बाँकेस्थित खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारले आफ्नै महिला कर्मचारीलाई गरेको यौन दुव्र्यवहारको घटना गुपचुपमै मिलापत्र भएको छ ।
महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेका खराल र सुनारलाई कारबाही गर्नुपर्ने माग राख्दै केही युवाहरुले गरेको हातपातको विषय र यौन दुव्र्यवहारको विषयमा दुवै पक्षले माफी दिने सहमति भएपछि उक्त विषय मिलापत्रमै टुंगिएको हो ।
खजुरा गाउँपालिकाका कर्मचारीहरु वनभोजका लागि कैलालीस्थित टीकापुरमा गएकाबेला शुक्रबार राति ति महिला कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।
त्यसपश्चात केही युवाहरुले यौन दुव्यर्वहार गर्ने प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारलाई कारबाहीको माग गर्दै कार्यालय घेराउसँगै उनीहरु माथि हातपात गरेका थिए । उक्त हातपातपछि यौन दुव्र्यवहारको आरोप लागेका खराल र सुनारले अदालतसम्म पुग्ने धम्की दिएका थिए ।
पीडित भनिएकी ती महिला कर्मचारीलाई पनि दबाबमा पारेर लिखित जाहेरीसमेत दिनबाट रोकी धम्कीपूर्ण ढंगले मिलापत्र भएको स्रोतले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारमाथि हातपात भएपछि खजुरा गाउँपालिकाका कर्मचारीले बिहीबार कार्यालयको कामकाजसमेत प्रभावित पारेका थिए । आफूहरुमाथि लागेको आरोपलाई कानुनीरुपमा नजाने गरी मिलापत्र भएको यौन दुव्र्यवहारको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।
‘हामीमाथि आरोप मात्र लगाइएको थियो,’ उनले भने, ‘आरोप लगाउने पक्ष र हामीबीच मिलापत्र भएको छ ।’ तर आफूहरुलाई कार्यालय हाताभित्रै हातपात भएको विषयमा कानुनी प्रक्रियामा जाने प्रक्रिया सुरु भएको उनले बताए । ‘हामी अगाडि बढिरहेका छौं,’ उनले भने, ‘हामीलाई लगाइएको आरोपमा मात्र सहमति भएको हो ।’
उनले यसो बताइरहे पनि दुवै पक्षबीच कानुनीरुपमा नजाने गरी सहमति भएको गाउँपालिका स्रोतले जनाएको छ । पीडक भनिएका व्यक्तिहरुले माफी मागेपछि यो विषय टुंगिएको खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले बताइन् । ‘हामीले पीडित भनिएकीसँग कुरा बुझ्यौं र सुन्यौं,’ उनले भनिन्, ‘अन्याय भएको जस्तो हामीलाई लाग्यो । हामीले उजुरी दिन पनि भनेका हौं ।
तर कसैको करकापमा नभइ दुवै पक्षबीच सहमति भएको छ ।’ अबदेखि यस्ता गल्ती नदोहो¥याउने सर्तमा पीडक भनिएकाले माफी मागेको उनले बताइन् । ‘घटना के–के भयो हामी प्रत्यक्षदर्शी होइन,’ उनले भनिन् । यता प्रहरीले भने लिखित उजुरी नआएकाले पीडक भनिएकाहरुलाई थुनामुक्त गरेको जनाएको छ ।
‘गाउँपालिकाभन्दा बाहिरको विषय’
महिला कर्मचारीलाई गाउँपालिकाकै उच्च तहका कर्मचारीले यौन दुव्र्यवहार गरेको विषयलाई गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले गैरजिम्मेवारी पूर्ण प्रतिक्रिया दिएकी छिन् । गाउँपालिकाकै उच्च तहका कर्मचारीलाई यौन दुव्र्यवहारको आरोप लाग्दासमेत उनले यो विषय गाउँपालिकाको सरोकारको विषय नभएको प्रतिक्रिया दिएकी छिन् ।
यो विषय गाउँपालिकाभन्दा बाहिर पीडित र पीडक भनिएकाहरुको निजी भएको उनको भनाइ छ । ‘घटना गाउँपालिकामा भएको होइन्,’ उनले मिसन टुडेसँग भनिन्, ‘त्यसैले यो उहाँको निजी कुरा हो । गाउँपालिकासँग ठोकिँदैन ।’ उनको यो भनाइले यस्ता घटनालाई प्रश्रय दिएको कतिपयको भनाइ छ ।
आउँदा दिनमा यस्ता घटना दोहरिन नदिन गाउँपालिकाले आन्तरिक अनुसन्धान गरी दोषीलाई कारबाही गरेको भए गाउँपालिकामा यस्ता घटना पुनः दोहोरिन नपाउने महिला अधिकारकर्मीहरुको भनाइ रहेको छ ।
लिखित जाहेरी आएनः प्रहरी
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले यौन दुव्र्यवहार गरेको भन्दै मौखिम उजुरी दिने महिला कर्मचारीले लिखित जाहेरी नदिँदा प्रहरी कानुनी प्रक्रियाबाट अगाडि बढ्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।
‘मौखिक उजुरी आएपछि हामीले पक्राउ गरेकै थियौं,’ उनले भने, ‘पीडित भनिएकीले जाहेरी दिनु भएन । बाध्य भएर २४ घण्टापछि पीडक भनिएकालाई थुनामुक्त गरेको उनको भनाइ छ ।
‘लागू औषधलगायतका केही विषयमा प्रहरी प्रतिवेदनले काम गर्छ,’ उनी भन्छन्, ‘तर महिलामाथि हुने अभद्र व्यवहारमा प्रहरी प्रतिवेदनले मात्र काम गर्दैन । पीडित महिलाले नै जाहेरी दिनुपर्छ ।’ बलात्कारनै नभएको भन्दै उनले भने, ‘यौन दुव्र्यवहार रहेछ । के–के भयो भएन उहाँ (पीडित भनिएकी महिला) लाई थाहा होला ।’
घटनाप्रति तीन दलको ध्यानाकर्षण
खजुरा गाउँपालिकामा भएको घटनाका विषयलाई लिएर आफ्नो गम्भीर ध्यानाकर्षण भएको बाँकेका तीन राजनीतिक दलले जनाएका छन् । बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाप्रति चासो व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेस खजुरा गाउँपालिकाका सभापति रमेश सिँजापति, नेकपा माओवादी केन्द्रका गाउँपालिका सचिव धनराम ओली र नेकपा (एकीकृत समाजवादी) का गाउँपालिका अध्यक्ष जीतबहादुर खत्रीले संयुक्त विज्ञप्ति निकाल्दै घटनालाई गम्भीरताका साथ लिनुपर्ने बताएका हुन् । गाउँपालिकाका कर्मचारीमाथि हातपात हुनु र महिला कर्मचारीलाई यौन दुव्र्यवहार भएको विषयलाई छानबिन प्रक्रिया अगाडि बढाइ दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।
यस विषयलाई गम्भीरतापूर्वक नलिइएमा राजनैतिक दलहरुका तर्फबाट आवश्यक कदम चालिने र उक्त कदमबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितको जिम्मेवार स्वयम् स्थानीय प्रशासन हुने तीन राजनीतिक दलले चेतावनी दिएका छन् ।
यता गाउँपालिकाले उक्त विषय भने गाउँपालिकाका सरोकारको विषय नभएकाले यस विषयमा छानबिन नहुने धारणा व्यक्त गरेको छ ।










प्रतिक्रिया दिनुहोस्