नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश सम्मेलन नजिकिँदै छ । उक्त सम्मेलन प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मंसिर २५ र २६ हुनेछ । प्रदेश सम्मेलन नजिकिएसँगै नेताहरुमा व्यस्तता बढ्दो छ ।
यो सम्मेलनले नेतृत्वय परिवर्तन गर्ने हुँदा पनि नेताहरुले कसरत बढाएका छन् । लुम्बिनीलाई माओवादीले आफ्नो प्रभाव क्षेत्र मान्छ । यस प्रभाव क्षेत्रको नेतृत्व गर्ने आकांक्षी नेताहरुको संख्या पनि धेरै छ ।
प्रदेश अध्यक्षका लागि प्रदेश सांसद दीपेन्द्र पुन, प्रदेश सांसद दामा शर्मा, राष्ट्रियसभा सदस्य तथा हालका पार्टीको प्रदेश कमिटी सदस्य जगप्रसाद शर्मा र पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय आकांक्षी देखिएका छन् ।
उनीहरुले आन्तरिक दौडधुप गरे पनि आफूलाई घोषणा भने गरिसकेका छैनन् । नेताहरु वर्षमान पुन र ओनसरी घर्तीले रोल्पाका दीपेन्द्र पुनलाई प्रदेश नेतृत्वमा ल्याउन रुचाएका छन् भने अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले दामा शर्मालाई प्रदेशको नेतृत्वमा ल्याउन पहल सुरु गरेका छन् ।
प्रदेश नेतृत्वका लागि केन्द्रमा प्रभाव राख्ने नेताहरुको छुट्टाछुट्ट आकांक्षा देखिएपछि मध्यमार्गीरुपमा कपिलवस्तुका डोरप्रसाद उपाध्यायलाई नेतृत्वमा पठाउन सक्नेगरी छलफल भइरहेको स्रोतले जनाएको छ ।
माओवादीको लुम्बिनी प्रदेश कमिटी दुई सय पाँच सदस्यीय हुनेछ । लुम्बिनीबाट नेता कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, कूलप्रसाद केसी, चन्द्रप्रकाश खनाल, बामदेव घिमिरे, सुदर्शन बराललगायतका प्रभावशाली नेताहरुले केन्द्रमा प्रभाव जमाएका छन् ।
बहुपदीय प्रदेश कमिटीमा एकजना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् । माओवादीले उपमहानगरबाट अनिवार्य तीनजना र नगर तथा गाउँपालिकाबाट दुई–दुईजना प्रतिनिधि सम्मेलनमा सहभागी गराउँदै छ । अरु प्रतिनिधि सदस्य संख्याको आधारमा तय गरिएको छ ।
लुम्बिनी प्रदेशमा माओवादीको कूल पार्टी सदस्य संख्या एक लाख १२ हजार रहेको र सबैभन्दा धेरै दाङमा १९ हजार सातसय छन् ।
प्रतिक्रिया दिनुहोस्