ, तोरी, आलुलगायतका तरकारीहरु सुक्न थालिसकेको किसानहरु बताउँछन् ।

गहँु तोरी, आलु र तरकारीमा समयमा पानी दिन नसक्दा उत्पादन राम्रो नहुने बताइन्छ । दुई महिना पुग्नै लाग्दा पनि खेतमा पानी नपर्दा अहिले खेती एकदमै सुख्खा भइसकेको बढैयातालका किसान रोगाही थारुले जानकारी दिए । ‘अहिले किसानहरुको आलु र तोरीमा दाना लाग्ने समय हो, भने गहुँमा पहिलोपटक पानी दिने समय हो ।

तर पानी नआएर मोटरबाट तरकारीमा मात्रै सिँचाइ गर्न भ्याएको छैन,’ उनले भने, ‘नहरको पानीको पर्खाइमा गहुँ र तोरीमा समयमा पानी लगाउन सकिएन ।’ बालीहरुले समयमै पानी नपाउँदा उत्पादन राम्रो नहुने किसानहरुको गूनासो रहेको छ । अहिले किसानहरुले पायक पर्ने ठाउँको कुलो, खोलानाला, तालतलैयाबाट गहुँ, तोरी तथा तरकारीमा सिँचाइ गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार